भारत नाघेर नेपाल प्रवेश गर्न खोज्दै बंगलादेशी शरणार्थी

विराटनगर । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न प्रयासरत देखिएका छन् । भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । तीमध्ये केहीलाई प्रहरीले फिर्ता पठाएको छ ।

बंगलादेशमा हिंसा बढेसँगै कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा अवस्था कडा पारिएको छ । सुरक्षा अवस्था कडा पारिएकाले नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक सीमाबाटै फिर्ता भएको प्रहरीको दाबी छ । बंगलादेशमा चुलिएको राजनीतिक संकट र हिंसाका कारण देश छाडेका बंगलादेशीहरू नेपाल समेत प्रवेश गर्न खोजेका छन् ।

नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ । फिर्ता पठाइएकामा एक पुरुष र एक जना वृद्धा महिला छन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई फिर्ता सीमा नाकाबाट फिर्ता पठाइएको पठाइएको हो ।

उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेको भट्टराईले बताए । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेको थियो । त्यसपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाइएको हो ।

यसअघि पनि जोगवनीबाट नेपाल प्रवेश गर्न खोजेका २ जनालाई प्रहरीले फिर्ता पठाएको थियो । प्रहरीका अनुसार बंगलादेश टाङगाई पूरा बरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो ।

बंगलादेशी नागरिक प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । मोरङको रानी नाकमा मात्रै नभई काँकडभिट्टा नाकामा पनि सतर्कता अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनले झापामा अहिले सम्म नेपाल प्रवेश गर्ने बंगलादेशी नागरिक फेला नपरेको बताए ।

Comments

2 responses to “भारत नाघेर नेपाल प्रवेश गर्न खोज्दै बंगलादेशी शरणार्थी”

  1. bharat kumar thapa Avatar

    शरणार्थीलाई जुनदेशमा प्रवेश भए त्यहीँ बस्ने बाताबरण बनाउनुपर्छ बंगलादेशका शरणार्थी भारतमा रहनुपर्छ भारतले शरण दिनुपर्छ शरण माग गरेर आए नेपालले पनि दिनुपर्नेछ

  2. bharat kumar thapa Avatar

    बंगलादेशी शरणार्थीलाई शरण दिने काम पहिलो प्रबेश गरेको देश जुन हो त्यो अन्तर्राष्ट्रिय कानुन अनुसार जो कोहीलाई शरण दिनुपर्नेछ जसअनुसार नेपाल प्रवेश गर्न खोज्ने सबै भारत हुँदै नेपाल आउने हुन हवाई मार्गबाट आए नेपाल बाध्य रहन्छ स्थल मार्गबाट आउनेलाई भारतले दिनुपर्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *