कांग्रेस नेता शाही सरकारप्रति आक्रोशित, ८ बुँदे सहमति कार्यान्वयनको माग

सुर्खेत । कर्णाली प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आठ बुँदे सहमति कार्यान्वयन नगरे सरकार छाड्ने चेतावनी दिएका छन्।

सोमबार प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले सहमति कार्यान्वयनबारे स्पष्ट जानकारी दिन माग गरेका हुन्।

शाहीले सरकारमा बसिरहँदा अन्याय सहन नसकिने भन्दै सहमति कार्यान्वयन नभए आफू सरकारबाट बाहिरिने दृढता व्यक्त गरे।

उनले भने, ‘गठबन्धनको पवित्रतामाथि प्रश्न उठ्दै छ। यदि सरकारमा बस्दा कारबाही भोग्नुपर्‍यो भने पनि तयार छु। अन्याय सहेर सरकारमा बस्नेछैनौँ ।’

सदनमा उनले मुख्यमन्त्री यमलाल कँडेलप्रति आक्रोश पोख्दै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाको बर्खास्तीको माग गरे ।

शाहीले मन्त्रीले जिम्मेवारी पुरा नगरेको र नेताको फोन समेत नउठाएको आरोप लगाए ।

उनले भने, ‘यदि मन्त्रीलाई बर्खास्त नगर्ने हो भने कांग्रेसले सरकारमा बस्ने कि नबस्ने सोच्नुपर्नेछ।’

उनले सदनलाई समेत निष्क्रिय बनाइएको भन्दै असन्तुष्टि जनाए। हामी दलका नेताको दास बनेर संघीयता कार्यान्वयन गर्न सक्दैनौं । संघका सचिवले मन्त्रीलाई अज्ञानी ठान्छन्। यस्तो अवस्थामा कर्णाली प्रदेश संघीय नेपालभित्र पर्दैन त ? उनले आक्रोश व्यक्त गरे।

पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले बजेट फ्रिज हुँदा जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्दै सरकारका गतिविधिप्रति असन्तोष व्यक्त गरे ।

‘यो वर्ष पनि बजेट फ्रिज भए यसको जिम्मा कसले लिने ? सरकारको असक्षमताले प्रदेश विकास रोकिएको छ,’ उनले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *