दीपकराजले आफ्नै हलमा ‘१२ गाउँ’ लाई दिए ‘छक्का पञ्जा ५’ बराबर शो, व्यापार कि सन्देश ?

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरी सिनेमा हल सञ्चालक समेत हुन् । उनले बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज सञ्चालन गरिरहेका छन् ।

यतिबेला दीपकराजले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ५’ ले देशभर बम्पर व्यापार गरिरहेको छ । सँगसँगै हाउसफुल चलिरहेको छ, विराज भट्ट निर्देशित ‘१२ गाउँ’ । अब दीपकराजको आफ्नै हलमा चाहीँ यी दुवै चलचित्रको सो बाँडफाँड कस्तो होला त ?

सुरूमा अन्य हलहरूमा जस्तै दीपकराजको हलमा पनि ‘१२ गाउँ’ ले न्यून शो पाएको थियो । दीपकले ५ शो आफ्नो चलचित्रलाई र २ शो मात्र ‘१२ गाउँ’ लाई छुट्याएका थिए । तर, अहिले आएर उनले ‘१२ गाउँ’ को शो संख्या ह्वात्तै बढाइदिएका छन् ।

कुनै पनि हल सञ्चालकले जुन चलचित्रमा दर्शकको चाप हुन्छ, त्यसलाई बढी शो दिनु स्वाभाविक हो । तर, दीपकराजका लागि यो मामिला अलि फरक छ । रिलिजभन्दा धेरै दिन अगाडिदेखि ‘१२ गाउँ’ का फ्यानहरूले सामाजिक सञ्जालमा उनलाई लखेटिरहेका थिए । अहिले पनि त्यो क्रम रोकिएको छैन ।

जुन तरिकाले ‘१२ गाउँ’ का फ्यानहरू ‘छक्कापञ्जा ५’ विरुद्ध उत्रिएका थिए, त्यो हेर्दा प्रश्न उब्जेको थियो कि दीपकराजले आफ्नो हलमा ‘१२ गाउँ’ लाई स्थान देलान् ? ‘आफ्नै हात जगन्नाथ’ गर्दै छक्कापञ्जामात्रै चलाउने अप्सन पनि उनीसँग थियो । यद्यपि, उनले त्यो मुर्खता गरेनन् ।

सुरुवाततिर चरणमा देशभरिका हलले ‘छक्का पञ्जा’ ब्राण्डलाई विश्वास गरेर उच्च शो दिएका थिए भने १२ गाउँलाई केही कम थियो । दीपकराजले पनि आफ्नो हलमा ५ शो छक्कापञ्जालाई र २ शो मात्र ‘१२ गाउँ’ लाई दिएका थिए । बिस्तारै ‘१२ गाउँ’ ले पनि देशभरका हलमा छक्कापञ्जाको हाराहारी शो पाउन थालेको छ । र, दीपकराजले पनि आफ्नो हलमा ‘१२ गाउँ’ को शो बढाएर छक्कापञ्जा बराबर पुर्‍याएका छन् । आजबाट दुवै चलचित्र ५-५ शो चल्नेछन् । अन्य चलचित्रका ३ शो कटौति गरेर दीपकराजले १२ गाउँलाई थपिदिएका हुन् ।

उनलाई सोधियो, ‘१२ गाउँ हेर्ने दर्शकको चाप बढेर शो थप्न बाध्य हुनुभएको हो ?’

दीपकराज भन्छन्, ‘अहिले मेरो हलमा छक्का पञ्जा र १२ गाउँ दुवै हाउसफुल छन् । मैले आफ्ना दर्शक किन फर्काउनु भनेर छक्कापञ्जालाई नै शो थप्न पनि सक्थेँ । तर, हल सञ्चालकको रूपमा मैले आफ्नो र अर्काको भनेर भेदभाव गर्नु हुँदैन भन्ने दृष्टिकोण राखेँ । कुनै पनि नेपाली चलचित्रले व्यापार गर्दा म खुशी हुन्छु ।’

तपाईंलाई १२ गाउँका समर्थकले निकै खेदिरहेको बेला यो फिल्मलाई स्थान नदिउँ भन्ने दिमागमा आएन ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएः

‘त्यस्तो सोचाइ बिल्कुल आएन । म एकदमै धेरै आध्यात्मवादी छु । बैगुनीलाई गुनले जित्नुपर्छ भन्ने मेरो मान्यता छ । मेरो चलचित्रलाई पनि दर्शकले माया गर्नुभएको छ । १२ गाउँलाई पनि माया गर्नुभएको छ । सामाजिक सञ्जालमा जसले जेजे लेख्नुभए पनि म कसैप्रति पूर्वाग्रह राख्दिनँ । मैले आफ्नो चलचित्र मात्र चलाउनलाई हल बनाएको पनि होइन । सबै चलचित्रले दर्शकको मागअनुसार पर्याप्त शो पाउनुपर्छ र मेरो हलमा पनि पाउँछन् ।’

केही चलचित्रकर्मीले दीपकराजको यो निर्णयको प्रशंसा गरेका छन् । निर्माता रोहित अधिकारीले फेसबुकमा स्टाटस लेख्दै दीपकराजले इमान्दारिता प्रस्तुत भएको बताएका छन् ।

उनी लेख्छन्, ‘दीपकराज गिरी कति इमान्दार मान्छे हुन् भन्ने कुरा १२ गाउँ ले उनकै हलमा पाएको शोले प्रमाणित गर्छ । हामीले देखेकै हो, पहिला केही हलवालाहरूले आफूले बनाएको फिल्मको शो दर्शक नआएर क्यान्सिल हुँदासमेत आफ्नो हलमा शो कसरी कब्जा गर्थे । तर, दीपक दाइले छक्का पञ्जाको यस्तो मारामार व्यापार हुँदा पनि आफ्नो फिल्म जत्तिकै शोज दिनुभएछ ।’

निर्देशक दीपेन्द्र के खनालले आफ्नै हलमा सँगै आएको चलचित्रलाई बराबरको शो उपलब्ध गराउनु नै नेपाली चलचित्र जसको भए पनि मर्न हुन्न भन्ने प्रमाण भएको बताएका छन् ।

‘नेपाली चलचित्र चलेका छन्, विदेशी पाखा लागेका छन् । यो समग्र चलचित्रकर्मीको जित हो । त्यसैले मन ठूलो गरेर एक अर्काको सफलतामा उत्सव मनाऔं,’ उनले लेखेका छन् ।

स्मरणीय छ कि नेपालमा पहिलोपटक फिल्मको आम्दानीबाट ५० प्रतिशत शेयर निरन्तर चलचित्र निर्माताले पाउने परिपाटी पहिलोपटक दीपकराजले आफ्नो हलबाट सुरू गरेका थिए ।

Comments

One response to “दीपकराजले आफ्नै हलमा ‘१२ गाउँ’ लाई दिए ‘छक्का पञ्जा ५’ बराबर शो, व्यापार कि सन्देश ?”

  1. Sita Ram Avatar
    Sita Ram

    भेद्भाभ नगर्ने हुँदो हो त शुरुमै बराबर दिन पर्थ्यो… अब “दिने पर्ने” अवस्था आएसी नदिएर के गर्नु??? यसमा कुनै दया माया र उदारता केहि हैन…. ब्यबसायीक लाभ हो…जे हो तेही लेखिनु पर्छा .. जे देखियो तेही भनिनु पर्छा..

Leave a Reply

Your email address will not be published. Required fields are marked *