स्वस्थ समाज निर्माणको लागि ‘ग्रीन आर्किटेक्चर’

सरकार भएको अनुभूति दिन धेरै गर्नुपर्दैन । सामान्यतः ज्येष्ठ नागरिकलाई दिनुपर्ने प्राथमिक सुविधा दिँदा पनि सरकारको अनुभूति हुनसक्छ । यो कामका लागि संघीय सरकारले नीतिगत व्यवस्था गर्ने हो भने स्थानीय तहले सहजै गर्न सक्छन् । मानवीय जनशक्ति स्वस्थ हुँदामात्र समृद्वि प्राप्त हुनसक्छ । चुस्त दुरूस्त तथा प्रभावकारी जनशक्ति तयार गर्नु राज्यको दायित्व हो । मान्छे समृद्व हुनुको अर्थ सुखी, खुसी, शान्त, आनन्दित र सन्तोष हुनु हो । मानिस जब मानसिक रुपमा अशान्त हुन्छ, त्यतिवेला जतिसुकै औषधि गरे पनि निको हुँदैन । न अस्पतालहरूले बिरामी थेग्न नै सक्छन् । उपचारका लागि अस्पताल अनिवार्य छ, तर सबै समस्याको समाधान अस्पतालले मात्र गर्दैन । प्रारम्भिक उपचारका लागि हामीले गर्नैपर्ने धेरै काम हुन्छन् र पनि गर्न सकेका छैनौं ।

काम गर्न पनि स्वस्थ हुन जरुरी छ । अस्वस्थ व्यक्तिले काम गरेर समृद्वि प्राप्त गर्न सक्दैन । शरीरमा स्फुर्ती आउन स्वस्थ हुनैपर्छ । स्वस्थ व्यक्तिले नै आयआर्जनका लागि श्रम गर्नसक्छ । सीपको प्रयोग गरेर आयआर्जन गर्नसक्छ । सेवा प्रवाहको माध्यमबाट आम्दानी गर्नसक्छ । त्यसैले समृद्विका लागि स्वस्थ हुन आवश्यक छ ।

नेपालको संविधानले स्वास्थ्य र आवासको ग्यारेन्टी गरेको छ । यसको अर्थ सबैलाई जमिन दिएरमात्र हुँदैन । जमिनको साटो किस्ताबन्दीमा सुलभ हिसाबले आवास दिनसक्ने हो भने ज्यादा प्रभावकारी हुनसक्छ । कुरा यति हो कि निश्चित योजना बनाएरमात्र सो उपलब्धि प्राप्त हुनसक्छ । जस्तो कि कुनै रोजगारीमा आवद्ध रहेछ भने न्यूनतम रकम त्यतैबाट प्राप्त हुने अवस्था सृजना गर्न सकिन्छ । स्थायी प्रकृतिको रोजगारी नभएको अवस्थामा वार्षिक न्यूनतम श्रम प्रदान गर्न सकिन्छ ।

निश्चय नै जलवायु परिवर्तनका कारण नयाँखाले प्रकोपका समस्याहरु आएका छन् । धेरै वर्षसम्म पानी कम पर्दा मानिसले सार्वजनिक जमिन, नहर, खोला तथा नदी उकास क्षेत्र तथा किनारमै पनि घर बनाएर बसे । उनीहरुलाई कसैले हुँदैन भनेन, बरु बाटो, बिजुली, टेलिफोन आदि सुविधा प्रदान गरेर प्रोत्साहन गर्ने काम भयो । यसमा कसैले कसैलाई गाली गरेर समस्याको निकास निस्कँदैन । बरु त्यसरी बसेका अव्यवस्थित बस्तीका बासिन्दालाई सुलभ मूल्यमा अपार्टमेन्ट उपलब्ध गराएर व्यवस्थित गर्नेतर्फ सोच्न सकिन्छ । बुटवलमा तिनाउ दानव करिडोरमा बसेकाहरुलाई जग्गा उपलब्ध गराउने कुरा गर्दा त्यो असम्भव भयो, तर जहाँ जग्गा दिने भनिएको छ, सो ठाउँमा व्यवस्थित योजना बनाएर किस्ताबन्दीमा अपार्टमेन्ट उपलब्ध गराउने भनेको भए सहजै जाने थिए ।

मानवीय जनशक्ति स्वस्थ हुँदामात्र समृद्वि प्राप्त हुनसक्छ । चुस्त दुरूस्त तथा प्रभावकारी जनशक्ति तयार गर्नु राज्यको दायित्व हो । मान्छे समृद्व हुनुको अर्थ सुखी, खुसी, शान्त, आनन्दित र सन्तोष हुनु हो ।

कुरा यतिमात्र हैन शहरभित्रै पनि कसैले १२ फिटमा घर बनाएर अव्यवस्थित ढंगले बसेका गरिब तथा सुकुमबासीका लागि पनि शहर बाहिर यसरी नै अपार्टमेन्ट बनाएर स्वेच्छिक रुपले जाने वातावरण बनाउन सकिन्छ । यस प्रक्रियाबाट खाली भएको जमिनलाई पार्कको रुपमा विकास गर्न सकिन्छ । जलवायु परिवर्तनका कारण व्यापक गर्मी बढ्दै गएको छ । यसको नियन्त्रण व्यापक वृक्षरोपण कार्यबाट मात्र सम्भव छ । त्यसैले माथि उल्लेखित अवस्थाबाट निस्केको जग्गामा वृक्षरोपणलाई बढाउन सम्भव छ ।

स्वस्थ समाज निर्माणका लागि अहिले योग, ध्यान तथा बिहानमा दौडने कामले व्यापकता पाएको छ । यो अत्यन्तै सुन्दर पक्ष हो । यसलाई थप विकास गर्न पालिकाले टोल विकासमार्फत थुप्रै काम गर्न सकिन्छ । भनिन्छ, चीनमा टोलका बासिन्दालाई बिहान चाँडो उठ्न र बेलुका सूर्यास्तअगावै हल्का खान प्रोत्साहित गर्नुका साथै बिहान र साँझ दुबै पटक ६ बजेदेखि ९ बजेसम्म पार्कमा घुम्न, भजनकीर्तन र गीतसंगीत गाउन, शारीरिक व्यायामका लागि नाच्न, कुम्फु, कराँते र तेक्वान्दोसमेत सिकाउने गरिन्छ । बुढाबुढीलाई हँसाउने गतिविधि हुन्छ । एक पटक म आफैं पनि यस्तो दृश्य देखेर चकित भएको थिएँ ।

एउटा पालिकाले चाहने हो भने अनेकौं पार्क बनाउन सक्छ । पार्कलाई हरियाली बनाउन वृक्षमात्र हैन, दुबो, अन्य हरियालीयुक्त झार, फलफूल, जडिबुटी लगाउन पनि सकिन्छ । यसले बालबालिका, वृद्ववृद्वा सबैलाई दिने भनेको आनन्द र स्वस्थ वातावरण हो । पहिला ठाउँ-ठाउँमा पोखरी र चौपारी हुने गर्थे । गाईभैंसीले पोखरीको पानी खाने गर्थे । मान्छे चौपारीमा गएर कुरा गर्थे । गर्मीमा सुस्ताउँथे । पोखरीमा कमललगायत विभिन्न प्रजातिका फूलहरु देख्न पाइन्थ्यो ।

तराईमा सिंगडाको खेती हुन्थ्यो । माछाका लागि व्यवसायिक खेती नगरे पनि खासै समस्या थिएन । चराचुरुङ्गीलाई पनि पानीका लागि धेरै दुःख थिएन । जता गए पनि खाइहाल्थे, तर आजभोलि त्यस्तो छैन । स्वाभाविक हिसाबले कुनै पनि चिज पाइँदैन । सडक विस्तार गर्ने नाममा प्रायः सबै चौपारीहरु हटाइए र पोखरीहरु पुरिए । तिनको शोधभर्ना गरिएन । पानी जीवन हो । सौन्दर्यका लागि पनि पानी चाहिन्छ । पानी हुने हो भने हरेक पार्क तथा ठाउँमा वाटर फाउन्टेन राख्न सकिन्छ । जसले सौन्दर्यीकरणमात्र हैन, शीतलताको महसुस पनि गराउँछ । खै त्यो जीवन ? खै त्यो विरुवा हुर्काउने प्रचलन ? वृक्षरोपण त हुन्छ, तर हुर्काउने तरिका र व्यवस्थापन छैन ।

चीनमा टोलका बासिन्दालाई बिहान चाँडो उठ्न र बेलुका सूर्यास्तअगावै हल्का खान प्रोत्साहित गर्नुका साथै बिहान र साँझ दुबै पटक ६ बजेदेखि ९ बजेसम्म पार्कमा घुम्न, भजनकीर्तन र गीतसंगीत गाउन, शारीरिक व्यायामका लागि नाच्न, कुम्फु कराँते र तेक्वान्दोसमेत सिकाउने गरिन्छ । बुढाबुढीलाई हँसाउने गतिविधि हुन्छ ।

हो, पहिला पटक्कै नभएको चाहिँ बालबालिका केन्द्रित खेल मैदान वा पार्क थिएनन् । अहिले बरु समयानुकूल बालबालिकाका लागि अलग्गै चिल्ड्रेन पार्कको व्यवस्था हुनुपर्ने हो । उनीहरुलाई खेल्न, रमाउन आवश्यक सामग्री चाहिने हो । त्यस्ता सार्वजनिक स्थानमा स्वच्छ पिउने पानी र सुविधायुक्त शौचालयको व्यवस्था गर्नुपर्ने हो ।

अब हामीले सोच्नुपर्छ पार्कहरुमा खासगरी वृद्ववृद्वा केन्द्रित पार्कहरुमा स्वच्छ पिउने पानीमात्र हैन, चिया–कफी पिउने र इन्टरनेटको समेत व्यवस्था गर्नुपर्छ । यस्ता कामका लागि अलग्गै जनशक्ति चाहिँदैन । टोल समिति वा समुदायले नै चलाउन सक्छ । यसो गर्दा मान्छेले एक्लिएको अनुभव गर्न पाउँदैन । धेरै चिन्ता गर्ने अवस्था पनि आउँदैन र गुणस्तरीय जीवन बिताउन सक्छ ।

शहर भन्नेबित्तिकै हाम्रो दिमागमा मान्छे नै मान्छेको समूह आउँछ । ठूल्ठूला भवनहरूको दृश्य दिमागमा आउँछ, तर प्रकृति आउँदैन । खुला ठाउँ राख्नुभन्दा सार्वजनिक भवन बनाउनेतर्फ हाम्रो ध्यान जान्छ । अहिले त यस्तो लाग्छ कि ती सबै भवन ढिलोचाँडो खण्डहरमा परिणत हुनेछन् । बरु उद्यानहरु रहे भने तिनको काम आउनेछ । आजभोलि ग्रीन आर्किटेक्चर भन्ने छ, जसले माटो सुहाउँदो भवन निर्माणमा जोड दिन्छ । विश्वका कतिपय स्थानमा माटो सुहाउँदो आर्किटेक्चर डिजाइन गर्ने चलन छ ।

विडम्बना नेपालमा राजस्थानको मार्बल नभई घर नै बन्दैन । हामी प्रकृतिप्रेमी हुन सकिरहेका छैनौं । अर्को कुरा हामी मानिस बस्ने घर बनाउँछौ, तर परेवा, कुकुर, बिरालो, माहुरीलगायत अन्य जीवजनावरबारे सोच्दैनौं । गाउँघरमा परेवा, कुखुरा, हाँस, माहुरी सबै बस्ने ठाउँ बनाइन्थ्यो । अहिले शहरमा घरपालुवा चराचुरुंगीसँगै अन्य चराचुरुंगी र जीवजनावरका लागि बस्ने ठाउँ नै छैन । सायद त्यसकै परिणाम होला पहिले पहिले वर्षामा शंखेकीरा र गड्यौँला कति धेरै देखिन्थे । फट्यांग्राहरू उत्तिकै देखिन्थे । साँझमा झ्याउँकिरी कराउँथे, तर हिजोआज कहाँ गए ? हामीले ग्रीन आर्टिकेक्चरको प्रयोग गर्न छोडेका कारण यस्तो भएको हो कि ?

शहर भन्नेबित्तिकै हाम्रो दिमागमा मान्छे नै मान्छेको समूह आउँछ । ठूल्ठूला भवनहरूको दृश्य दिमागमा आउँछ, तर प्रकृति आउँदैन । खुला ठाउँ राख्नुभन्दा सार्वजनिक भवन बनाउनेतर्फ हाम्रो ध्यान जान्छ । अहिले त यस्तो लाग्छ कि ती सबै भवन ढिलोचाँडो खण्डहरमा परिणत हुनेछन् ।

गत वर्ष एक पटक नेपालगञ्जमा बिहानै मन्दिरमा जाँदै थियौं केही साथीहरुसहित । एक ठाउँमा घर अगाडि सानो सिमेन्टको पोखरी बनाएर पानी राखेको देखें । एक जनालाई यो के हो भनेर सोधें । उनले भने- ‘चराचुरुंगीका लागि घरबाहिर पानी राखिएको हो । ओहो कस्तो राम्रो विचार ! पोखरीहरु सुक्दै गए । कम्तीमा यति भए पनि थरीथरीका चराचुरुंगी आएर पानी त खान पाउने भए जस्तो लाग्यो ।

यी सबै कुरा मानिसको जीवनका लागि, स्वस्थ समाजका लागि अत्यावश्यक नै हुन् । भनिन्छ नि सकारात्मक चिन्तनका लागि सकारात्मक वातावरण चाहिन्छ । सकारात्मक वातावरणका लागि माथि उल्लेखित अवस्था राज्यका निकायले सृजना गरिदिनु पर्छ । स्वस्थ नागरिक निर्माणका लागि ठूला अस्पताल जरुर चाहिन्छ, तर अस्पतालले मात्र स्वस्थ समाज बन्दैन । यो प्रक्रिया धेरै महँगो र खर्चिलो पनि हुन्छ । निजी अस्पतालहरुले बिरामीको संख्या बढाउन खोज्नु स्वाभाविक होला, सरकारले र नेतृत्व तहमा रहेकाहरुले बिरामीको संख्या घटाउने रणनीति र कार्यनीति बनाउन आवश्यक छ ।

प्रायः चिकित्सकहरुले खानपानप्रति बेवास्ता गरेको पाइन्छ । उनीहरु जे खाए पनि हुन्छ भनेर भनिदिने गर्छन् । जबकि खानपानका कारण मानिसको स्वास्थ्यमा धेरै प्रतिकूलता आइरहेका हुन्छन् । बजारमा विज्ञापन गरिने अधिकांश पत्रु खाना स्वास्थ्यका दृष्टिले खराब हुन् भन्ने जानेर पनि तिनको नियन्त्रण गर्न ध्यान दिइँदैन । कृत्रिम स्वादका लागि प्रयोगमा आउने रसायन स्वास्थ्यका दृष्टिले घातक नै हुन्छन् भन्ने कुरा धेरैलाई थाहा नभएको विषय हैन, तर विज्ञापनबाट राज्यले कर असुल्ने भएकोले तिनको नियन्त्रण र नियमनमा खासै चासो दिइँदैन ।

अन्तमा, बुटवल एक शैक्षिक र प्राज्ञिक थलो हो । यहाँको वरपर यति धेरै उद्यान (पार्क)हरु छन् कि नेपालकै सन्दर्भमा यो उद्यानको राजधानी हो । उद्यानमा नियमित आउजाउ गर्नेको संख्या पर्याप्त छ । के हामी उनीहरुको सूक्ष्म अध्ययन गरेर प्रभावकारिताबारे कुनै निष्कर्ष निकाल्न सक्दैनौं ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *