पिए राजेश बज्राचार्यसँगै कुरा भएको वामदेवको दाबी, भ्वाइस रेकर्ड सार्वजनिक गर्न प्रधानमन्त्रीलाई चुनौती

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी ओली र आफूबीच भएको फोन संवादबारे प्रष्टीकरण दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले फोन संवादको अडियो सार्वजनिक गर्न ओलीलाई चुनौती समेत दिए ।

दुई दिनअघि एक भाषणमा ओलीले वामदेवसँगको फोन संवादको किस्सा सुनाएका थिए । ओलीका अनुसार वामदेवले उनलाई स्वकीय सचिव राजेश बज्राचार्य भन्ठानेर कुरा गर्दै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

मदन भण्डारीको हत्या कांग्रेसले गरेको हो भनेर बोलिएको आफ्नो फेक अडिओको आधारमा वामदेवले राजीनामा मागेको ओलीको आरोप थियो ।
ओलीले भनेका छन्, ‘फोन मैले उठाएको थिएँ, तर उहाँ राजेश भन्ठानेर मसित बम्किनुभयो ।’

हेर्नुस् लिंक

बामदेवजीले फोन गरेर राजीनामा गर्न भन्नुभो, मैले हस हजुर भनेँ : ओली (भिडिओ)

वामदेवले भने राजेश बज्राचार्यसँग नै आफ्नो कुराकानी भएको दाबी गरेका छन् । मदन भण्डारी सम्बन्धी भिडिओको लिंक पठाएर आफूले ‘प्रधानमन्त्री र अध्यक्षबाट पनि हट्नुपर्ने हुनसक्छ’ भनेको उनको स्वीकारोक्ति छ । यो फोन संवादलाई ओलीले प्रचारको विषय बनाएर आफूलाई बदनाम गर्न खोजेको आरोपसमेत गौतमले लगाएका छन् ।

हेर्नुस् गौतमको वक्तव्य:

प्रिय क. केपी ओली !

अभिवादन !!

तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।

त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु । तु वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ ।

योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नम्बर राजेश कै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन ।

क। केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।

वामदेव गौतम

१ पुस २०८१

Comments

2 responses to “पिए राजेश बज्राचार्यसँगै कुरा भएको वामदेवको दाबी, भ्वाइस रेकर्ड सार्वजनिक गर्न प्रधानमन्त्रीलाई चुनौती”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    नेपाली कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण योगदान गर्नु भएको नेता मध्ये एक जना कामरेड बामदेव गौतम प्रस्ट वक्ता हुनुहुन्छ । तर पछिल्लो कालखण्डमा वहाँको भूमिका पार्टी राजनीतिमा बढी नै उछालिएको अवस्थामा रहेको छ । जसको कारणले नै नेकपा (एमाले)मा अनेकौं उतारचढाव भोगेको छ । पछिल्लो समयमा वहाँले शुरु गर्नु भएको अभियान बेपत्ता भएको अवस्थामा अहिले यो चर्चा किन जरुरी हुन्छ ?

  2. ksp pyl Avatar
    ksp pyl

    दुर्गा प्रसाईले एउटा फटाहाले बनाएको नक्कली कागजातको आधारमा ओलिको कम्बोडियामा लगानी भनेर दुस्प्रचार गरे । अहिले बामदेवले कसैले बनाएको नक्कली लिंक पठाएर पार्टी र अध्यक्षबाट समेत राजिनामा दिनुपर्छ भन्नुभएछ । भनेपछि दुर्गा प्रसाईं र बामदेव त एउटै ड्याङ्गका मूला भो भएछन् । दुवै ओलिको बदनाम गर्न हिडेका । कसैले बामदेव र कुनै महिलाको फोटो जोडेर अश्लिल हर्कत भन्दै सार्वजनिक गरिदियो मानौं । प्रविधिको जमानामा जसलाई जोसँग पनि जोडेर जे पनि देखाउन मिल्ने रहेछ । के बामदेवलाई त्यसैको आधारमा अब तपाईले जेल जानुपर्छ भन्ने कि तपाईको बारेमा कसैले नक्कलि सामाग्री तयार गरेछ । त्यसलाई कारवाहीको दायरामा ल्याउनु पर्छ । हामी पनि सहयोग गर्न तयार छौं भन्ने ? बामदेव र दुर्गा प्रसाईमा भिन्नता के ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *