काठमाडौं । नेकपा एसको दोस्रो केन्द्रीय कमिटीको बैठकले फागुनको तेस्रो सातादेखि आन्दोलनका कार्यक्रमसहित जनताको बीचमा पुग्ने निर्णय गरेको छ ।
बैठक फागुन ९ र १० गते ललितपुरस्थित प्रशासनिक प्रशिक्षण केन्द्रमा सम्पन्न भयो । तर, आधिकारिकरूपमा निर्णय भने सार्वजनिक भएको छैन ।
महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत आन्दोलनको कार्ययोजना पारित भएपछि उक्त कार्यायोजनाको कार्यान्वयन फागुन तेस्रो साता सुरू गरिने भएको बैठकमा सहभागी एक नेताले बताए ।
‘समाजवादका निम्ति आन्दोलन’ भन्ने नाराका साथ सुरू हुने आन्दोलनको कार्यक्रममा सबै जनसंगठन र पार्टी पंक्तिलाई परिचालित गर्ने निर्णय पनि पारित भएको उनले बताए ।
योसहित अन्य निर्णय सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन संसोधनसहित पारित भएको छ । सम्मानित नेता झलनाथ खनालले पेश गरेको असहमतिउपर तीन दिनभित्र सचिवालय बैठक राखी आवश्यक निर्णय लिने शर्तमा खनालले नेपालको प्रस्ताव पारित गर्न सहयोग गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
खनालले अनेरास्ववियू र युवा संघका अध्यक्षहरुलाई अपानीमार्फत पदमुक्त गर्ने प्रकृयाको विरोध गर्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका थिए । यसबारे तीन दिनभित्र बस्ने सचिवालय बैठकको एजेण्डा बनाइने सहमति भएको हो ।
बैठकमा खनालले आफूद्वारा प्रस्तुत गरिएका सुझावलाई फरक मत वा असहमतिका रूपमा नलिन आग्रह गर्दै पार्टीलाई विधिसंगत सञ्चालन गर्नका लागि राखेका आफ्ना निजी धारणा भएको बैठकमा बताए ।
उनले त्यस्तो धारणा राखेपछि अध्यक्ष नेपालले उनका सुझावलाई तीन दिनभित्र राखिने बचनवद्धता व्यक्त गर्दै आफ्नो प्रतिवेदन पारित गर्नका लागि आग्रह गरेका थिए ।
उक्त सचिवालय बैठकले खनालको सुझाबसहित अन्य केही प्राविधिक विषय पनि निम्ट्याउने भएको छ ।
बैठकले सरकारद्वारा ल्याइएका अध्यादेशका प्रकृया र विषयवस्तु गलत रहेको भन्दै ती अध्यादेशलाई राष्ट्रियसभाबाट पारित गर्न सहयोग नगर्ने निर्णय गरेको छ ।
निर्णय सार्वजनिकमा किन ढिलाई ?
बैठक सकिएको दोस्रो दिनमात्र निर्णय सार्वजनिक हुने भएको छ । प्रचार विभाग उपप्रमुख अर्यालका अनुसार पारित निर्णय र प्रस्तावलाई व्यवस्थितरूपमा लेखन गर्ने कामका लागि दुई दिनको समय लिइएको हो ।
केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बैठकस्थलमै सचिवालयको संक्षिप्त बैठक बसेको थियो । सहभागी एक नेताका अनुसार अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीमा टेबुल नभएका एजेन्डा पनि पारित भएको भनी सार्वजनिक गराउन चाहेका थिए । सम्मानित नेता खनाल, महासचिव भुसालसहितका नेताको प्रतिकारपछि त्यस्तो हुन पाएन । भएका निर्णय पनि सार्वजनिक गरिएन ।
ती नेताले बताएअनुसार बैठकबाट पारित निर्णय र बैठकमा पेश गरी पारित भएका प्रस्तावलाई सार्वजनिक गर्नबाट संगठन विभागका प्रमुख बेदुराम भुसालले रोकेका हुन् । पारित भएका निर्णय महासचिव भुसाल र प्रस्ताव विभाग प्रमुख भुसालसँग छ ।
‘उहाँहरूसँग भएका चिज करेक्सन गर्नुपर्छ भन्दै उहाँहरूले नै लैजानु भयो’, पार्टी कार्यालय स्रोतले बतायो ।

Leave a Reply