एमाले-माओवादीको समीक्षा: विगतमा हतारिएर असफल भयौं, तत्काल नभए पनि एकता असम्भव छैन (भिडिओ)

काठमाडौं । कुनै बेला एउटै बनेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले फरक कित्तामा छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् भने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता छन् ।

नेकपाको एकता भंग भएपछि पनि दुई पटक सहकार्यमा जोडिएका एमाले र माओवादी अहिले एकअर्काविरुद्ध खनिरहेका छन्, तर आज ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक वैचारिक कार्यक्रममा एमाले र माओवादीमात्रै होइन, अन्य साना कम्युनिष्ट पार्टीहरु पनि सहभागी थिए । त्यहाँ उनीहरुले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै विगतको आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले विगतको प्रयास असफल भएकाले वैचारिक स्पष्टतासहित गम्भीर आत्मसमीक्षा गर्न कम्युनिष्ट नेताहरूलाई आग्रह गरे । विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि धेरै चर्चा गरेको भए पनि पर्याप्त नभएको उनको भनाइ छ ।

 

उनले भने, ‘हामीले हिजो एकताको कुरा गर्दागर्दै कमरेड मदन भण्डारीका कैयौं कुराहरू र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि चर्चा हामीले नगरेको होइन, तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैं आफैंले सुरु गरौं ।’

प्रचण्डले एकताको कुरा गरेरमात्रै नहुने भन्दै मिल्ने मन हुने जति मिल्न सकिने र नमिल्नेहरूले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले थपे, ‘अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहिँ देख्या छैन । यहाँ अरू कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौं ठीकै छ, नमिल्नेहरू कति मिल्न सकिने हो, त्यतिमा मोर्चा बनाएर मिलौं । त्यो पनि सकिँदैन, खासखास इस्युहरुमा कार्यगत एकता गरौं, तर मिल्नुपर्ने सबैभन्दा ठूलो कुरा आफ्नै पार्टी कसरी सही विचारको आधारमा एकताबद्ध गर्ने र सही विचारको आधारमा समाजवादी क्रान्तितिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्‍यो भने त्यहीँबाट अरूलाई पनि एकताबद्ध गर्ने प्रक्रियाको सुरुवात हुनसक्छ । इतिहास र घटनाक्रमले तपाईं हामीलाई यही सिकायो ।’

प्रचण्डले मात्रै होइन नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना नभएको बताए ।

उनले भने, ‘सम्भव भएका कम्युनिष्ट मिल्दै जाने हो, अहिले माओवादी र एमालेबिच एकता सम्भव छैन । एमाले अहिले सत्ताको नेतृत्वमा छ । कांग्रेससँग मिलेर सरकार चलाइरहेको छ । हामीले यहाँबाट पनि महत्वपूर्ण काम गर्ने सोचिरहेका छौं । कति सफल हुन्छौं, हेर्दैछौं । आज तत्काल एमालेसँग एकता सम्भव छैन, तर भविष्यमा हुँदै हुँदैन भन्ने छैन । भविष्यमा हुनसक्छ।’

उपाध्यक्ष ज्ञवालीले पनि अहिले एकता सम्भव हुनेहरुसँग गरेर जानुपर्नेमा जोड दिए ।

उनले थपे, ‘अहिले जोजोसँग एकता सम्भव छ, गर्नुपर्छ । समाजवादको आधार तयार गर्दै जाने हो, कम्युनिष्टको बहुमत नआई हुनेवाला केही छैन । एमालेले त एक्लै बहुमत ल्याउने भनेर हिँडिरहेको छ । त्यही योजनामा छौं । कति सम्भव हुन्छ २०८४ सम्म । तपाईं पनि लाग्नुभएको छ, प्रचण्डजी पनि एक्लै बहुमत ल्याउने भनेर लाग्नुभएको छ । त्यसैले मिल्ने जति कुरामा मिलेर जानुपर्छ ।’

त्यसो त एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हावी भएको टिप्पणी गरे ।

उनले भने, ‘अब समाजवादी क्रान्तिको चरणमा हामी प्रवेश गरेका छौं । त्यस अर्थमा समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक छ । त्यो कार्यक्रम हामीले बहस गरेर अघि सारेका छौं । त्यो नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? बहस गरौं । हामी समाजवादका कुराहरू गरिरहेका छौं, तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? अरू समाजवादी मुलुकको जस्तो हुँदैन ।’

Comments

One response to “एमाले-माओवादीको समीक्षा: विगतमा हतारिएर असफल भयौं, तत्काल नभए पनि एकता असम्भव छैन (भिडिओ)”

  1. हीरामणि खराल Avatar
    हीरामणि खराल

    माववादिलाई लिन हुदैन यो ज्यान मारा लुपहा पार्टी हो। यस्का नेता अधिकांस भ्रष्टाचारी छन कार्य कर्ता र जिल्ला तहका नेताला आबाहन गरी समय दिएर समाबेस गराउनु पर्छ। पदिय दायित्व समय र भावना तथा जन समरथन को आधारमा एमाले समाहित बराबर गरी पक्षपात नगरी काम र जनताको बिस्वास को आधारमा संगठन बिस्तार र पार्टी काम को नेता तत् तत् पदभार दिनु पर्छ। यो बिस्वास र यजेन्डा समेत शसर्त आवाहन गरी पार्टी एकिकरणको कारय भार सम्पन्न गर्नु पर्छ। नारायण काजी शक्ति बस्नेत जनार्दन लगाएत लाई लिन हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *