सुर्खेतमा पाठेघरको शल्यक्रिया सेवा सुरु, ग्रामीण महिलालाई राहत

सुर्खेत । ग्रामीण भेगका महिलालाई सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुर्खेत अस्पतालले पाठेघरको शल्यक्रिया (हिस्टेरेक्टोमी) सेवा सुरु गरेको छ ।

स्त्रीरोग सेवा विस्तार गर्ने क्रममै सुरु गरिएको यो सेवाले अब पाठेघरसम्बन्धी जटिल समस्या भएका महिलाहरूलाई राजधानी जानुपर्ने बाध्यता हटाउने अपेक्षा यो सेवा सुरु गरिएको हो ।

स्त्रीरोग विशेषज्ञ डा. धर्मराज रेग्मी नेतृत्वको चिकित्सक टोलीले केही दिनअघि दुई महिलाको सफल पाठेघर शल्यक्रिया सम्पन्न गरेको छ । तीमध्ये एक महिलालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ भने अर्को महिलालाई छिट्टै घर पठाइने तयारी भइरहेको छ ।

डा. रेग्मीका अनुसार पाठेघरको मुखमा घाउ र ट्युमरका कारण समस्या झेलिरहेका दुवै महिलाको पाठेघर निकालिएको हो । डा. रेग्मीले भने,’ पाठेघरसम्बन्धी समस्याले थलिएका महिलाहरूलाई स्थानीयस्तरमै गुणस्तरीय सेवा दिनु हाम्रो प्राथमिकता हो ।’

सुर्खेत अस्पतालमा यो सेवा सञ्चालन भएसँगै कर्णाली क्षेत्रका महिलाहरूको स्वास्थ्यमा सुधार आउने आशा गरिएको डा. रेग्मीले भने । कार्यालय समय बाहिर पनि बिहान र साँझको समयमा सेवा दिइरहेका डा. रेग्मीले अस्पतालको प्रतिबद्धता र चिकित्सकहरूको समर्पणले सेवा थप सुदृढ हुने बताएका छन् ।

स्थानीयतामा केन्द्रित सेवाको आवश्यकता

ग्रामीण महिलाहरूका लागि यो सेवा महत्वपूर्ण मानिएको छ। कर्णाली जस्तो दुर्गम क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि स्त्रीरोगसम्बन्धी सेवा विस्तार समयानुकूल कदम भएको स्थानीयले बताएका छन् ।

सुर्खेत अस्पतालले पाठेघरको शल्यक्रियासँगै स्त्रीरोगका अन्य सेवाहरूमा समेत सुधार ल्याउँदै जाने जनाएको छ । यसले कर्णालीका नागरिकहरूको स्वास्थ्य प्रतिफलमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *