जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले केही दिनयता जनकपुरधामका अवैध नीजी अस्पतालको अनुगमनलाई तीव्र पारेका छन् ।
आइतबार पनि थप चार अस्पताल (जनक मेमोरियल, जनकपुर गोदावरी हस्पिटल, जनकपुर मोडल, कृष्णा हस्पिटल) बन्द रहेको पाइयो । दर्ता नगरी चलाइएका ती अस्पताल आफैँ बन्द गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार साँझ मुख्यमन्त्री सिंह अनुगमनको क्रममा जनकपुर मोडल हस्पिटल पुगे । तर, हस्पिटलमा बाहिरबाटै ताला लागेको थियो । भित्र बत्ती बलिरहँदा बिरामीलाई भित्रै थुनेर अनुगमन छल्न बाहिरबाट ताला लगाएको उनलाई शंका लाग्यो ।
मुख्यमन्त्री सिंहले स्थानीसँग सोधपुछ गर्न थाले । एकजनाले गार्डले हस्पिटलमा ताला लगाएर गएको सुनाए । त्यसपछि वीरेन्द्र नामका ती गार्डको नम्बर खोजेर फोन गरे । मुख्यमन्त्रीले आफू एम्बुलेन्स चालक भएको भन्दै बिरामी लिएर आएको बताए ।
फोनमा हस्पिटलका गार्डले अक्मकाउँदै सोधे- तपाईँ को ? मुख्यमन्त्रीले आफू ३११२ नम्बरको एम्बुलेन्स ड्राइभर सरोज भएको बताए । मुख्यमन्त्रीले राम्रो पार्टी (बिरामी) लिएर आएको भनेपछि गार्डले जवाफ फर्काए- अहिले अनुगमन भइरहेको छ । म बिरामी राख्न सक्दिनँ । गोदावरीमा लग्नुस् ।
मुख्यमन्त्री सिंहले गोदावरीले कति दिन्छ ? भनेर कमिशनबारे सोध्छन् । गार्डले भन्छन्- कुरा गरेपछि… ।
जनकपुरधाममा अवैध रूपमा संचालित अस्पताल बिरामी ल्याउने एम्बुलेन्स चालकलाई समेत कमिसन दिन्छन् ।
मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर अस्पतालका गार्डसँग कुरा गरेको भिडिओ ‘सीएम सतिश सिंह’ फेसबुक पेजमा राखेका छन् ।
उनको भिडिओ शेयर गर्दै नेपाली कांग्रेस मधेसका पूर्वसांसद नरेश यादवले लेखेका छन्, ‘यस्तो कामको लागि धेरै धेरै धन्यवाद । तपाईँ जस्तो मुख्यमन्त्री मात्रै होइन्, प्रधानमन्त्री भए देश भ्रटाचार मुक्त हुने थियो । यो कामको लागि जोरदार स्यालूट ! जय हो मुख्यमन्त्री मा. सतिश सिंह जी… ।’
मुख्यमन्त्री सिंह र स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले अहिलेसम्म तीन दर्जन बढी हस्पिटलको अनुगमन गरेका छन् । जसमध्ये मापदण्डविपरीतका ५ अस्पताल बन्द गराइसकिएको छ ।

Leave a Reply