भीम रावलको अभियानलाई समर्थन गरेका ६ जना एमाले नेतालाई अछाममा कारबाही

कैलाली । नेकपा एमालेले निष्कासन गरेका नेता भीम रावलले सुरु गरेको अभियानलाई साथ दिएको भन्दै अछाम एमालेले आफ्ना ६ जना नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य एवं सङ्गठन विभाग प्रमुख प्रकाश बहादुर शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, शङ्कर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई कारबाही गरेको हो ।

उनीहरूलाई नेकपा एमालेको सङ्गठन कमजोर पार्ने कार्यहरू गरेको, पार्टीको कुनैपनी आधिकारिक व्यक्तिलाई जानकारी नदिई विभिन्न सञ्चार माध्यमलाई कार्यकर्ताले पार्टी छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र पार्टीका अध्यक्ष विरुद्ध अलोकतान्त्रिक गतिविधि गरेको आरोप लगाइएको छ ।

जिल्ला कमिटी सचिव भीम रावलले नेकपा एमालेको विधानको धारा ८० को उपधारा १, २, ३,४,५,१२, र १३ विपरीत कार्य गरेको हुँदा पार्टी विधानको धारा ८१ को (१) बमोजिम पार्टी कमिटीको पदीय जिम्मेवारीबाट मुक्त गरिएको बताए । बुधबार पार्टीले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिमा सक्रिय हुने अरू नेताहरूलाई पनि आगामी दिनमा कारबाही गरिने चेतावनी दिइएको छ ।

एमालेले अछाम कमिटीले आज कारबाही गरेका ६ जनासहितका १ हजार ८७ जनाले सोमबार भीम रावलको ‘मातृभूमि जागरण अभियान’ लाई समर्थन गरेको भन्दै हस्ताक्षरसहित सामूहिक वक्तव्य जारी गरेका थिए । एमालेमै रहेर एमालेले निष्कासन गरेको व्यक्तिको समर्थन गरेको भन्दै आज ६ जान माथि पार्टीले कारबाही गरेको हो ।

Comments

One response to “भीम रावलको अभियानलाई समर्थन गरेका ६ जना एमाले नेतालाई अछाममा कारबाही”

  1. ksp pyl Avatar
    ksp pyl

    सही काम । एमालेमा बसेर अराजक तत्वलाई समर्थन गर्ने अराजकहरू एमालेलाई चाहिदैन । घोक्रयाउने नै हो । भिम रावललाई समर्थन गर्नेहरूले आफ्नो राजनीतिक भविष्य बर्वाद पारिरहेका छन् । भिम रावल व्यक्तिगत तुष्टि पूरा गर्न र ओलि अनि एमालेलाई देखाईदिन भन्दै एमालेबाट गएका हुन् । उनलाई न कुनै पार्टी बनाउनु छ न देश । कसैको निर्देशनमा एमाले र ओलिलाई कमजोर बनाउने मात्र उनको उद्देश्य हो । केही दिन उनका गतिविधिहरू एमाले विरोधी र विशेषगरी दिल्लीबाट तनखा बुझिरहेका सञ्चार माध्यमले हाईहाई गरेर छापिदिन्छन् । माओवादी, दुर्गा प्रसाईका कार्यकर्ता र सधैं भिम रावलको चाकडी गरेर एमालेमा कामै नगरे पनि पद पाएका केही एमालेकै कार्यकर्ताले अलिअलि भिड देखाईदिन खोज्छन । त्यसमै भिम रावल रमाएर दुई चारवटा राष्ट्र र देशभक्तिका नक्कली कुरा गर्छन् । अरू केही होईन उनी दोश्रो दुर्गा प्रसाईं हुन् । बरू सुझाव छ तिमी दुर्गा प्रसाईको अभियानमा जोडिए दुवैलाई फाईदा हुन्छ । दुईचारजना विश्नोई भनेर धम्काउनेले पैसा अलिअलि ल्याईहाल्छन् । त्यसैमा रमायो खायो ओलिलाई गाली गर्यो बस्यो । अहिले ओलि भनेपछि युट्युवरले फोहोरी गाली र भारतीय दलाल मिडियाले समाचार बनाईदिईहाल्छन् । अहिले दक्षिणको निर्देशनमा ओलिविरोधी गतिविधि गर्ने र समाचार लेख्नेमा प्रचण्ड माओवादी, समाजवादीमा रहेका केही अराजक नेता, दुर्गा प्रसाईं, प्रभू साह, भिम रावल, ऋषि धमलाहरू छन् । तिनका बोली र तिनले बनाएका समाचारबाट यो कुरा प्रमाणित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *