माधवपक्षीय जनसंगठनका नेताहरूले भने- विद्रोह कि आत्मसमर्पण रोजियोस्

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका जनसंगठनका नेताहरुले एमालेकै नाममा समानान्तर गतिबिधि गर्नुभन्दा कि आत्मसमर्पण कि बिद्रोहको नीति लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

युवा संघका अध्यक्ष नरेशबहादुर शाही र उपाध्यक्ष नितेश पौडेलको संयोजनमा भएको जुम बैठकमा सहभागी नेताहरुले शक्ति र संगठनलाई जोगाउनका लागि अलग पार्टी गठन गर्नुपर्ने बताएका हुन् । उनीहरुले एमालेमै बसेर अन्तरसंघर्ष गर्ने चरण सकिएको धारणा राखेका थिए ।

पूर्व खेलकुदमन्त्री तथा खेलकुद महासंघका अध्यक्ष पुरषोत्तम पौडेलले अब आफूहरुसँग आत्मसमपर्ण वा विद्रोहमध्ये एउटा बाटो रोज्ने बेला आइसकेको बताएका थिए । सबैजसो जनसंगठनका नेताले एमालेकै नाममा समानान्तर गतिविधि गर्नुभन्दा केपी ओलीका सम्पूर्ण दोष बिर्सेर आत्मसमर्पण गरौं भन्दै होइन भने विद्रोहको विकल्प नभएको बताएका थिए ।

प्रेस चौतारीका नेता विश्वमणी सुवेदी,राजेश राई लगायतले अलग पार्टी बनेमा आफूहरु त्यसमा तयार रहे पनि माओवादीसहितको एकताको पक्षमा भने नरहेको बताएका थिए ।

जुम बैठकमा माधव पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा, खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, अनेमसंघ अध्यक्ष जयन्ती राई, महासचिव शान्ति अधिकारी सहभागी थिए

त्यस्तै जनसास्कृतिक महासंघका कृपाराम धमला, कृष्णगोपाल तामाङ, पेशागत महासंघका विश्वनाथ प्याकुरेल, रामप्रसाद रिमाल, जिफन्टका भीमज्वाला राई, प्रेस चौतारीका विश्वमणि सुवेदी, नरेन्द्र साउद, राजेश राई, जातीय मुक्ति समाजका अनुभुती बम नेपालीसहितका सहभागी थिए ।

बैठकका निष्कर्ष सुनाउने र शीर्ष नेतृत्वसँग समन्वय गर्ने जिम्मा नेताहरु पुरुषोत्तम पौडेल र विश्वनाथ प्याकुरेललाई दिएको छ । माधव पक्षीय जनसंगठनको तर्फबाट बुधवारै संयुक्त वक्तव्य जारी गर्ने र त्यसको संयोजन प्रेस चौतारीका महासचिव राजेश राई र अनेरास्ववियुकी महासचिव आरती लामालाई दिइएको छ ।

Comments

One response to “माधवपक्षीय जनसंगठनका नेताहरूले भने- विद्रोह कि आत्मसमर्पण रोजियोस्”

  1. Rcl Avatar
    Rcl

    लाउरेहरुलाई चाउरे पदको माया ,धिक्कार छ तपाईका सोचाईलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *