नेकपा एसको बैठकमा किसान श्रेष्ठसहित ४० जना अनुपस्थित, नआउनुको कारण सोधिने

काठमाडौं । नेकपा एसको शुक्रबारदेखि सुरू भएको दोस्रो केन्द्रीय कमिटी बैठकको पहिलो दिन केन्द्रीय सदस्य तथा सांसद किसान श्रेष्ठसहित ४० जना अनुपस्थित छन् ।

पदाधिकारीमध्ये नेता प्रमेश हमाल र सचिव सावित्रा भुसाल पनि अनुपस्थित छन् । तर, उनीहरू ब्राजिलमा आयोजित एक कार्यक्रममा पार्टीको प्रतिनिधित्व गर्दै पुगेका छन् । अनुपस्थित हुने सदस्यहरूले अनुपस्थितिको कारण खुलाएका छैनन् ।

नेकपा एसका एक केन्द्रीय नेताले बताएअनुसार अनुपस्थित हुने केन्द्रीय सदस्यहरूलाई अनुपस्थितिको कारण सोधिने भएको छ । ती केन्द्रीय सदस्यको नामावली महासचिव घनश्याम भुसालले संकलन गरेर आफूसँगै राखेको ती नेताले बताए ।

नेकपा एसको विभिन्न केन्द्रीय आयोगसहित ३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

केही समयदेखि पार्टीको नियमित गतिविधिमा नदेखिएका सांसद किसान श्रेष्ठलाई नेपाल प्रेसले फोन सम्पर्क गर्दा उनी बाराको सिमरास्थित घरमै थिए ।

‘कुम्भ मेला गएको थिएँ, थाकेर आएको छु, आराम गर्दैछु’, उनले भने ।

भारतको प्रयागराजमा आयोजित १२ वर्षे कुम्भ मेलामा आफू परिवारसहित गएको कारण पार्टी केन्द्रीय कमिटीको बैठकमा सहभागी नभएको उनले बताए ।

उनको कार्यक्षेत्र रहेको बारा जिल्लाबाट काठमाडौंको दूरी हवाई मार्गबाट २० मिनेट र स्थलमार्गबाट पाँच घण्टाको मात्रै छ ।

‘चाहँदा त बैठकमा जान सक्नुहुन्थ्यो नि !’ भन्ने जिज्ञासामा उनले भने, ‘ज्यान थाक्यो ।’

श्रेष्ठले नेकपा एसको गत असारमा सम्पन्न महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा दाबी गरेका थिए । महाधिवेशनको हलमा घोषणा गरिएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम त थियो । तर, पहिलो केन्द्रीय कमिटीको बैठकले पदपूर्ति गरेका केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी निर्वाचन गराइँदा उनी त्यसमा पनि सहभागी भएनन् ।

दोहोरिएका केन्द्रीय सदस्यले कम्तीमा पोलिटब्युरो सदस्यमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो । श्रेष्ठ बैठक चलेको समयमा देशबाहिर भएका कारण वारेसनामाबाट पोलिटब्युरो सदस्यको उम्मेदवार थिए । तर, हारे ।

सरकारले अध्यादेशमार्फत नेकपा एसको विभाजनलाई सहज बनाएपछि श्रेष्ठसहितका केही सांसद बाहिरिने तयारीमा भएको चर्चा छ । उनले त्यसबारे केही भन्न चाहेनन् ।

‘अरु कुरा पछि गरौंला, अहिले कुम्भ मेलाबाट गएर फर्किएका कारण बैठकमा जान भ्याइनँ ।’

नेतृत्वसँग असन्तुष्ट रहेका अर्का सांसद प्रेम आले भने अहिले पार्टीमा जिम्मेवारीविहीन छन् । उनले आफू नेकपा एससँग सम्वद्ध नरहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । तर, पार्टीले कुनै कारवाही  गरेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *