पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, पूर्वप्रदेश प्रमुख शेरचनबारे पनि छलफल

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको पदाधिकारी बैठकमा निरन्तर सहभागी हुन थालेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा पुन सक्रिय राजनीतिमा फर्किने तयारी गरेकाले पदाधिकारी बैठकमा उपस्थित हुन थालेका हुन्।

आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि पुन सहभागी भएको सचिव दिनानाथ शर्माले बताए। प्रचण्डले पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन्।

सचिव शर्माले भने, ‘उहाँ बैठकमा आउन थाल्नुभएको छ, जिम्मेवारीबारे निर्णय भएको छैन। अब २७ र २८ गतेका लागि स्थायी कमिटीको बैठक बोलाइएको छ। त्यसले निर्णय गर्नसक्छ। त्यसबारे थप निर्णय गर्नुपरे पुस २ गतेबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पनि छलफल हुन्छ।’

पुनले सक्रिय राजनीतिमा फर्किएको संकेत हिजो काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमबाटै गरिसकेका छन्। प्रतिक्रियावादीहरु समावेशी, समानुपातिक, संघीयतालाई दायाँबायाँ गर्न खोजे आफू रातो मान्छे भएर उभिन तयार रहेको बताएका थिए।

प्रचण्डले पुनसँगै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पनि सक्रिय राजनीतिमा फर्काउँदैछन्। शेरचनलाई पनि उपाध्यक्ष बनाउनेगरी छलफल चलिरहेको भएपनि निर्णयमा नपुगेको स्रोतले बतायो।

स्रोतले भन्यो, ‘उहाँ पनि अध्यक्षको निरन्तर सम्पर्कमा हुनुहुन्छ। उपाध्यक्ष बनाउने भन्नेबारे अहिले बाहिर चर्चा भइरहेको छ। तर, उहाँको बिषयमा अध्यक्षले केही भन्नुभएको छैन। छलफलमै हुनुहुन्छ होला।’

माओवादीले यसअघि पनि सभामुख भएका अग्निप्रसाद सापकोटालाई पार्टी उपाध्यक्ष बनाएर सक्रिय राजनीतिमा फर्काएको थियो। सापकोटा अहिले प्रवक्ताको जिम्मेवारीमा पनि छन्।

Comments

One response to “पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, पूर्वप्रदेश प्रमुख शेरचनबारे पनि छलफल”

  1. ksp pyl Avatar
    ksp pyl

    उपराष्ट्रपति भैसकेको व्यक्तिलाई पार्टीमा ल्याएर के वडा अध्यक्ष बनाउने अब ? वाहियात निर्णय । पदलोलुपहरू । माओवादी न हो जे पनि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *