काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् (बार काउन्सिल) निर्वाचनमा सबैभन्दा धेरै मतदाता रहेको बागमती प्रदेश पार्षद आफ्नो पक्षमा पार्न वामपन्थी र कांग्रेसनिकट वकिलहरुको दौडधूप चलेको छ । नेपाल बारको निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको निर्वाचनमा सबैले शक्ति केन्द्रित गरेका हुन् ।
बार काउन्सिलमा सात प्रदेशबाट एक-एक जना पार्षद निर्वाचित हुने व्यवस्था छ । माघ २६ गते हुने निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता रविनारायण खनालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
एमालेनिकट पीपीएलएबाट उम्मेदवार बनेका खनाललाई माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्यनिकट क्रान्तिकारी र जसपानिकट वकिलका संगठनले समेत समर्थन जनाएका छन् । वरिष्ठ अधिवक्ता खनालले आफूलाई प्रगतिशील, समावेशी, देशभक्त र स्वतन्त्र कानून व्यवसायीहरुको सहयोग रहेको बताए ।
वरिष्ठ अधिवक्ता खनालले कानून व्यवसायी परिषदलाई थप शसक्त र गतिशील बनाउँदै नवप्रवेशी र पुराना कानून व्यवसायीहरूको पेशागत सशक्तिकरणमा विशेष काम गर्ने बताएका छन् । उनले कानून शिक्षालाई थप प्रभावकारी बनाउन छुट्टै कानूनी विश्वविद्यालय र आधुनिक पाठ्यक्रमसमेतको विकास गर्न नेपाल बार काउन्सिलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यसपटक बागमती प्रदेशबाट मात्रै ८ हजार ८ सय १८ मतदाता रहेका छन् । कानून व्यवसायी परिषद्ले कानून व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानून व्यवसायीहरूको अनुगमनदेखि उनीहरूको क्षमता विस्तारसम्म काम गर्दछ ।
महान्यायाधिवक्ताको अध्यक्षतामा रहने कानून व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसिएसनको निर्वाचित अध्यक्ष हुन्छन् । सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छ ।
यसअघि बागमती प्रदेशको पार्षद्को रूपमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए । यसपटक एमालेनिकट गठबन्धनबाट वरिष्ठ अधिवक्ता खनाल र कांग्रेस र नेकपा एसको गठबन्धनबाट पर्शुराम कोइराला प्रतिस्पर्धामा छन् ।
वरिष्ठ अधिवक्ता रविनारायण खनाल तनहुँ जिल्ला बार एसोसिएसनको अध्यक्ष हुँदै नियमित ३५ वर्ष पेशामा रहेको उनको प्रचार प्रसार समितिले जनाएको छ । संवैधानिक कानून व्यवसायी फोरमको अध्यक्षसमेत रहिसकेका खनाल ल २०७८ सालमा सर्वोच्च बार एसोसिएसनको अध्यक्ष पदको उम्मेदवार थिए ।

Leave a Reply