काठमाडौं । पशुपतिमा जारी कोटीहोममा पहिलोपटक दलित समुदायका व्यक्ति व्यासासनमा बसेसँगै सामाजिक सञ्जालमा खुशीको लहर दौडियो । गत शुक्रबार आचार्य कृष्ण दमाईले र शनिबार लेखबहादुर विश्वकर्माले व्यासमा उक्लिएर संक्षिप्त मन्तव्यसमेत दिएका थिए ।
यति ठूलो धार्मिक अनुष्ठानमा दलित समुदायले यो स्थान पाउनुलाई धेरैले छुवाछुतविरोधी अभियानको एउटा कोसेढुंगा मानिरहेका छन् । हिन्दू धर्मले छुवाछूतलाई प्रश्रय दिन्छ भन्ने भाष्यलाई यो घटनाले तोडेको पनि उनीहरूको भनाइ छ । कतिपयले चाहीँ दलित समुदायको व्यक्ति आचार्य अध्ययन गरेर प्रवचन दिदैँमा यसरी खुसी हुनुपर्ने र उत्सव मनाउनुनपर्ने तर्क पनि गरेका छन् ।
मुलत: दलित समुदायभित्र ठूलै बहस छेडिएको छ । हामीले यो समुदायभित्रका केही हस्तीहरूसँग उनीहरुको विचार जान्ने प्रयास गरेका छौं ।
दलित मुक्ति आन्दोलनको ऐतिहासिक दिन होः अभियन्ता डा. मित्र परियार
दलित अधिकारकर्मी डा. मित्र परियारले पशुपति क्षेत्रमा आयोजित कोटीहोममा आचार्य कृष्ण परियारले प्रवचन गरेको साउन २४ गतेको दिनलाई दलित मुक्ति आन्दोलनको ऐतिहासिक दिनका रूपमा परिभाषित गरेका छन् । यो धार्मिक सुधारको पहिलो र महत्वपूर्ण कदम भएको र यसलाई स्वीकार्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।

परियारले भने, ‘२०८१ साउन २४ गते नेपालको दलित आन्दोलनमा ऐतिहासिक दिन हो । जातीय दमन रोक्ने क्रमको सुरूवात भएको छ । पशुपतिमा लागिरहेको एक महिने कोटी होममा आचार्य कृष्ण दमाईलाई सम्मान गरिएको छ । छोटो भए पनि प्रवचन दिनुभएको छ । नेपालको धार्मिक इतिहासमा शूद्रले ड्यासमा बसेर प्रवचन दिनु भनेको अभुतपूर्व कर्म हो । जातीय विभेदको मूल स्रोत नै धर्म, संस्कृति र परम्परा हो । धार्मिक सुधार नगरेर जातीय विभेद अन्त्य हुन सक्दैन । यो धार्मिक सुधारको पहिलो र महत्वपूर्ण कदम हो भनेर स्वीकार्दै अघि बढ्नुपर्छ ।’
सकारात्मक परिवर्तनको सुरूवात होः गायक शिव परियार
चर्चित गायक शिव परियारले पनि आचार्य शिक्षाको ज्योतिको उज्यालोले बनिने रहेछ भन्ने एउटा बैदिक सत्यलाई स्थापित गराउँने व्यक्ति भएको बताए । समस्या र विभेद धेरै क्षेत्रमा भए पनि राजनितिक आधिकार स्थापित हुन बाँकी नै रहेको र अब सबै क्षेत्र र बाटोबाट समाज परिवर्तन हुन् बाध्य हुने उनको भनाई छ ।

उनले भनेः
कृष्ण दमाई संस्कृत विषय अध्यन गरेर आचार्य बनेका हुन् । कर्मले ब्राह्मण बनेका हुन् । आचार्य भनेको जन्मिदै हुने कुरा होइन । जन्मिदै आचार्य पगरी भिरेकाको सत्य उजागर गर्ने एक वैदिक विद्वान हुन् । यो शिक्षाको ज्योतिको उज्यालोले बनिने रहेछ भन्ने एउटा वैदिक सत्यलाई स्थापित गराउने व्यक्ति हुन् । यो घटनाले अब बाहुन र ब्राह्मणबीचमा आकाश पातालको फरक छ भन्ने कुरा व्यवहरिक रूपमा सोच्न बाध्य बनाएको छ ।
वैदिक जगतमा यो सकारात्मक परिवर्तनको सुरूवात हो र यसलाई सकारात्मक रूपले सोच्नुपर्छ । यसलाई सुरूवात मान्नुपर्दछ र सकारात्मकरूपमा लिनुपर्दछ । समस्या र विभेद धेरै क्षेत्रमा होला । राजनीतिक आधिकार स्थापित हुन बाँकी नै छ । सबै क्षेत्र र बाटोबाट समाज परिवर्तन हुन् बाध्य हुने छ । तर, यस्ता कुरालाई हरेक बखत नकारात्मक टिप्पणी नै मात्र गर्नु हुन्न ।
सांस्कृतिक विभेद रोक्ने एउटा आयाम होः दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा
ड्यासमा राखेर प्रवचन गराउनु स्वागतयोग्य छ । यस्ता कार्यक्रम भइरहनुपर्छ । करिब ३५ सय वर्षदेखिको विभेद, असमानता नेपाली समाजमा छ । यसलाई हटाउनका लागि यस्ता क्रियाकलाप भइरहनुपर्छ ।

सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीमा सरकारको ध्यान जानुपर्छ र सरकारले कानूनी कारबाहीका लागि पहल गर्नुपर्छ । नेपाली समाजमा जातका आधारमा योग्य हुने र अयोग्य हुने कुराले ६० लाख दलित समुदायलाई असर परेको छ । यसको असर बहुआयामिक क्षेत्रमा परेकोले यसको उपचार पनि बहुआमिक तरिकाले हुनुपर्छ । सांस्कृतिक रूपमा भएकाले सांस्कृतिक उपचारको एउटा प्रक्रिया हो । त्यो बाहेक अन्य उपचारका क्षेत्र अन्य उपचारको प्रक्रिया अपनाउनुपर्छ । एउटै कुराले एकजना ड्यासमा बसेर गरेको प्रवचनले विभेद हट्ने होइन, अनेकौ आयाममध्ये सास्कृतिक रूपमा सुरू गर्नका लागि आयोजकले गरेको यो पहल कदमी प्रशंसनीय छ ।
संकीर्ण समाजलाई सन्देश दिने काम गरेको छः फेडो संस्थापक अध्यक्ष दुर्गा सोब
दलित समुदायको व्यक्तिले पशुपति क्षेत्रमा आयोजित कोटीहोमको ड्यासमा बसेर प्रवचन दिनुले संकीर्ण समाजलाई सन्देश दिने काम गरेको दलित महिला संघ (फेडो) का संस्थापक अध्यक्ष दुर्गा सोवले बताइन् । यसले सांस्कृतिक रूपमा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको धारणा छ ।

उनले भनिन्
यसले एउटा सकारात्मक सन्देश दिएको छ । कथावाचकको रूपमा हुनु भनेको ठूलो चुनौती र सन्देश पनि दिएको छ । फेरि कथावाचक भयो भन्दैमा ठूलै क्रान्ति हो, विभेद अन्त्य गरिहाल्छ भन्ने पनि होइन । संकीर्ण समाजलाई सन्देश दिने काम भने गरेको छ । यसरी नै सांस्कृतिकरूपमा अघि बढ्ने हो भने विभेद अन्त्यमा र समाज रुपान्तरणमा ठूलो भूमिका निर्वाह गर्दछ ।
दलितले गरेको हुनाले के के न भयो भन्ने पनि होइन । दलित समुदायले बजाउने पञ्चेबाजा गैरदलितले बजाएर जीविकोपार्जन गरिरहेका छन् । उनीहरूले गर्दा त दलित समुदायले केही भनेको छैन । तर, एउटा दलित समुदायको व्यक्तिले आचार्य पढेर कथावाचन गर्दा के-के न भयो भन्ने पनि सोच्नुहुँदैन । यसले दलित समुदायले शिक्षा पायो भने ब्राम्हणले गर्ने आचार्यको काम दलितले पनि गर्न सक्छ भन्ने प्रमाण हो ।
यसबाट समाज परिवर्तन सम्भव छैनः अधिकारकर्मी रिता परियार
अधिकारकर्मी रिता परियारले भने पशुपतिमा कृष्ण दमाईको प्रवचन देखावटीपन मात्रै भएको बताइन् । समाजमा यसबाट परिवर्तन सम्भव नभएको उनको भनाई छ ।

उनले भनिन्ः
पशुपतिमा आचार्य कृष्ण दमाईको प्रवचन देखावटीपन मात्रै हो । यसबाट समाज परिवर्तन सम्भव छैन । कोही पनि भ्रममा नपरौ । पशुपतिमा एउटा दमाईलाई बोल्न दिएर उपकार गरे झैं गरी र हिन्दू धर्मको वकालत गराउँदैमा दलित मुक्ति असम्भव छ ।

Leave a Reply