काठमाडौं । कवि शकुन आँसुको कविता सङ्ग्रह ‘नवयुगकी सुम्निमा’ विमोचन भएको छ । राष्ट्रिय नाचघर जमलमा सम्पन्न एक कार्यक्रमबीच कविहरू श्रवण मुकारुङ, डा. केशव सिलवाल र विमला तुम्खेवा, कविको जीवनसाथी चित्र बहादुर बाहिङहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।
कृतिउपर बोल्दै कवि एवम् पूर्व प्राज्ञ श्रवण मुकारुङ राम्रो कविता पढ्न कठिन भइरहेको अवस्थामा कवि शकुन आँसुको कृति आएको र आफ्नो भोक प्यास मेटिएको प्रतिक्रिया दिए । उनले भने, ‘अभिव्यक्तिको उपल्लो तहमा पुगेर कविले सिर्जना पस्किनुभएको छ । शकुन आँसुको कविताको शक्ति नै यही हो ।’
डा. सिलवालले सांस्कृतिक पहिचानसँगै आधुनिक सङ्घर्षका कथाहरू पनि कवि आँसुको कवितामा प्रकट भएको धारणा राखे ।
त्यस्तै, कवि एवम् पत्रकार तुम्खेवाले शकुन आँसु विचार र चेतना परिपक्व भएको बताइन् । उनले आफ्नो विगत सम्झँदै भनिन्, ‘शकुन आँसुको उमेरमा हामीसँग यस्तो चेतना थिएन । उहाँका कवितामा मैले धेरै माथिल्लो स्तरको चेतना पाएँ ।’
पुर्ख्यौली घर खोटाङ भएको कवि शकुन आँसु दक्षिण कोरियामा एक दशक रहँदा र नेपाल हुँदा सिर्जना गरेको ४२ कविता कृतिभित्र छन् । जसमा ‘समय यात्रा’ खण्डमा २७ र ‘सिली सिलसिला’ खण्डमा १५ कविताहरू रहेका छन् ।
सम्भव समूहका संस्थापक सदस्य एवम् कवि उत्तम तुम्सा लिम्बुले सञ्चालन गरेको विमोचन कार्यक्रममा सर्जक एवम् सञ्चारकर्मीहरू चन्द्रवीर तुम्बापो, हेमन यात्री, प्रगति राई, बीना थिङ, उमेश अकिञ्चन, अमरदीप सुनुवार, अमित थेबे, नवीन प्यासी राई, सुनिता राई कन्दङ्वा, सीता तुम्खेवा, सुरज राना, मिथोच, लगायतको उपस्थिति रहेको थियोे ।
‘नवयुगकी सुम्निमा’ भित्रबाट युग सर्वनामले ‘स्ट्रे’, स्वप्निल निरवले ‘ऊ गएको साँझ’, सुशीला निनामले ‘रेम्माखिम्’, कृष्ण कञ्चनले ‘फर्की आउनेलाई’ कविता वाचन गरेका थिए ।

Leave a Reply