विराटनगर । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकार बिच आज पनि वार्ता हुँदै छ । हिजो अबेर रातीसम्म भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज ११ बजेबाट पुन वार्ता गर्ने सहमति भएको छ ।
पाथीभरा क्षेत्रमा केवल कार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न सङ्घीय सरकारले हिजो गृह मन्त्रालयका सह सचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
वार्ता टोलीले आन्दोलनरत पक्षलाई औपचारिक वार्ताकालागि आव्हान गरेसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङ्गको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
हिजो भएको बर्तामा सरकारले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई छाड्ने बताएको थियो । सरकारी वार्ता टोलीले पक्राउ परेकालाई छाड्दा आन्दोलनका कार्यक्रम समेत फिर्ता लिनु पर्ने शर्त राखेको थियो ।
आन्दोलनरत पक्षलेले भने पाथीभरा क्षेत्रमा केवल कार निर्माणको काम नरोकेसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने अडान राखेको बर्ता सहजीकरण समितिका संयोजक अमर तुम्याहाङ्गले बताए । उनले पक्राउ परेकाहरुको रिहाइ हुँदैमा आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताए ।
सरकारी वार्ता टोलीका संयोजक प्रेम भट्टराईले केही कुरा नमिलेकाले आज हुने वार्ता पछि सहमति हुने विश्वास व्यक्त गरे ।
पाथीभरा क्षेत्रमा केलकार निर्माण भएको विरोधमा माघ १५ गते देखि मेची राजमार्ग र तमोर कोरिडोरमा यातायातका साधन चल्न सकेका छैनन् ।
तीन दिन यता भने अरुण पूर्वका नौ जिल्लामा समेत यातायात बन्दको आव्हान गरिएको छ । आज पनि यातायात बन्दको कार्यक्रम यथावत् रहेको आन्दोलनरत पक्षले जनाएको छ ।

Leave a Reply