नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् ।

क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको बताए ।

४ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन रहेको छ । विद्युत खरिद विक्री सम्झौता ९पीपीए० भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका छन् ।

१० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको उनले बताए ।

उनले भने, ‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ । यसको लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानेडिएन लगानीकर्ताहरुलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हाँसिल गर्न आग्रह गर्दछु ।’

नेपालमा विद्युत उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए ।

अहिले भारतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *