न्यूयोर्क । विश्व शेर्पा संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यूयोर्कमा भेट गरी नेपालको हिमाली क्षेत्रका समस्या र शेर्पा समुदायको हितका विषयमा महत्वपूर्ण ४ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
संघले नेपालका शेर्पा गाउँहरूमा स्थानीय भाषामा अध्ययन अध्यापनको नीति भए पनि त्यसको कार्यान्वयन नभएकाले प्राथमिक तहमा शेर्पा भाषाको अध्ययन अध्यापन अनिवार्य गर्न माग गरेको छ ।
ज्ञापनपत्रमा सोलुखुम्बु जिल्लामा पर्ने थामे गाउँको प्राचीन बस्तीमा हिमताल फुटेर क्षतिग्रस्त घरहरूको पुनर्निर्माणको माग गरिएको छ । गाउँको भौगोलिक अवस्थाका कारण पुनर्निर्माण कार्य अत्यधिक महँगो हुने भएकाले नेपाल सरकारले पूर्ण क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्न विशेष सहयोग गर्नुपर्ने संघको माग छ ।
गाउँका वासिन्दाले देशको सीमा सुरक्षामा खेलेको भूमिकाको कदर गर्दै थप सुरक्षा उपाय अवलम्बन गर्न पनि अनुरोध गरिएको छ ।
ज्ञापनपत्रमा पर्वतारोहण पेशामा संलग्न शेर्पा समुदायको न्यूनतम जीवन बीमा रकम १५ लाखलाई बढाएर ३० लाख पुर्याउन, हिमाली क्षेत्रमा दुर्घटनामा परेका शेर्पा परिवारका बालबालिकाको शिक्षादीक्षा र रोजगारीको व्यवस्था गर्न तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा शेर्पा समुदायको योगदानको कदर गर्दै उनीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने माग पनि राखिएका छन् ।
संघले नेपालका बौद्ध धर्मका धार्मिक स्थल, स्तूपा, चैत्य र गुम्बाहरूको अतिक्रमण रोक्न र जीर्ण अवस्थाको संरक्षण तथा पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ । यी स्थलहरू बौद्ध धर्मसँग सम्बन्धित भए तापनि तिनले नेपालको समग्र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याएको उल्लेख गर्दै संघले सरकारलाई तुरुन्त कदम चाल्न आग्रह गरेको छ ।
ज्ञापनपत्रमा संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, महासचिव आङ जाङ्बु शेर्पा, शेर्पा संघ अमेरिका अध्यक्ष पसाङ दोर्जी शेर्पा, शेर्पा किदुग न्यूयोर्कका अध्यक्ष ई. तेम्बा शेर्पा र सचिव पेम्बा गिर्मे शेर्पा लामालगायतका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।


Leave a Reply