संसदीय समितिमा सोविता गौतमले भनिन्- आशिका तामाङप्रति राज्यले गलत रवैया देखायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले ‘अभियन्ता’ आशिका तामाङलाई गलत नियतवस प्रहरीले हिरासतमा राखिरहेको भन्दै आपत्ति जनाएकी छन् । उनले आज संसदीय समितिमा बोल्दै सबै नागरिकहरुलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज गौतमले आशिकाको प्रसंग निकालेकी हुन् । राज्यले आशिकालाई कसै गरे पनि छोड्नुहुँदैन भन्ने नियत राखेको आरोप उनले लगाइन् ।

गौतमले भनिन्, ‘विगतमा बहालबाला मन्त्रीज्यूले आईजीपीको जिभ्रो थुत्नुपर्छ भन्दा त्यो अभद्र व्यवहार भएन, उहाँलाई प्रहरीले सलाम गरेर हिँड्नुपर्छ । आशिका तामाङले प्रहरीलाई हु आर यू भनेर प्रश्न गर्दा अभद्र भयो ? कानूनको बराबर प्रयोग यही हो ?’

अभद्र व्यवहारका नाममा पक्रिएर आतंकित पार्न खोजिएको उनले बताइन् ।

‘एउटा ठाउँबाट अभद्र व्यवहारमा पक्रियो । आतंकित बनायो । ८-१० दिन थुनामा राखिसकेपछि धरौटीमा छुटेपछि फेरि अर्को आरोपमा समाइयो । यो मान्छेलाई कसैगरी पनि छोड्नुहुँदैन भन्ने प्रवृत्त धारणा राज्यले राखेको देखियो । तीन महिना अगाडि गरेको कामलाई लिएर अहिले धरौटीमा छुटेपछि समाइएको छ । अढाई-तीन वर्षको दूधेबच्चा भएकी एउटी आमाको संवेदनशील अवस्थालाई ध्यान नदिइकन हत्कडी लगाएर राख्ने ?’, गौतमले प्रश्न गरिन् ।

उनले थपिन्, ‘प्रहरीले आवश्यक पर्दा एक्सेसिभ फोर्स प्रयोग गर्न पाउँछ, तर त्यसको विवेकशीलता हुँदैन ? नागरिकले यहाँ गलत भयो भनेर उठान गरिरहेको छ, त्यो म्यानेज गर्न सक्दैन, जनतालाई सन्तुष्ट गराउन सक्दैन, अनि पब्लिकको आक्रोश पोखिएपछि धेरै बोल्छस् भनेर पक्रेर लैजाने प्रवृत्ति ठीक भएन । यो सह्य छैन । प्राकृतिक न्याय र संविधानमा लेखिएका मौलिक हकको विरुद्धमा छ ।’

Comments

2 responses to “संसदीय समितिमा सोविता गौतमले भनिन्- आशिका तामाङप्रति राज्यले गलत रवैया देखायो”

  1. ksp pyl Avatar
    ksp pyl

    रास्वपाका साँसद पनि पपुलर के गरेर हुन सकिन्छ भनेर त्यतै लाग्न थालेछन् । आशिका तामाङ्गले सुधारको नाममा जे हरकत गरिरहेकी छन् त्यसरी राज्य चल्छ ? माननीय त वकिल पनि हो क्यार ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    नेपालमा प्रहरीलाइ संबिधानमा नागरिकको अधिकार के के छ भनेर प्रशिक्षण दिइनुपर्छ । प्रहरीले नागरिक को ब्यक्तिगत अधिकार को सम्मान गर्नुपर्छ। आशिका तामांगलाइ ८-१० दिन थुन्नु राज्य को ज्यादती हो। नागरिकलाइ सामान्य विश्वास पनि गर्दैन यो प्रहरी, Defund the police 👮!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *