पत्रकार महासंघ लुम्बिनीले एक करोडको पत्रकार हितकोष स्थापना गर्ने

रुपन्देही । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो बैठकले पत्रकार हितका लागि एक करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रदेश समितिको बैठकले पत्रकार हितका लागि १ करोड रुपैयाँको कोष बनाउने निर्णय गरेको अध्यक्ष शुक्रऋषि चौलागाईंले बताए । कोष अभिवृद्धिका लागि तीनै तहका सरकार, विभिन्न दाता, शुभेच्छुक र पत्रकार साधारण सदस्यहरूसँग अपिल गर्ने निर्णय गरिएको छ । महासंघलाई रणनीतिक, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्दै दीर्घकालीन उद्देश्य प्राप्त गर्न अध्यक्ष चौलागाईंलाई वार्षिक कार्ययोजना ल्याउने जिम्मेवारी दिइएको छ ।

बैठकले लुम्बिनी प्रदेशस्तरीय सञ्चार प्रशिक्षण केन्द्र स्थापना गर्ने र प्रशिक्षण केन्द्र स्थापनाका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग बजेटका लागि पहल गर्ने निर्णय गरिएको महासचिव पाण्डवप्रसाद शर्माले जनाए ।

उनका अनुसार समितिको निर्णय प्रक्रियालाई छरितो र प्रभावकारी बनाउनका लागि पदाधिकारी रहने गरी सचिवालय गठन गर्ने, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत गठित प्रदेश सञ्चार समन्वय परिषद्लाई क्रियाशील बनाउन पहल थाल्न सम्बद्ध मन्त्रालयलाई जोडदार माग गर्ने, यसबारे आवश्यक कानुन संशोधन गर्न सरोकारवाला पक्षसँग समन्वय गर्ने, प्रदेश र स्थानीय तहलाई सञ्चारमैत्री कानून र कार्यक्रम ल्याउन आग्रह गर्ने निर्णय गरिएको छ ।

बैठकले महासंघको कामलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामप्रसाद आचार्यको संयोजकत्वमा कार्यक्रम तथा प्रकाशन विभाग, उपाध्यक्ष मिना ढकालको संयोजकत्वमा महिला विभाग र महासचिव पाण्डवप्रसाद शर्माको संयोजकत्वमा संगठन विभाग गठन गर्ने, नयाँ वर्ष २०८२ को क्यालेन्डर प्रकाशनका लागि सचिव गोविन्दप्रसाद शर्माको संयोजकत्वमा कोषाध्यक्ष प्रेमनारायण आचार्य, सदस्यहरू तेजेन्द्र केसी, प्यार अलि खाँन र सीता पाण्डेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकमा निवर्तमान अध्यक्ष तथा सल्लाहकार वसन्त गिरीले संस्थागत विकास र सबै पत्रकारहरूको अपनत्व हुनेगरी कार्यक्रम अघि बढाउन आग्रह गरेका थिए । सल्लाहकार रुद्र सुवेदीले महासंघले अब संस्थागत विकाससँगै पत्रकारको क्षमता विकासका लागि योजना बनाएर अघि जानुपर्ने र त्यसमा आफू सहकार्यका लागि तयार रहेको बताएका थिए ।

आइतबार नै प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा सबै टीम पुगेर प्रदेश सरकारले यो क्षेत्रमा गरेका काम र आगामी वर्षका योजनाका विषयमा छलफल गरेको थियो । मन्त्रालयका सचिव रेखा कंडेलले कर्मचारी अभावमा मिडिया क्षेत्रमा रहेका कामलाई अघि बढाउन नसकिएको र केही कानुन संशोधन र सञ्चार समन्वय परिषदका विषयमा छलफल गर्नुपर्ने काम अघि बढाइने बताइन् ।

उनले सञ्चारसँग सम्बन्धित सबै काम महासंघसँगको समन्वयमा अघि बढाउने प्रतिवद्धता जनाइन् । कार्यक्रममा महासंघका अध्यक्ष शुक्रऋषि चौलागाई, निवर्तमान अध्यक्ष वसन्त गिरी, सल्लाहकार रुद्र सुवेदी, उपाध्यक्ष रामप्रसाद आचार्यले मन्त्रालयले तत्काल गर्नुपर्ने काम र योजनाका बारेमा सुझाव राखेको सचिव पाण्डव शर्माले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *