काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी सञ्चारकर्मी ज्वाला संग्रौलाको सार्वजनिक रुपमै चरित्रहत्या गरेका छन् । उनले युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि आपत्तिजनक लाञ्छना लगाएका हुन् ।
केही समयअघि कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै एउटा फेक न्यूज भाइरल बनाइएको थियो । ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए । पछि फ्याक्ट चेकमा कान्तिपुरले यस्तो शीर्षकमा समाचार कहिल्यै नछापेको प्रमाणित भइसकेको छ ।

त्यही फेक न्यूजलाई आधार बनाएर हालै दुर्गा प्रसाईंले युट्युब च्यानललाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा उनले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए ।
दुर्गा प्रसाईंले ज्वालालाई बदनाम गर्न खोज्नुको कारण हो, उनले सामाजिक सञ्जालमा राखेको एउटा भिडिओ । गत शुक्रबार ज्वालाले राखेको भिडिओ हालै दुर्गा प्रसाईंले दुबईमा मृत्युदण्डबाट जोगाएर नेपाल फर्काएको भनिएका युवक पहलमान थापाका आफन्तको प्रेस पत्रकार सम्मेलनको थियो । ती युवकले पत्रकार सम्मेलन गर्दै आफ्नो जीवन रक्षामा दुर्गाले एक रुपैयाँ पनि सहयोग नगरेको बताएका थिए ।
भिडिओ सेयर गर्दै ज्वालाले लेखेकी छन्, ‘दुर्गा प्रसाईं दाइले आफूले उद्धार गरेको भनेर फेसबुकतिर बधाई खाँदै गरेको देखेकी थिएँ, तर उद्धारकर्ता अर्कै रहेछन् । बिचरा जो वास्तविक उद्धारकर्ता छन्, तिनलाई दुर्गा दाइको झूटो अभिव्यक्तिले कति असर पुगेको रहेछ ! समाज सेवाको नाममा भाइरल हुन जे पनि नगर न हो साथीहरु ।’
पहलमान थापालाई आफूले उद्धार गरेको भन्दै प्रसाईं उनलाई स्वागत गर्न विमानस्थल गएका थिए । त्यहाँ युट्युबरहरुलाई अन्तर्वार्ता दिएर दुर्गाले आफैंले ब्लड मनी जुटाइदिएर पहलमानलाई जोगाएको दाबी गरे, तर भोलिपल्टै पहलमानको उद्धारमा संलग्न व्यक्तिहरुले पत्रकार सम्मेलन गर्दै प्रसाईंको आलोचना गरे । प्रसाईंले एक रुपैयाँ पनि सहयोग नगरेको उनीहरुको दाबी छ ।
यसपश्चात युट्युबरहर फेरि बुम बोकेर दुर्गा प्रसाईंकहाँ पुगे । उनलाई सोधियो– तपाईंले त झूट बोल्नुभएको रहेछ नि ? जवाफमा उनले आफैं पैसा नदिएको तर, पैसा जुटाउन पहल गरेको बताए । त्यही क्रममा उनले ज्वालाप्रति भँडास निकालेका थिए ।
उनले बोलेका शब्दहरु यस्ता छन् :
‘जब हामीले भिडिओ बनाएर अपिल गरिसकेपछि पैसा जम्मा भइसकेपछि व्युँझिएका होइनन् यिनीहरु ? कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भका छन् । जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन् । आखिरमा फेसबुकमा जुन आको छ नि, त्यसमा गाली कसलाई गरेको छ ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन । मैले लाश ल्याउँदा सुन ल्याएँ रे ! जेलमा बसेको त्या भाइहरुलाई उतै मर्न दिनुपर्ने रछ नि ! अब गर्ने कि नगर्ने ? तिनीले गरुन् । त्यही जापानमा वेश्यावृत्ति गर्नेले गरुन् नि ! अर्कालाई केटी मिलाइदिने, अनि आफू पनि वेश्यावृत्ति गर्ने, रातभरि सात जनासँग चर्ने । त्यसले गर्नु नि ! फेसबुकमा लेख्न जानें भनेर हालिछे । यस्ता छन् नयाँ पार्टीका मेम्बर । त्यसको शाखा सन्तानै त्यस्तो हो क्या ! आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने ।’
प्रसाईंको अभिव्यक्तिको संग्रौलाले तत्काल फेसबुकबाट प्रतिवाद गरेकी थिइन् । लामो स्टाटस लेख्दै उनले प्रसाईंमाथि कानूनी कारबाहीको माग गरेकी छन् ।
उनी लेख्छिन्, ‘धेरैको लागि सहयोग गरियो, दुःख गरियो, अन्याय अत्याचारविरुद्द बोलियो, तर अन्त्यमा सामाजिक सञ्जाल चलाउने केही दानवीय प्रवृत्तिका मान्छेहरुले मलाई ‘वेश्या’ भनेर फेसबुकभरि फेक एडिट गरिएको कान्तिपुर कुदाएर बदनाम गर्ने कोसिस गरे । यो कुरा चारपाँच वर्षअघिकै हो । म जापान रहँदा केही व्यक्तिहरुसँग वैचारिक ठाकठुक परेको थियो । विचारलाई विचारले नै जित्न सकिन्थ्यो, तर वैचारिक बहस गर्न नसक्नेहरुले कान्तिपुरले छापे जस्तै दुरुस्त फोटो र केही अक्षर नचिनिने गरी फेक एडिट गरेर ‘समाजसेवी भनिने ज्वाला संग्रौला वेश्यावृत्तिमा सम्लग्न’ भनेर एडिट गर्दै सञ्जालभरि घुमाए र मलाई ‘जापान काण्ड’ भन्दै जताततै ट्याग मेन्सन गरेर चरित्र हत्या गर्दै मेरो बदनाम गरी मलाई मानसिक रुपमा विक्षिप्त बनाए । उस्तै भए मेरो पनि श्रीशा कार्कीको जस्तै समाचार आउँथ्यो, तर मैले हिम्मत हारिनँ । मैले गलत कुराको विरुद्ध लड्नुपर्छ भन्ने सोचेर नेपाल आएँ । मलाई पत्रिकाले नलेखेको कुरालाई लेखे जस्तै गरेर बदनाम गर्नेहरुको विरुद्ध म साइबर धेरै पटक गएँ, तर प्रहरीले मलाई कुनै दिन सहयोग गरेन । अहिले पनि मेरोबारे यस्तो भ्रम फिजाउन छोडेका छैनन् । चरित्र हत्या गरेर वेश्या बनाउन छोडेका छैनन् । हुँदाहुँदा हिजो दुर्गा प्रसाईंले समेत जापानकी वेश्या, पार्टीकी केन्द्रीय सदस्य, रातभरि चर्ने, अरुलाई पनि केटा मिलाउने भन्दै एउटा युटुबेलाई अन्तर्वार्ता दिएका छन् । यदि नेपाली समाज र नेपालको न्याय ज्युँदै छ भने अराजक दुर्गा प्रसाईंलाई कानूनी रुपमा दण्डित गरेर मलाई न्याय दिन्छ कि अर्को श्रीशा बन्न बाध्य बनाउँछ ? दुर्गा प्रसाईंले के सोचेर कसैकी छोरी-चेलीलाई वेश्या-रण्डी भन्दैछन् ? के उनी महिलाको गर्भबाट जन्मिएका होइनन् ? राज्यले यसको जवाफ खोज्न ढिला नगरोस् !’
अर्को स्टाटसमा उनले दुर्गा प्रसाईंलाई कानूनी कठघरामा उभ्याउने काममा सहयोग गर्न सबैसँग अपिल गरेकी छन् ।
उनले लेखेकी छन्, ‘म कानूनी प्रोसेसमा छु । धेरै मेरा शुभचिन्तकहरुले म्यासेज पठाउनु भएको छ दुर्गा दाइले फोहोर बोलेको भिडियो हेरेर । म मानसिक रुपमा यत्तिको पीडित कहिले पनि भएकी थिइनँ । म कानूनको ढोकामा जाँदै छु । मलाई विश्वास छ, मलाई न्याय मिल्नेछ । छोरी समानकी मान्छे जो टेलिभिजनमा हजारौं पीडित चेलिबेटीको आवाज बन्दै र सपोर्ट गर्दै आएकी छ, उसलाई सरेआम वेश्या, रण्डी भन्दै मानमर्दन गर्दै हिँड्नेलाई यो देशको कानूनले दण्डित गर्नेछ भन्ने कुरामा विश्वस्त छु । दुर्गा दाइलाई यति धेरै छाडा छोडेर अब कानूनले रमिता नहेरोस् ।’
लामो समय जापानमा बसेकी ज्वाला केही वर्षअघि नेपाल फर्केपश्चात सामाजिक अभियन्ताका रुपमा सक्रिय थिइन् । २०७९ साल वैशाखमा उनी राप्रपा प्रवेश गरेकी थिइन् । पछि रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन हुनासाथ राप्रपा त्यागेर रास्वपामा लागिन् । उनलाई गत वर्ष फागुनमा रास्वपाले केन्द्रीय सदस्य बनाएको हो । हाल उनी नारी टेलिभिजनमा ‘माइतीघर’ नामक कार्यक्रम सञ्चालन गर्छिन् । उक्त कार्यक्रममार्फत ज्वालाले महिलामाथि हुने घरेलु हिंसाका थुप्रै घटनालाई उजागर गर्दै आएकी छन् ।

Leave a Reply