जसपा नेपालले केन्द्रीय सदस्यलाई संगठन निर्माणमा खटायो, अभियान चार महिनासम्म चल्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई अभियानमा खटाएको छ ।

चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेताहरूलाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको नेता पूर्ण बस्नेतले बताए।

पार्टीका दुई सय पन्ध्र केन्द्रीय सदस्यलाई देशभरिका विभिन्न पालिका समितिको अभियन्ताको रूपमा खटाएको उनले बताए।

उनले भने, ‘सबै स्थानीय तहअन्तर्गतका टोल, बुध, वडा, गाउँ नगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्र स्तरसम्म सङ्गठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ । अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने छ ।’

उनका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई अभियानको अनुगमनका लागि खटाइनेछ। तोकिएका अभियन्ताहरूलाई प्रदेशस्तरीय अभिमुखीकरणको आयोजना गरिने भएको छ ।

जसअनुसार विराटनगरमा भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौंमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भाद्र २५ गते र टिकापुर धनगढीमा भदौ २५ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुनेछ।

अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्यहरू, अभियन्ताहरू, केन्द्रीय निकाय, विभागका प्रमुख तथा सदस्यहरू, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधिहरू तथा जनसंगठनका पदाधिकारीहरु सहभागी हुनेछन् ।

सो अभियान आगामी भदौ महिनादेखि सुरु भई मंसिर मसान्तसम्म अभियान सञ्चालन हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *