भुटानमा पूर्वराजा ज्ञानेन्द्रलाई न्यानो आतिथ्य, राजपरिवारसँग भेटवार्ता जारी

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँको राजपरिवारबाट न्यानो आतिथ्य पाएका छन् । भुटानी राजपरिवारका सदस्यहरुसँग पूर्वराजाको भेटवार्ता जारी रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई वातावरण संरक्षण क्षेत्रका शिखर व्यक्तित्वको हैसियतमा भुटान आमन्त्रण गरिएको हो । अधिराजकुमार छँदा उनी श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषका अध्यक्ष थिए र वातावरण संरक्षणका क्षेत्रमा थुप्रै पहलहरु गरेका थिए । भुटान सरकारले हालै ‘भुटान नवप्रवर्तन वृहत् अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गरेको छ । यही सन्दर्भमा पूर्वराजालाई भुटानी राजाले निम्ता गरेका हुन् ।

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरबाट पूर्वराजा ज्ञानेन्द्र हिजो भुटानको राजधानी थिम्पुमा रहेको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । उनलाई भुटानी राजकुमारी पेमा ल्हादेन वाङ्चुकले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् । पूर्वराजाको स्वागतमा बिमानसम्म रेड कार्पेट ओछ्याइएको थियो ।

विमानस्थलबाट राजकीय अतिथिगृह पुर्‍याइयो, जहाँ शाही धर्मगुरूहरुले अभिषेक र आशीर्वचन प्रदान गरे । सो पश्चात पूर्वराजा विभिन्न भेटघाटहरुमा व्यस्त छन् । उनले भुटानका बडामहाराज (हालका राजाका पिता) जिग्मे सिग्मे वाङचुकसँग भेटवार्तां गरे । डेचेन छोलिङ राजाप्रसादमा सो भेटवार्ता भएको छ । उनीहरु दुवै दार्जिलिङको सेन्ट जोसेफ कलेजका सहपाठी थिए ।

यसैगरि, भुटानी मुमा बडामहारानीसँग पनि पूर्वराजाले भेट गरेका छन् । भेटमा पूर्वराजा ज्ञानेन्द्रसँगै छोरी प्रेरणा र भतिजी सिताष्मा समेत सहभागी थिए । नेपाली राजकीय प्रतिनिधीमण्डललाई थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ योजनाको अवलोकन गराइने छ ।

भारतसँग सीमा जोडिएको गलेपू योजनावद्ध शहर २५०० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ, जून क्षेत्रफलका आधारमा सिंगापुरभन्दा पनि ठूलो रहेको छ ।

३५ वटा नदी मिसिएर बनेको मानस नदीको घाटी क्षेत्रमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ लाई भूटानी राजा जिग्मे खेसर वाङचुकको परिकल्पना अनुसार विकास गरिन लागेको हो ।

आर्थिक र सूचना प्रविधि केन्द्रको रूपमा विकास गरिने यस शहरका अधिकांश भौतिक संरचना पूलहरूमाथि निर्माण गरिने लक्ष्य राखिएको छ । सभागृह, अस्पताल, विद्यालय, डिपार्टमेन्ट स्टोर, होटेल, बजार, सफ्टवेयर कम्पनी आदि समेत पूलहरू माथि नै बनाइने परिकल्पना गरिएको छ । यो विश्वकै पहिलो बाढी–पहिरोरहित आधुनिक शहरीकरण आयोजना हुनेछ ।

भुटानले ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’लाई विशेष प्रशासकीय क्षेत्र घोषणा गरिसकेको छ, जसका प्रमूख नेपाली मूलका भूटानी नागरिक डिएन दाहाल रहेका छन् ।
(सूचना/तस्विरः रमा सिंहको फेसबुक)

Comments

One response to “भुटानमा पूर्वराजा ज्ञानेन्द्रलाई न्यानो आतिथ्य, राजपरिवारसँग भेटवार्ता जारी”

  1. Laleek Avatar
    Laleek

    बिगतमा नेपाली भुटानीहरूलाई किन लखेटी नभित्र्याएका भनि सोध्नु हुन्छ होला महाराजाले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *