केराबारीको त्रिशूली बीचमा देखियो रातो वस्तु, बस भएको आशंकामा पुग्यो उद्धार टोली

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा पर्ने त्रिशूली नदी बीचमा रातो वस्तु देखिएको छ । स्थानीयले नदी बीचमा केही बेरअघि रातो वस्तु देखिएपछि सिमलतालबाट बगाएको बस हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार स्थानीयले बस जस्तो वस्तु नदी बीचमा देखेर प्रहरीलाई खबर गरेकाले त्यतातर्फ प्रहरी टोली पठाइएको छ ।

‘नदी बीचमा रातो रंगको केही वस्तु देखिएको भनेर हामीलाई खबर आएको छ’, उनले नेपाल प्रेससँग भने, ‘ठ्याक्कै बस नै हो भन्नसक्ने अवस्था छैन । प्रहरी टोली त्यसतर्फ जाँदैछ । राति हुँदै गएकाले पानीमा जान सम्भव हुने नहुने भन्न सकिँदैन ।’

आज दिनभर भारतीय उद्धार टोलीसहितको सुरक्षाकर्मीले त्यही आसपासका क्षेत्रमा चुम्बक प्रयोग गरी बसको खोजी गरेका थिए । दुइटा गरी ४० किलोको चुम्बक प्रयोग गरिए पनि केही प्रगति भएन । केही बेरअघि मात्रै खोजी कार्य स्थगित गरिएको थियो ।

भारतीय टोलीले बस खोज्न ल्याएको चुम्बक त्रिशूलीले बगायो

दुइटा चुम्बक प्रयोग गरेको भए पनि त्रिशूलीमा आएको पानीको बहावले एउटा बगाएको छ । प्रहरी प्रमुख एसपी रिमालका अनुसार खोजीमा गएको चुम्बक बगाएको भनेर भारतीय उद्धार टोलीले जानकारी गराएका छन् ।

सात दिनसम्मको खोजी कार्यमा पनि केही प्रगति नभएपछि आज भारतबाट दुइटा गरी ४० किलोको चुम्बक ल्याएर बिहानदेखि गरिएको खोजी कार्यबाट पनि थप केही प्रगति नभएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् ।

Comments

One response to “केराबारीको त्रिशूली बीचमा देखियो रातो वस्तु, बस भएको आशंकामा पुग्यो उद्धार टोली”

  1. dhakaram sapkota Avatar
    dhakaram sapkota

    अब चुम्बक खोज्न अर्को टोली झिकाम लाहुरबाटै

Leave a Reply

Your email address will not be published. Required fields are marked *