एलिनाले गरेको तारिफमा शिव परियारको जवाफ- तपाईं हाम्रो शिरमा सजाउन लायक हुनुहुन्छ

काठमाडौं । कुनै बेला लामो समयसम्म चर्किएको विवाद हो, ‘धोकेवाज विवाद’। उस्तै परे अहिले पनि बेलाबेला यो विवादबारे प्रश्न उठिरहन्छ ‘धोकेवाज’ गीत कसको ?

यो प्रश्न विवाद चर्किएको समयदेखि अहिलेसम्म उठिरहन्छ । तर, यो प्रश्नको निष्कर्षमा न त्यति बेला सर्जक र गायक-गायिका पुग्न सकेका थिए न त अहिले नै यसको कुनै निश्चित उत्तर आउँछ । त्यहीँ पनि बेलाबेला यो प्रश्न गायिका एलिना चौहान र गायक शिव परियारलाई अन्तर्वार्ताहरूमा आइरहन्छ । यसपटक पनि त्यस्तै भयो । विवाहपछि अष्ट्रेलिया गएकी गायिका चौहान केही समय अघिमात्र फर्केकी छिन् । केही दिनअघिको उनको ओसो बसाइले चर्चा पायो ।

ओसोबाट फर्किएपछि एलिनालाई एक पडकाष्टमा एलिनालाई ‘धोकेबाज विवाद’ बारे सोधिएको थियो । उनले धोकेबाज विवाद जे जस्तो भएपनि गायक शिव परियारलाई आफूले सदैव सम्मान गर्ने र उनीसँग आफूलाई तुलनै गर्न नमिल्ने बताएकी थिइन् ।

उनले भनेकी थिइन्,‘विवादपछि उहाँसँग मलाई तुलना गरियो । उहाँसँग मलाई तुलनै गर्न मिल्दैन । उहाँ यो क्षेत्रबारे सिकेको, जानेको र बुझेको मान्छे हो । उहाँ साधक हो । उहाँ त मेरो गुरुजस्तो मान्छे हो । उहाँलाई मसँग तुलना गर्नु भनेको म बढ्नु हैन, उहाँलाई घटाउनु हो । म त उहाँको खुट्टामा पनि सुहाउँदिन ।’

उनको यो अभिव्यक्ति सुनेपछि गायक परियारले एलिना आफ्नो शिरमा सजाउन लायक भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्,‘बहिनीले मेरो साङ्गीतिक यात्राप्रति सदासयता र सम्मान व्यक्त गर्दै बोलेको भाव ‘म शिव दाइको खुट्टामा पनि सुहाउँदिन’ भन्ने शब्दले मलाई गाह्रो बनायो । सम्मान व्यक्त गर्दा यो शब्द नबोलेको भए पनि फरक पर्ने थिएन ।’

‘यद्यपि मप्रति सम्मान व्यक्त गर्न बहिनीले बोल्नु भएको समग्र भावप्रति उत्तरमा यही भन्न चाहान्छु कि ‘बहिनी तपाईँ सधैँ हाम्रो शिरमा सजाउन लायक हुनुहुन्छ। र, तपाईँलगायत तपाईँको पुस्ता नेपाली सङ्गीतमा धेरै आशा राखिएको भावी पुस्ता हो । मबाट बहिनी अनि यहाँको सफल संगीत यात्राको आत्मैदेखि शुभकामना छ । सदैव बहिनीप्रति सद्भाव अनि सम्मान छ ।’

उनले आफ्नो स्टाट्समा धोकेबाज गीतको विवाद रहँदाको समयमा पनि आफूलाई एलिनाप्रति कुनै वैरभाव र असम्मान नरहेको र अहिले पनि नभएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *