‘पारी त्यो डाँडामा’को नयाँ भर्सन आउने

काठमाडौं । २०७१ सालमा ‘लिरिकल’ भिडियो ‘जालमा’ पारी त्यो डाँडा’मा रिलिज भयो । जसै गीत रिलिज भयो गीतले लोकप्रियताका सारा सिमा नाघ्दै लोकप्रियताको कीर्तिमान बनायो । सामाजिक भिडियो सेयरिङ प्लेटफम यूट्यूबसँग विस्तारै अभ्यस्त हुन थालेका नेपाली प्रयोगकर्ताले यसको लोकप्रियतालाई भ्यूजको माध्यमबाट मानक बनाइदिए।

यसरी भाइरल बनेको गीत डेब्यू निर्देशक प्रनव जोशी निर्देशित ‘रेशम फिलिलि’ सिनेमाको थियो । गीतको लोकप्रियताले सिनेमा दर्शका लागि सर्वाधिक प्रतिक्षित बन्यो । सिनेमा २०७२ सालको वैशाख ११ गते रिलिज भयो । सिनेमाले आक्रमक व्यापारको सुरुवात गर्‍यो तर शनिबारको भूकम्पले सिनेमाहलहरु अस्थायी रुपमा बन्द भएपछि सिनेमाले आफ्नो रफ्तारमा दौड पूरा गर्ननै पाएन ।

यही सिनेमा रिलिजको झण्डै दशक पूरा गर्नै लाग्दा सिक्वलबाट फेरि दर्शकमाझ आउँदैछ । सिनेमा फागुन १४ गते रिलिज हुँदैछ ।

रिलिज मिति नजिकिदैं गर्दा सिनेमाले आफ्नो प्रचारका लागि ‘जालमा’ गीतको सिक्वल ल्याउने तयारी गरेको छ, जसको छायाँकन यसै साता सकिएको छ। यसै साता रिलिज हुने यो ‘फेरि जालमा’ गीतको तस्विर निर्माण पक्षले सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्विरमा सिनेमाका मूल कलाकारहरु विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट कडेल फिचर भएका छन् ।
सो तस्विरमा उनीहरुलाई रोमान्टिक मुडमा दुई हात बाँधेर थरीथरीका रंगीन छाताहरुले साजइएको रुखाकृतिको अगाडि बसिरहेको देख्न सकिन्छ ।

यो सिक्वल गीतमा ‘जालमा’को संगीत र गायन टोली एकसाथ फर्किएको छ। गीत कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको हो भने शब्द मानस राजले लेखेका हुन् । यस्तै गायनमा काली र सोमिया बराईली रहेका छन् । यस्तै गीतको भिडियालाई प्रदिप लामाले कोरियोग्राफी गरेका छन् ।

सार्वजनिक भएपछि यो गीतले पहिलेको गीतले झैं लोकप्रियता बटुल्ने अनुमान निर्माण पक्षले गरेको छ । सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाका लेखक तथा निर्देशक निरोज महर्जन हुन् ।

रौनक विक्रम कडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।

सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *