हराएको विश्वासलाई नयाँ जीवन दिने समय

आज सबैको मुखमा एउटा ‘कमन वर्ड’ झुण्डिएको छ, युवा पुस्ता चरम निराश भएर विदेश पलायन भइरहेको छ र देश खाली हुँदैछ । युवाको विदेश पलायन निराशा वा अवसर नपाएरमात्र हो कि ‘बेटर लाइफ’ र देखासिखीको लागि पनि हो भन्ने कोणबाट कोही बहस गर्न तयार छैन ।

के यो देश साँच्चिकै बस्न लायक नभएकै हो त ? हाम्रो नेतृत्वले विश्वास गुमाएकै हो त त ? के विश्वव्यापीकरणको प्रभावभन्दा बाहिर हामी र हाम्रो समाज बस्न सक्छ त ? यस्ता प्रश्नको जवाफ नखोजी हामीले हराएको विश्वास फेरि जगाउन सक्दैनौं ।

नेपाल अहिले परिवर्तनको चरणमा छ, जहाँ हरेक तहमा चुनौती र अवसर हातेमालो गर्दै अघि बढिरहेका छन्। देशका ७७ जिल्लामा कतै एकैखाले र कतै फरक खाले विभिन्न समस्या छन् । रोजगारीको अभाव, गरिबी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, र युवाहरूको विदेश पलायन । तर, यी चुनौतीहरूको सामना गर्न हामीसँग आशाको ज्योति छ ।

आशा भनेको एउटा प्रकाश हो, जसले अन्धकारमा पनि बाटो देखाउँछ । देशमा अवसर कम भए पनि, सम्भावना धेरै छन् । हामीसँग भरपूर प्राकृतिक स्रोत साधन छ । पर्यटन, कृषिमा नयाँ सोच र प्रविधि अपनाएर हजारौं रोजगारी सिर्जना गर्न सकिन्छ। साथै, नेपाली युवाको मेहनत र सिर्जनशीलता विश्वमै चिनिएको छ। यसलाई हामीले स्वदेशमै उपयोग गर्नुपर्छ।

बरु यस्ता विषयमा बहस र विमर्श किन नगर्ने ?

युवाहरूलाई समेट्दै, नेतृत्वको अभाव पूर्ति गरौं

देशको विकासमा मुख्य भूमिका युवाहरूको हो । उनीहरूलाई प्रोत्साहन गर्न, सीपमूलक तालिम, स्टार्टअप सहयोग, र नवीनताका लागि खुलामञ्च उपलब्ध गराउनु पर्छ । कोही किन निराश छ ? उसलाई यहिँभित्र अवसर छ भनेर देखाउने र सहजीकरण गर्ने नेतृत्वको आज जरुरी छ ।

सपना जिउँदो राखौं

विदेशमा अवसर खोज्ने कुरा गलत होइन, तर आफ्नै देशमा परिवर्तन ल्याउने सपना जिउँदो राख्नु आवश्यक छ । जसले गर्दा अर्को पुस्ताले हाम्रो योगदानलाई प्रेरणाको रूपमा हेर्न सकोस् ।

आउनुस्, आशाको दियो बालेर देशमा नयाँ सम्भावना खोजौं । साना कदमबाट पनि ठूला परिवर्तन सम्भव छ । निराशा भुलौं र दृढ विश्वासका साथ आफ्नै देशका लागि काम गरौं ।

नयाँ आशाको स्वरूप वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ उचाइमा पुर्‍याउने वाचा गरेका छन् । उनको नेतृत्वमा पूर्वाधार विकास, शिक्षा सुधार, र ऊर्जा क्षेत्रमा भएका सकारात्मक प्रयासले जनतालाई आशाको किरण दिएको छ। उनले गरेका राम्रा कामहरूले देखाउँछ कि देशलाई परिवर्तन गर्ने सम्भावना जीवित छ।

आजको समाज कृतघ्न हुन सक्छ । राम्रा काम भएको पटक्कै नदेख्ने र स्वीकार नगर्ने तर नकारात्मक कुरा गर्न तथा विरोधमात्र गर्ने एउटा जमात तयार भएको छ । तर, प्रधानमन्त्री ओलीकै नेतृत्वमा आज देशका ठूला पूर्वाधार विकासले सफलता पाइरहेका छन् ।

प्रधानमन्त्रीका पहलहरूः आशा जगाउने प्रयासहरू

१. पूर्वाधार विकास

पछिल्लो समय सडक निर्माण, पुल निर्माण, र यातायात पूर्वाधारमा भएको प्रगति उदाहरणीय छ । जनतालाई सहज यातायात र विकासको पहुँच पुर्‍याउन यो क्षेत्रमा गरिएको कामले जनविश्वास बढाएको छ । नौबिसे नागढुंगा सुरुङमार्ग होस् या सिद्धबाबा भन्नुस् यी सपना अब विपनामा परिणत हुँदैछन् । टोखा छहरे सुरुङमार्ग बीआरआई परियोजना हालै प्रधानमन्त्रीको चीन भ्रमणमा परेको छ । सुनकोशी मरिन डाइभर्सन प्रधानमन्त्री ओलीकै ड्रिम प्रोजेक्ट अब सफलताको अन्तिम चरणमा छ ।

२. ऊर्जा क्षेत्रमा क्रान्ति

जलविद्युत् उत्पादनमा भएको तीव्र प्रगतिको कारण देशमा लोडसेडिङ घटेको छ । यसले मात्र नभई, निर्यातका लागि पनि ऊर्जा क्षेत्रमा सम्भावना खोलिएको छ । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा लोडसेडिङ अन्त्यको मार्गचित्र बन्यो, काम गर्दा गर्दै सरकार ढलेपछि अर्को सरकारको पालामा कार्यान्वयन भयो । अहिले आएको ऊर्जा विकास मार्गचित्रले नेपाललाई जलविद्युतको हब बनाउनेछ ।

३. शिक्षा र स्वास्थ्य सुधार

देशका दुर्गम गाउँसम्म स्वास्थ्य सेवा पुर्‍याउन र विद्यालय सुधारमा गरिएको कामले ठूला परिवर्तन ल्याएको छ । प्रधानमन्त्रीको नेतृत्वमा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच सहज बनाउने उद्देश्यले नयाँ योजना लागू भएका छन् । देशका सबै स्थानीय तहमा एक-एक अस्पताल बन्ने क्रम चलिरहेका छन् ।

४. आर्थिक सुधार र रोजगारी सिर्जना

विदेशी लगानी भित्र्याउन र देशभित्रै रोजगारी सिर्जना गर्न गरिएको पहल सराहनीय छ । प्रधानमन्त्रीले कृषि, पर्यटन, र सूचना प्रविधिमा लगानी बढाउन विशेष प्राथमिकता दिएका छन् । अध्यादेशमार्फत विशेषगरी युवाहरूको ठूलो सहभागिता, आकर्षण र सम्भावना रहेको आईटी क्षेत्रमा लगानी प्रवर्द्धन, रोजगारी तथा सहजीकरणको लागि उल्लेख्य विषय समेटिएका छन् ।

जनताको आशा र जिम्मेवारी

प्रधानमन्त्रीका प्रयासले आशा दिएको भए पनि यो यात्रा सफल बनाउन सबै तहका जनप्रतिनिधि, निजी क्षेत्र, र नागरिक समाजले एकसाथ काम गर्नुपर्छ । योजनाको प्रभावकारी कार्यान्वयन र पारदर्शीता कायम गर्न सरकारप्रति जनताको भरोसा बलियो बनाउनु आवश्यक छ । पछिल्ला अध्यादेशमार्फत सरकारले निजी क्षेत्रको मन जित्न सफल भएको छ र यसले अन्ततः अर्थतन्त्र चलयामान भई रोजगारी थपिनेछ । यसका साथै भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या सधैँका लागि समाधान गर्ने अध्यादेशसमेत हालै प्रधानमन्त्रीले ल्याइसकेका छन् ।

युवाहरूको भूमिका

देशलाई आत्मनिर्भर बनाउने र भविष्यलाई उज्यालो बनाउने मुख्य जिम्मेवारी युवाहरूको हो । उनीहरूले आफ्ना सीप र ऊर्जालाई देशभित्रै प्रयोग गर्नुपर्छ । सरकारी योजनाहरूमा सक्रिय सहभागी भई विकासको गति तेज बनाउन सकिन्छ । युवालाई विदेशभित्रै राखौं भन्ने कोरा भाषणले मात्र केही हुँदैन । अवसर सिर्जना गर्न सकिन्छ, देशभित्रै उद्यमशीलताको विकास र कृषि तथा पर्यटनमा युवालाई परिचालन गर्ने ठोस योजना ल्याउनुपर्छ ।

सन्देशः आशा जिउँदो राखौं

प्रधानमन्त्री ओलीले गरेका राम्रा कामले देशलाई नयाँ ऊर्जा दिएका छन् । तर, अझै गर्नुपर्ने धेरै काम बाँकी छन् । देशभित्रको प्रत्येक समस्याको समाधान सम्भव छ, यदि हामीले सामूहिक प्रयास जारी राख्यौं भने । आउनुस्, अबको दिनमा निराशालाई छोडी आशालाई अँगालौं । हामी सबैको प्रयासले मात्र देशलाई समृद्ध बनाउँदै भविष्य उज्यालो बनाउन सकिन्छ ।

(रोजिना नेकपा एमाले कोशी प्रदेश कमिटी युवा फाँट इन्चार्ज तथा राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य हुन् ।)

Comments

One response to “हराएको विश्वासलाई नयाँ जीवन दिने समय”

  1. Karmachari Avatar
    Karmachari

    Excellent analysis!

Leave a Reply

Your email address will not be published. Required fields are marked *