कैलाली । कञ्चनपुरमा वयस्क हात्ती मरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा हात्ती मरेको अवस्थामा फेला परेको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्ज र नेपाली सेनाको गस्ती टोलीले दिउँसो १ः३० बजे हात्ती चौरमा मरेर ढलेको अवस्थामा फेला परेको निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए ।
‘सुरुमा गर्भवती भएको आशंका थियो । बच्चा जन्माउन नसकेर मरेको हो कि भन्ने लागेको थियो तर, पशु चिकित्सकहरूले हात्ती गर्भवती नभएको बताएका छन्’, उनले भने । उनले चोरी शिकारीका कारण हात्ती मारिएको कुनै तथ्य फेला नपरेको बताए ।
‘बस्तीभन्दा ४्५ किलोमिटर टाढा हात्ती मरेको भेटिएको छ । शरीरमा पनि घाउ चोट छैन त्यसैले हात्ती मारिएको हो भन्न सकिने अवस्था छैन’, उनले भने । प्राकृतिक ढंगले हात्तीको मृत्यु भएको हुन सक्ने उनले बताए ।
‘हामीले हात्ती मृत फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ’, उनले भने, ‘निकुञ्ज, पशु चिकित्सकसहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’

जेसिबीले खाल्डो खनेर सेतो लुगाले ओढाएर अबिर लगाएर दाहसंस्कार गर्ने तयारी भइरहेको उनले बताए ।
हिजो नै हात्ती मरेको हुन सक्ने आशंका गरिएको छ । तर, अझै प्रष्ट के कारणले हात्ती मरेको हो भन्ने पत्ता लागेको छैन’, सूचना अधिकारी ऐरले भने, ‘मुटु ,कलेजो ,फोक्सो चिरेर पशु चिकित्सकहरूले हेर्दै हुनुहुन्छ त्यसपछि मात्रै हात्ती मर्नुको कारण पत्ता लाग्छ ।’

Leave a Reply