घाटामा रहेको विद्युत प्राधिकरण ९ वर्षभित्रै ४७ अर्ब नाफामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरा ९ वर्ष अघिसम्म सञ्चालन घाटामा थियो । आर्थिक वर्ष २०७२/७३ सम्म ९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणले नौ वर्षको बीचमा ४७ अर्ब नाफा कमाएको छ ।

विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यालयको तीन वर्षे कार्यकाल पूरा भएको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको उनले बताए ।

‘गत आर्थिक वर्षमा मात्रै १३ अर्ब ३१ करोड नाफा कमायो । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा छ’, प्रवन्ध निर्देशक घिसिङले भने, ‘यस अवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको छ ।’

प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी बिजुली निःशुल्क गरिएको छ ।

घिसिङका अनुसार इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्नसक्ने क्षमतामा देखिएको छ ।

आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ थियो । अहिले ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गराएको छ । देशभर रहेको आफ्नो जग्गाको एकिन गरी करिब ४० हजार २०० रोपनी जग्गाको पहिचान भएको प्रवन्ध निर्देशक घिसिङले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले गत वर्षमात्र काठमाडौं उपत्यकाभित्र करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा पाएको छ ।

नेपालले औपचारिक रुपमा विद्युत निर्यात सन् २०२१ नोभेम्बरबाट शुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आवमा १ अर्ब ९४ करोड युनिट विद्युत भारत पठाइएको र त्यसबाट १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको घिसिङले बताए ।

Comments

2 responses to “घाटामा रहेको विद्युत प्राधिकरण ९ वर्षभित्रै ४७ अर्ब नाफामा”

  1. च व शाहि Avatar

    हामिले सम्मान गर्ने भनेको कुलमान ज्यु सहित केही अन्य देशभक्त हरुले छर्लङ्ग देखिने गरि देशहित मा गर्नु भएको निस्वार्थ कामका लागि हाे ।यस्तै देश सेवक हरु जाे काेहि काे हामी सम्मान गर्न सदा तत्पर रहने मा विश्वश्त रहने छाै। जय नेपाल ।

  2. MIN BAHADUR MANANDHAR Avatar
    MIN BAHADUR MANANDHAR

    बाले को बत्ति को शुल्क यूनीट को आधार मा आइ सकेपछी
    फेरि सर्भिस चार्ज
    भनेर सर्ब साधारण लाई लगाइ दिय पछि नाफा हुदैन त
    अनि तलब
    भत्ता
    कमिशन
    %
    पाइलै पिच्छे लियर पनि यति बचेको यो थोरै हो जम्मा गरे को आधार मा अझै धेरै हुनुपर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *