आफैं सरकारी गाडी चढिरहेका पूर्वमुख्यमन्त्री ‘सुविधा’ को विरोधमा उत्रिएपछि…

विराटनगर । कोशी प्रदेश सरकारले कोशीका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने निर्णयको चर्को आलोचना गरेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले आफूले भने सरकारी गाडी नै प्रयोग गरिरहेको पाइएको छ ।

मुख्यमन्त्रीबाट हटेसँगै सामाजिक सञ्जालमार्फत सरकारी गाडी सुविधा नलिने घोषणा गरेका राई अहिलेसम्म सरकारी गाडीमै चढेर सुविधा दिने निर्णयको विरोधमा उत्रिएको भन्दै टिप्पणी भएको छ ।

नेकपा एस संसदीय दलको नेतासमेत रहेका उनले सोमबारको बैठकमा थापालाई गाडी सुविधा दिएको विषयमा आलोचना गरेका थिए । तर, उनी अहिले पनि प्रदेश १-०४-००१ झ ००५३ नम्बरको स्कारपिओ चढिरहेका छन् । कोशी प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा दिने कुनै पनि कानून छैन । उनी तत्कालीन केदार कार्कीकै पालाबाट सो गाडी चढेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । राईले तेल सुविधा भने लिएका छैनन् ।

कार्की सरकारले पूर्वमुख्यमन्त्रीहरूलाई राज्य कोषबाट सुविधा दिने गरी प्रदेशसभाका पदाधिकारीको सूचीमा पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी दलका संसदीय दलका नेता र प्रतिपक्षी दलका संसदीय दलका नेता थप गरी २०८० माघ ६ गते अध्यादेश ल्याएका थिए ।

अध्यादेशको विरोध भएपछि असार २० गतेको मन्त्रिपरिषद्ले अध्यादेश खारेज गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुखले असार २६ गते अध्यादेश खारेज गरिदिए ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा पूर्वमुख्यमन्त्री राईले आफू आउनुभन्दा अघिदेखि नै गाडी सुविधा लिइरहेको बताउँछन् । कार्यालयले गाडी फर्काउन ताकेता पनि गरिरहेको छ ।

‘म आउनुभन्दा अघि नै गाडी पठाइएको रहेछ । अहिलेसम्म फिर्ता आएको देखिँदैन । तर, धेरै कुरा मैले पनि बुझेकै छैन । फिर्ताका लागि पहल गर्छौँ,’ शर्माले भने ।

एमाले-कांग्रेसको गठबन्धन सरकार बनेपछि पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई सरकारले सरकारी गाडी र तेल सुविधा दिने निर्णय गरेको थियो । विराटनगर उच्च अदालते हालै (माघ ७) मा उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।

पूर्व मुख्यमन्त्री राईले आफूले सरकारी गाडी चढिरहेको स्वीकार गरे ।

यो सरकारले प्रदेशका एकजना पूर्वमुख्यमन्त्रीलाई मात्रै गाडी सुविधा दिने निर्णय गरेका कारण आफूले विरोध गरेको उनको भनाइ थियो ।

‘सवारी सुविधामा गाडी, चालक र इन्धन पनि पर्छ । मैले गाडीमात्रै लिएको छु । त्यसलाई सुविधा लिएको भनेर भन्न मिल्दैन’, राईले नेपाल प्रेससँग भने ।

Comments

2 responses to “आफैं सरकारी गाडी चढिरहेका पूर्वमुख्यमन्त्री ‘सुविधा’ को विरोधमा उत्रिएपछि…”

  1. ksp pyl Avatar
    ksp pyl

    ए तिमीले लिएको सरकारी गाडी चाहि सुविधा भित्र पर्दैन ? योभन्दा नौटंकी, बेईमान र नकचरो कुरा के होला ? नेकपा एसको नेता न पर्यो ।

  2. म पनि नकच्चरो Avatar
    म पनि नकच्चरो

    माकुनेसंग सति गएका यि मात्र एक असल कार्यकर्ता भनेर केही एमाले रोईलाे गर्थे । यिनि किन यति पतन भए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *