सांसद राजन दाहालमाथि आर्थिक अनियमितता र लेबीमा भ्रष्टाचारको आरोप, पार्टी इन्चार्जले गरे यस्तो सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ माथि आर्थिक अनियमितताको आरोप लागेको छ । सिन्धुली जिल्ला पार्टी कार्यालयको भवन निर्माण गर्दाको आर्थिक अनियमितता गरेको आरोप लागेको हो ।

जिल्ला समन्वय समिति सिन्धुलीको जिल्ला इन्चार्ज बुद्धिमान माझीको अध्यक्षतामा बसेको बैठकले हालसम्म पनि भवन निर्माणको आयव्यय विवरण नबुझाएकाले पार्टी कमिटीमा परिपत्र गरिएको हो ।

इन्चार्ज माझीले पठाएको परिपत्रमा भनिएको छ, ‘जिल्ला पार्टी कार्यालयको भवन निर्माणको आय व्याय प्रस्तुत गर्न यसअघिको जिल्ला समन्वयको निर्णय अनुसार तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य लेखनाथ दाहाललाई बारम्बार अनुरोध र ताकेता गरियो । भवन निर्माण कार्यक्रको क्रममा पनि खाता सञ्चालक गणेश रत्नलाई कार्यालयमा बोलाएर आयव्यय प्रस्तुत गर्न आग्रह गरियो, सुनुवाइ भएन । गणेश रत्नको भनाइको आधारमा भवन निर्माणबाट बाँकी रकम करिब ४०-४५ लाख जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ । हालसम्म भवन निर्माको आय व्याय पार्टी कमिटीलाई प्राप्त भएको छैन ।’

जनसेवा फाउन्डेसनकी अध्यक्ष दीपा बोहरा दाहाल राजन दाहालकी श्रीमती हुन् । दीपा सुनकोशी गाउँपालिका अध्यक्षसमेत हुन् ।

कमलामाई नगरपालिका-६ स्थित २ मा ७० लाख हाराहारीमा १२ धुर जग्गा किनेर भवन बनाइएको छ । स्थानीय व्यापारीले रड, सिमेन्ट, गिट्टी, बालुवा सहयोग गरेको उक्त भवनमा ज्यामीको ज्यालाका लागि संकलित रकम र भएगरेको खर्चको हिसाब सार्वजिनक गर्न गत वर्ष पनि आवाज उठेको थियो ।

पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको उक्त भवन निर्माणमा दुई करोड बढी खर्च लागेको अनुमान छ । चार तले उक्त भवनमा १४ वटा कोठा, एउटा हल र एक किचन छ । भवन बनाइसकेको दुई वर्ष बित्न लाग्दासम्म आम्दानी खर्च विवरण सार्वजनिक गर्न आलटाल गरेपछि नेता कार्यकर्ताले दाहालको आलोचना गरिरहेका छन् ।

दाहालमाथि पार्टी इन्चार्ज नहुँदा पनि सिन्धुलीमा आफूखुसी समानान्तर कमिटी चलाएको आरोप छ । दाहालले इन्चार्जसँग परामर्शविना आफू अहिले इन्चार्ज नहुँदा पनि आफूखुसी बैठक राखेर लेवि समेत उठाउने गरेको बताइन्छ ।

बैठकले पार्टीका संगठित सदस्यता विवरण र लेबी बुझाउन यसअघि जिल्ला पार्टीको बैठकले गरेको परिपत्र अनुसार लेबी प्राप्त नभएकाले आगामी भदौं मसान्तभित्र बुझाउन कडाइ निर्देशन समेत दिएको छ ।

यसअघि पनि माओवादीले चलाएको जनतासँग माओवादी कार्यक्रममा पनि जिल्ला इन्चार्ज महेश्वर दाहालसँगको टकरावको कारणले भाँडभोलो गरेका थिए । दाहाल गएको निर्वाचनमा उपमहासचिव हरिबोल गजुरेलको फिक्स भएको टिकट फुत्काएर सिन्धुलीबाट निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस्-

 

Comments

2 responses to “सांसद राजन दाहालमाथि आर्थिक अनियमितता र लेबीमा भ्रष्टाचारको आरोप, पार्टी इन्चार्जले गरे यस्तो सर्कुलर”

  1. bharat kumar thapa Avatar

    यी लेखनाथ दाहाल उर्फ राजन दाहाल अपराधी मानसिकताको प्रतीक हुन

    1. Samir Avatar
      Samir

      सबै माओवादी त्यही हुन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *