वर्षमानलाई लिएर तेह्रथुम जाँदै प्रचण्ड, आज र भोलि ओलीको जन्मथलो आठराईमा बिताउने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् ।

प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त पनि तेह्रथुम जाँदैछन् ।

प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् ।

प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक रूपमा मारिएका थिए ।

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणका क्रममा घाइते भएका निःशस्त्र लडाकुहरू उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो ।

प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन ।

उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मङ्गलवार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्नेछन् ।

दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभा हलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।

प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यमिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए । नियुक्ति पत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।

Comments

2 responses to “वर्षमानलाई लिएर तेह्रथुम जाँदै प्रचण्ड, आज र भोलि ओलीको जन्मथलो आठराईमा बिताउने”

  1. ksp pyl Avatar
    ksp pyl

    सहिद पार्क गएर पश्चाताप गर प्रचण्ड । शालिक अघि उभिएर रूँदै भन, हे शहिदहरू मैले म, मेरा आफन्तहरू र मेरा भरौटेहरूको सुख सयलको लागि तिमीहरूलाई मृत्युको डिलमा पुर्याएँ । मेरो ईच्छाले त्यो काम गरेको हैन । दक्षिणको आदेश पालना गरेको हुँ । मैलै सोझा तिमीहरूलाई मार्न लगाएँ । त्यसैले मलाई माफ गर भनेर पश्चाताप गर्नु । यस्ता ज्यानमाराहरूको पछि कोही पनि नलागौं । गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता भनेर यसले जे भट्याए पनि गरिव झन गरिव र धनी झन धनी हुँदै गैरहेका छन् । पहिचानवादी नामका विदेशीका दलालहरू प्रचण्डलाई चाहिँ किन रोक्दैनौ ? किनकी तिमीहरूका मालिक एउटै हुन् । कोशी प्रदेश बनाउन प्रचण्डको दलले चाहिँ सही गरेको होईन ? तिमीहरू नोकर हौ ओलिको मात्र विरोध गर्ने । सबैभन्दा पहिचानवादी , वास्तविक पहिचानवादी र सबैलाई समन्वय गर्ने नेता र पार्टी नै एमाले हो । कुरा बुझ दलालहरू ।

  2. ksp pyl Avatar
    ksp pyl

    अनि किन वर्षामानलाई लिएर गए भन्दा अब प्रचण्डलाई अध्यक्ष पदबाट अपदस्थ गर्ने हैसियतमा जनार्दन शर्मा पुगेछन् भन्ने कुरा विद्यार्थी नेताहरूको चुनावले प्रमाणित नै गर्यो । प्रचण्डका उम्मेद्वार हार्ने र पार्टी नै जनार्दनले कब्जा गर्ने देखेपछि प्रचण्ड ग्याङ्गले मतगणना नै स्थगित गरायो । अब वर्षामान पुनलाई च्यापेर ललिपप देखाउने अनि अध्यक्ष पद जोगाउने खेलमा प्रचण्ड लाग्छन् जुन ४० वर्ष देखि गरेको अध्यक्षमा टिक्ने चालवाजी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *