रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड बराबरको धरौटी बुझाएर रिहा भएपछि आइतबार राति नै पोखरातर्फ लागेका छन् ।
आइतबार अबेर आएको फैसलापछि ठूलो रकम धरौतीका लागि एकछिन समय लागेको थियो । प्रभु बैंकबाट बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएपछि रिहा भएका लामिछाने केही समय आफ्ना नेताकार्यकर्तासँग खुसी साटे । अदालत परिसरबाट उनी मंगलबारदेखि बस्दै आएको होटलमा पुगेर राती साढे ९ बजेपछि पोखरा जाने निर्णयमा पुगेका हुन् ।
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोपमा दर्ता भएको मुद्दाको प्रतिवादमा लामिछाने मंगलबार साँझ रुपन्देही आएर देवकोटाचोकको होटल मेरिगोल्डमा बस्दै आएका थिए । उनको सचिवालयले राती नै पोखरा जान लागेको पुष्टि गरेको छ । राती नै लामिछाने श्रीमति निकिता पौडेलसहित सचिवालयका ११ जनाको टोली लिएर पोखरा लागेका हुन् ।
यसअघि कास्की जिल्ला अदालतले उनलाई धरौटीमा छाडेको र त्यसको विरुद्ध पुनरावेदनमा मुद्दा परेकोले त्यसको तयारी हो वा अरु काम हो खुलाइएको छैन ।

Leave a Reply