सेभेन सिज इन्टरनेसनलले किन्यो ‘लाज शरणम्’को इन्टरनेशनल राइट्स

काठमाडौं । चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको चलचित्र ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ ।

शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो चलचित्रको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो ।

मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ । वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।

नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो चलचित्र चर्चित सिरियल ‘सक्किगो नि’ टिमको प्रयासमा बनेको हो । चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट र्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।

नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रमा सुदीप बराल छायांकारका रुपमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *