माओवादीले काठमाडौंमा सरकारविरुद्ध किन गर्दैछ प्रदर्शन ? दियो १० कारण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने भएको छ। विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको सडक आन्दोलनको घोषणा गरेको हो।

पेरिसडाँडामा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका सबै कमिटीलाई खबरदारी सभाको तयारीमा जुट्न निर्देशन दिइसकेका छन्।

प्रतिनिधि सभाको दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्षसहित खबरदारी सभा गर्न लागेको जनाएको छ।

काडमाडौंको भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुने जनप्रदर्शन सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर गर्ने माओवादीले जनाएको छ।

किन खबरदारी सभा ?

१. विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन ।

२. नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न

३. सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन

४. संविधान र लोकतन्त्रको रक्षा गर्न ८ मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षडयन्त्रलाई असफल पार्न

५. शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन

६. नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थान विक्री गर्ने तयारी विरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न

७. बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन

८. सहकारी, मिटरव्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, ठगीमा संलग्नहरूलाई बिना भेदभाव कारबाही गर्न

९. राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धन गर्न

१०. सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न।

Comments

2 responses to “माओवादीले काठमाडौंमा सरकारविरुद्ध किन गर्दैछ प्रदर्शन ? दियो १० कारण”

  1. Mr. Manil Avatar
    Mr. Manil

    only on THUKKA

  2. ksp pyl Avatar
    ksp pyl

    लुटेर खाईरहेको माओवादी । दुईचार दिन लुट बन्द भयो । छटपटाउन थालिहाल्यो । यस्ता हत्यारा, ज्यानमारा, लुटेरा, सुन तस्करहरूले भनेर अब जुलुसमा जाने भनेका त्यहि लुटको रकम भाग खान पाएका मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *