काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा राजनीतिक र सांगठनिक प्रस्तावहरुमाथि समूहगत छलफल गर्ने प्रचलन भत्काएको छ । नवौं महाधिवेशनपछि केन्द्रीय सदस्यहरुले बैठकमा पालैपालो बोल्ने प्रचलन हटाएर समूहगत छलफल र लिखित धारणा दिने गरिएको थियो ।
आइतबार शुरु भएको बैठकमा भने सबै सदस्यलाई आफ्नो धारणा स्वतन्त्रपूर्वक राख्न दिइएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिए । उनका अनुसार पहिलो दिनको बैठकमा २७ जनाले धारणा राखेका छन् ।
केन्द्रीय सदस्यहरुलाई आफ्नो भनाइ राख्न ३ मिनेटको समय दिइएको छ । ३ मिनेट कटेपछि स्वतः लाइन काटिने संसदको जस्तै व्यवस्था गरिएको छ । ३ मिनेटमा सदस्यहरुले बुँदागत रुपमा सुझाव र धारणा राखेका छन् ।
पोलिटव्युरो सदस्य विशाल भट्टराईले यो पटक केन्द्रीय कमिटीका इच्छुक हरेक सदस्यले खुलस्त आफ्नो धारणा राख्न दिइएको र एमालेमा बोल्न पाइँदैन भन्ने विरोधीहरुको भाष्यलाई खण्डित गरेको बताए ।
आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । बैठक मंगलबारसम्म चल्नेछ ।

Leave a Reply