रुपन्देही । उज्यालो बुटवल बनाउने हुटहुटीमा बजारमा करोडौँको हाइमाष्ट लाइट जडान थालिएको छ । गतवर्ष २३ स्थान सकेर यो वर्ष ३१ स्थानमा यस्ता लाइट जडान थालिएको हो ।
बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त शहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढाइएको जनाइएको छ ।
बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्ने योजनाअनुसार पर्यटन क्षेत्रको समेत ध्यानमा राखेर यो योजना अघि बढाइएको यहाँका जनप्रतिनिधिको भनाइ छ ।
पछिल्लो पटक बुटवलका थप ३१ स्थानमा हाइमस्ट लाइट जडान हुने भएको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाइमस्ट लाइट जडान गरेको बुटवल उपमहानगरले थप ३१ स्थानमा हाइमस्ट लाइट जडान गर्न लागेको हो ।
हाइमस्ट जडान बुटवल उपमहानगरपालिकाको एक करोड ३० लाख र संघीय सरकारबाट समपूरक अनुदानबाट प्राप्त ३ करोड ५१ लाख गरी करिब साढे चार करोड रकमबाट जडान गर्न थालिएको हो। यो दोस्रो चरणको कार्यक्रम हो । हाइमाष्ट लाइट जडानको ठेक्का जेठ मसान्तभित्रमा सक्ने गरी त्रिसन्धा सेफ स्टील्स काठमाडौंले ४ करोड ४३ लाखमा लिएको छ।
बुधवार बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाईमास्ट लाइटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले संयुक्त रूपमा शिलान्यास गरेका छन् । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा सहरका रूपमा स्थापित गर्नका लागि काम भइरहेको बताए ।
बुटवललाई उज्यालो शहर बनाउनका लागि थप हाइमास्ट लाइट जडान गर्न लागिएको बताए । ‘बुटवल उज्यालो शहरको रूपमा बढाउन थप ३१ स्थानमा जडान गरिएको हो । अझै १७ स्थानमा जडान गर्ने लक्ष्य छ,’–उनले भने ।
यस्तै प्रमुख पाण्डेले बुटवलमा १२५ स्थानमा सिसिटिभी जडान गरिएको बताए । उनले योगिकुटी, राजमार्ग चौराह, अस्पताललाइन र गोलपार्कमा गरी ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया केही दिन भित्रैमा सुरु हुने बताए । बुटवलका विभिन्न स्थानमा सार्वजनिक शौचालय, प्रतीक्षालय र व्यवस्थित सडकको निर्माण गरिने बताए ।
यो वर्ष योगिकुटी चोकदेखि चौराहसम्म ४, मिलनचोक १, पश्चिमाञ्चल फाइनान्सअघि १, अस्पतालअघि १, दुर्गा मन्दिर अघि १, ट्राफिक चोक १, सब्जिमण्डीअघि १, नबिल बैंकअघि १, बुटवल क्याम्पसअघि १, मैनाबगर १, तल्लो सिद्धबाबा १, वीपीचोक १, मोतीपुर १, मुख्य बजार क्षेत्र कालिकापथ मन्दिरअघि १, इटाभट्टी १, शिवालय मन्दिरअघि १, अमरपथ १, ट्राफिकचोक १, राममन्दिर चोधक १, नविल बैंक अघि १, नलकुपअघि १, स्थानान्तण ५ गरी ३१ स्थानमा राखिने छ ।
गतवर्ष बुटवल उपमहानगरपालिकाले ६५ औँ स्थापना दिवसको अवसरमा नगरका २३ वटा चोकमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने योजना अनुरूप जडान गरेको थियो । नयाँ बसपार्क र बसपार्क नजिकै मुख्य सडकमा त्यो समयमा हाइमास्ट लाइट निर्माण गरिएको थियो ।
पहिलो चरणमा टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको थियो । बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका छन् । जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा भने १६ मिटरका १२ वटा लाइट जडान भएका छन्।
त्यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन्। यस्तैगरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान हुने पूर्वसम्झौता रहेको थियो । शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार गतवर्षको योजना पूरा भएर फेज टुको योजनाअनुसार थप योजना अघि बढेको हो
गतवर्ष जोडेका लाइट बल्न छाडे
बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरूलाई रातीमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका जडान गरिएको लाइटहरूमध्ये नयाँ बसपार्क अगाडिको बल्न छाडेको पाइएको छ । गतवर्ष मेयर खेलराज पाण्डेले उद्घाटन गरेको लाइट बल्न छाडेको हो ।
उज्यालो बुटवल अभियान अन्तर्गत बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको ६ महिनामै लाइट बल्न छाडेको पाइएको हो ।
लाइट नबल्दा चौराहदेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक विस्तार अन्तर्गत सर्भिस लेन खनेर खाडल बनाइएकाले रात्रिकालीन सवारीहरु सोही खाडलमा पर्नसक्ने उच्च जोखिम बढेको स्थानीय नवराज श्रेष्ठले बताए ।
उनले भने–‘यो भन्दा अगाडि पनि यही लाइट बल्न छाडेको थियो, मर्मत गरेपछि बलेको थियो । फेरी बल्न छाडेको छ ।’
बुटवलको योगीकुटी, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआई चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्क लगायत २३ वटा ठाउँमा १० मिटर, १२ दशमलव ५ मिटर र १६ मिटरका लाइट जडान गरिएको थियो ।

Leave a Reply