काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताएका छन् ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताए ।
उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले एसईईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए ।
उनले थपे, ‘निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसईईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’
आफू पहिला प्रधानमन्त्री हुँदा ३९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारीरूपमा काम हुन नसकेको बताए ।

Leave a Reply