काठमाडौं । सामाजिक सञ्जालले फैलाउने मिथ्या सूचनाले समाजलाई कसरी भ्रमित तुल्याउँछ ? यसको पछिल्लो जिउँदोजाग्दो उदाहरण बनेको छ पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालय स्वयं ।
प्रचण्ड प्रधानमन्त्री हुँदाका सूचना प्रविधिविज्ञ प्रकाश रायमाझीले फैलाएको भ्रमको शिकार प्रचण्डकै स्वकीय सचिव रमेश मल्लदेखि माओवादीका धेरै नेता र सांसदहरु भए । उनीहरुले वास्तविकता बुझेपछि धमाधम शेयर गरेको पोष्ट डिलिट गरे पनि लाखौं मान्छे भने भ्रमित रहे ।
बुधबार दिउँसैदेखि देशभरका माओवादी कार्यकर्ताहरु तथा शुभेच्छुकले एक साझा कुरा सेयर गरे । त्यो हो ओलीको भन्दा प्रचण्डको फेसबुक फलोअर्स बढेपछि प्रधानमन्त्रीले कार्यालयमा फेसबुक प्रतिनिधि बोलाए । अनि फलोअर्स नदेखिने बनाउन आग्रह गरे ।
यो कुरा भाइरल गर्नमा प्रचण्डको सचिवालयका रमेश मल्लदेखि पहिले रेखा शर्मा सचिवालयमा रहेका नरेन्द्र केसीसम्मले सेयर गरे । अहिले उनीहरुले आफ्नो सेयर डिलिट गरेका छन्, तर माओवादी सांसद र देशभरका नेताले त्यही पोष्ट बोकेर हिँडे ।
माओवादी कार्यकर्ताहरुमा भने अहिले पनि प्रचण्डविरुद्ध ओलीले फेसबुकका प्रतिनिधि बोलाएरै खेल गरे भन्ने परेको छ । धेरैले अझै पनि सेयर गरिरहेका छन्, तर रोचक कुरा यो छ कि फेसबुकले ओलीदेखि ओबामासम्म, प्रचण्डदेखि कमला ह्यारिससम्म सबैको फलोअर्स नदेखिने बनाएको छ ।
व्यक्तिगत खाताका फलोअर्सहरु नदेखाइए तापनि संस्थागत र विभिन्न सञ्चारका पेजहरुको फलोअर्सहरु भने देखाइएको छ । सर्च गर्दा झट्ट देखिने, तर अकाउन्टमा पुग्दा नदेखिने खालको व्यवस्था व्यक्तिगत खातामा लागू गरिएको देखिन्छ ।
यसबारेमा फेसबुकले कुनै सार्वजनिक सूचना दिएको छैन, तर फेसबुकले गरेको यो सामान्य कुरालाई ओलीले गरेको जस्तो प्रोपोगाण्डा भइरहेको छ ।
कसले गर्यो यो प्रोपोगाण्डा ?
प्रकाश रायमाझीले यो प्रोपोगाण्डा सुरु गरेको देखिएको छ । प्रधानमन्त्री प्रचण्ड हुँदा उनले आईटीविज्ञको रुपमा काम गरेका थिए । उनले ओली र प्रचण्डको फेसबुक स्क्रिनसट राखेर लेखेका थिए,
‘बा’ यतिसारो किन डराको ?
आफ्नो फलोअर्स घट्यो भन्दैमा फेसबुकको आधिकारिक प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर फलोअर्स नदेखिने बनाउन निर्देशन दिने काम किन ? प्रधानमन्त्री कार्यालयको सोही निर्देशनबमोजिम फेसबुकले फलोअर्स नै नदेखिने बनाएको विषय गम्भीर छ । आफ्नो क्रेज घट्दै गएपछि यो हदसम्मको कार्य गर्नुले सरकार काम गर्नभन्दा आफ्ना गल्ती कमी-कमजोरी ढाँकछोपमा लागेको पुष्टि हुन्छ । सामाजिक सञ्जाल फेसबुकले यथाशिघ्र फलोअर्स देखाउने बनाओस् ।’

उसो त रायमाझीको यो नै पहिलो विवादित कार्य होइन । उनले यस अगाडि प्रचण्डको सचिवालयमा आईटी विज्ञको रुपमा स्वकीय उपसचिव हुँदा पनि विभिन्न आईटी परियोजनाहरु आफूलाई दिनुपर्ने भनेकोमा विवाद आएको थियो । स्किमा टेक्नोलोजी प्रालिका साहुजी पनि रहेका उनले आफ्नो स्वार्थमा काम गरेको आरोप थियो । त्यसबारेका समाचार धेरै मिडियाहरुमा आइसकेका छन् ।
फेसबुकसँगै काम गरिरहेका सूचना प्रविधि विज्ञ तथा परामर्श दाताहरुका अनुसार कुनै देशको प्रधानमन्त्री वा उनको कार्यालयले बोलाएर दिएको निर्देशनकै आधारमा फेसबुकले कुनै पोष्ट हटाउने वा फलोअर्स बढाउने घटाउँने गर्न सक्दैन । त्यसमाथि नेपालमा फेसबुकको आधिकारिक प्रतिनिधि नै छैनन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डका फलोअर्स लुकाउन लगाएको प्रोपोगाण्डा चलाउनेमा भने मेलम्ची भ्रष्टाचारका आरोपित पूर्व सचिव भीम उपाध्याय समेत संलग्न रहेको पाइएको छ । प्रधानमन्त्री सचिवालयले भने यस्ता हावादारी आरोपहरुको जवाफ दिन नपर्ने भनेको छ । समाजमा कस्ता मान्छेले मिथ्या सूचनाबाट भ्रमित पार्छन् भन्ने पछिल्लो उदाहरण प्रचण्डको फलोअर्स प्रकरण भएको छ ।

Leave a Reply