अर्को पार्टीमा जान्नँ, ओलीबाट आजित एमालेपंक्तिको साथमा नयाँ ढंगले अघि बढ्छु: डा.भीम रावल

काठमाडौं । पूर्वउपाध्यक्ष समेत रहेका भीम रावललाई नेकपा एमालेले साधारण सदस्यसमेत नहरनेगरी निस्काशित गरेको छ । हिजो बसेको सचिवालय बैठकले अनुशासन उल्लंघनको आरोपमा कठोर कारवाहीको निर्णय लिएको हो ।

रावलले १० औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेयता पार्टीको कुनै जिम्मेवारीमा थिएनन् । पछिल्लो निर्णयले उनी पार्टीबाटै लखेटिएका छन् ।

रावल मात्रै होइन, पार्टी नेतृत्वको निर्णयप्रति असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ । उनीहरुले पार्टी कार्यालयको भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

एमालेको यो कदमपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । फरक मत राख्ने र नेतृत्वमाथि प्रश्न उठाउनेलाई कारवाहीको डण्डा चलाएर ओलीले अधिनायकवादी प्रवित्ति देखाएको विश्लेषण सामाजिक सञ्जालमा भइरहेको छ । एमालेभित्र भने मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

अब आम चासोको विषय हो– एमालेबाट निष्कासित भएपछि रावलको राजनीतिक यात्रा कसरी अघि बढ्छ ? नेपाल प्रेसले उनीसँग नै जान्ने प्रयास गर्यो । प्रस्तुत छ, रावलसँग गरिएको सवाल–जवाफ ।

–तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ?

यो केपी ओलीको निरंशुक, तानाशाही र स्वच्छाचारी निर्णय हो । उनले राष्ट्रियता विरोधी, पार्टीका नीति विरोधी क्रियाकलाप र विरोधी शक्तिहरुसँग साँठगाँठको क्रियाकलापलाई ढाकछोप गर्ने, आउँदो महाधिवेशनमा आफ्नो तानाशाही प्रवृत्तिको पक्षमा एकछत्र बनाउनको लागि, नेतृत्वको विरुद्वमा चुइक्क बोल्न नसक्ने परिस्थिति बनाउन खोज्दैछन् । पार्टीलाई आफ्नो नीजि बनाउँदैछन् । एमाले अब एमाले रहेन, अब बामाले बनाउँदैछन् ।

मैले यही पार्टी निर्माणमा पाँच दशकसम्म संघर्ष गरें, देश र जनताको स्वाधिनताको पक्षमा पसिना बगाएँ । मैले अहिलेसम्म गरेको संघर्षबाट चुकेको छैन । म अविचलित छु ।

अब देश र जनतासहित देशभक्त साथीहरुको भावना र देशको आकांक्षा जे छ, जे देशले माग गर्छ, त्यही अनुसार दृढतापूर्वक अघि बढ्छु । र देशविरुद्धको क्रियाकलाप गर्ने र आफ्नो नीति र सिद्धान्तविरुद्धको क्रियाकलापसँग जुध्दै अघि बढ्छु ।

–अब तपाईंको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ ?

मैले राजनीतिलाई देश र जनताको सेवा गर्ने एउटा माध्यम ठानेको छु । म देश र जनताको पक्षमा कसरी सकिन्छ अघि बढ्छु । म केपी ओलीजस्तो पद र आफ्नो स्वार्थको लागि जे पनि गर्ने मान्छे होइन ।

त्यसैले मैले भन्दै आएको छु, अब सम्पूूर्ण जनताको भावनालाई केन्द्रमा राखेर कार्यकर्ता र देशभक्तहरुको साथ लिएर अघि बढ्छु । कुन ढुंगले अघि बढ्ने भन्ने कुरा निष्कर्षमा पुगेका छैन ।

–यो भनेको आफ्नो नेतृत्वमा पार्टी गठन गर्नुहुन्छ कि एकीकृत समाजवादीमा जाने पहिल्यैदेखि चर्चा छ, त्यता जानुहुन्छ ?

अहिले हामी छलफलमै छौं । अहिले हतारमा कुनै निर्णय गर्दिनँ । हतारिएर कुनै पनि पाइला चाल्दिनँ । देशको पक्षमा विगतमा प्रतिकुल अवस्थामा पनि ५० बर्ष उभिएँ । एमालेमा केपी ओलीले भन्दा मैले बढी नै संगठन निर्माण गरेको होला । अहिले ठूलो पदमा पुगे बेग्लै कुरा हो । मैले अहिले पनि आगामी यात्राबारे आफ्नो स्वार्थ हेरेर सोचिरहेको छैन । व्यक्तिगत रुपमा भन्नुपर्दा ओलीजस्तो रिस, डाहा र बदलाको घृणित धारणा राखेको छैन ।

त्यसैले अब कसरी अगाडि बढ्दा देश र जनताको पक्षमा काम गर्न सकिन्छ भन्नेबारे अहिले हतारमा निर्णय गर्दिनँ । त्यसैले अर्को पार्टी खोल्छु कि के गर्छु भनेर अहिले नै भन्ने कुरा भएन । म सोचविचार गरेर सबैको विचार, धारणा र देशको स्थितीलाई ध्यानमा राखेर निर्णय गर्छु । तर, अहिले बाहिर चर्चा भएजस्तो अर्को कुनै पार्टीमा गइहाल्दिनँ ।

–भनेपछि आगामी यात्राको बिषयमा आफू निकटका नेताहरुसँग छलफल थाल्नुभयो ?

त्यो त स्वभाविक नै भयो नि । मसँग अहिले देशव्यापी रुपमा कार्यकर्ताहरु, कयौं स्वतन्त्र व्यक्तिहरु, नागरिक समाज, देशभक्तहरु जोडिइसक्नुभएको छ । अब आगामी दिनमा मसँग हजारौं मानिस जोडिन्छन् भन्नेमा विश्वस्त छु । एमालेमा देशभक्त, केपी ओलीको स्वच्छाचारी, निरंकुश तानाशाही आचरणबाट आजित भएकाहरु, अपराधि र देशघातीहरुलाई च्याप्ने र देशभक्त र इमान्दारलाई पार्टीमा काम गर्ने किनारा लगाउने क्रियाकलाप छ । त्यसका विरुद्ध उभिनेछन् भन्ने मैले विश्वास गरेको छु । अब सबैको भावनालाई समेटेर अगाडि बढ्छु ।

-एमालेमा रहेका ओलीसँग असन्तुष्ट भएकाहरुले साथ दिन्छन् भन्ने बुझाइ हो ?

ओलीसँग असन्तुष्ट भएकाहरु मात्रै होइन। देश र जनताप्रति जो इमान्दादार छन्, केपी ओलीले अहिले फौजदारी अभियोग लागेकादेखि देश टुक्राउँछु भन्नेहरुलाई काँधमा बोकेर हिँडिरहेका छन्। यो एमालेका अधिकांश मान्छेहरुलाई मन परेको छैन। त्यहाँ अब स्वार्थकेन्द्रित मात्रै हुन्छ।

मैले बारम्बार भन्दै आएको छु, एमाले अब एमाले रहेन। त्यो त केपी ओलीले नै घोषणा गरिसकेका छन्, युट्युव खोलेर एमालेलाई बामाले बनाइसके। अब मलाई बा भन भनिसके। एउटा देशको राजनीतिज्ञ आफ्नो दम्भ पुरा गर्नको लागि समान्ति शैलीमा बा भन्न भन्ने अवस्थामा पुगिसकेका छन्।

त्यसैले यस्ता कुरा मन नपराउने र देशलाई स्वच्छ बाटोमा अगाडि बढाउने, देशको स्वाधिनता जोगाउँने, हिजोको सहिदहरुले जे कुरा भनेर बलिदान दिएका थिए। ती कुरालाई स्मरण गरेर जाऔं भन्नेहरु सबै निश्चिय पनि यो अभियानमा जोडिनसक्छन्। र, हामीहरुसँगै यात्रा गर्नसक्छौं भन्नेमा विस्वस्त छौं।

-तपाईंले यस्तो भन्दैगर्दा अब एमालेको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ ?

ओलीको यो कदम जनताको बहुदलीय जनावादको मात्रै होइन। संविधानको विरुद्धमा पनि छ। संविधानले नै मान्छेहरुलाई नैसगिक अधिकार दिएको छ। कसैलाई गालीगलोज गर्नु हुँदैन भनेर। अपशब्द बोल्द हुँदैन भनेर। तर, सत्य कुरा बोल्न नपाइँने रु देशको हितको पक्षमा बोल्न नपाइने? अनि पार्टीको घोषित नीतिको पक्षमा बोल्न नपाइनेरु जे कुरामा पनि बा भनेर समर्थन गर्नुपर्ने ? त्यो सामन्तवाद हो नि!
सामन्तवादको अबशेषका विरुद्ध लड्नुपर्छ भनेर प्रस्तावना लेख्ने पार्टीको, अनि सत्य कुरा बोल्दा कारवाही भोग्नुपर्ने। मैले अस्तिको कार्यशालाको संकल्प पनि पढेको थिए पहिलो नम्बरमै नेताप्रति निष्ठावान हुनुपर्ने भनेर लेखिएको रहेछ। देशप्रति निष्ठावान हुनुपर्छ भनेर कहिँपनि लेखेको छैन। त्यसैले हामीले यस्ता प्रवृत्तिप्रति सचेत भएर अघि बढ्नुपर्छ भन्नेमा पुगेका छौं।

 

Comments

3 responses to “अर्को पार्टीमा जान्नँ, ओलीबाट आजित एमालेपंक्तिको साथमा नयाँ ढंगले अघि बढ्छु: डा.भीम रावल”

  1. Nagendra Avatar
    Nagendra

    एमाले र ओली सिध्याउन भित्र भित्र घुस घुस लागेकै थिए : किन त्येत्ति गाह्रो भै भै चल्नु अब त मुक्त भैयो स्वच्छन्द लागे भयो !!
    १. हिंजो, माकुने, झलनाथ, भुसाल अनि प्रचण्ड संग नारिएर आफ्नै पार्टीको सरकार दिउवालाइ जिम्मा लगाएको हो : त्यो बेला सक्किएन एमाले – ओली !! किने भने जनजनले बुझे कि : चुचे नक्सा जारी भए पछि देशलाई एक ढिका बनाउने ओली हटाउन पर्ने भारतीयको गोट्टी भएर चलेका थिए ती !! भारतको चाहना अनुसार भएन किन कि देशको पहरेदार एमाले एक ढिक्का भयो, झन् बलियो भयो : त्येशलाई सक्न अझ मेहनत भै रह्यो !! भित्र बसेर भएन अब बाहिर बाट प्रहार !!
    २. गल्ति कमजोरी होलान ओलीका तर आजको दिनमा देशलाई नेतृत्व दिएको र महाधिबेसनले छानेको अनि देश परिवर्तनको अभियान सहि रुपमा चलाइ रहेका पार्टी अध्यक्ष्य हुन् ओली : यो स्विकार्न नसक्नु भुल हो !! माकुने ले आफुले कोठामा राखेर पालेको मान्छे, अरुको घरमा गोठालो बनेको मान्छे आफु जस्तो खजांची भन्दा माथि पुग्यो भनेर सहन नसक्दा पार्टी फुटाए, रावललाई खै के को घमण्ड हो : पढाइको (??) !!
    ३. रावलको भनाइ धेरै ठिकै लाग्छन तर बोलि मात्र हैन, पार्टी निर्माणमा काम जरुरी छ :: कुराले वाहि वाहि पाइञ्छ, अझ आजको दिनमा ओलीको बोरोध गर्यो भने त सगरमाथा नाघिन्छ : बिरोधी काखी बजाउञ्छन, हौस्याउञ्छन, उल्क्याउञ्छन तर त्येशको अन्तिम निस्कर्स के हुन्छ : एमाले सिध्ह्याएर छिट्टै भारतीय चाहना पुरा गर्ने : अरु केही छ र ??

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      भिम रावलकाे समाचारमा के कमेण्ट लेख्नु र ? बाँदर, धरान, आफ्नाे घर, अर्काकाे घर खै के के भन्ने उखान जस्ताे ।

  2. ksp pyl Avatar
    ksp pyl

    एमालेले निकालेपछि पनि कोही एमाले छोडेर आउला भन्ने कुरा गर्नु भनेकै अझै एमाले कमजोर बनाउने मिसनमै हो भन्ने पुष्टि हुन्छ । कसैबाट परिचालित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *