न्यूरोड विवादको अन्तर्यः किन फुटपाथ विस्तारको विरोधमा छन् स्थानीयवासी ?

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित न्यूरोडमा दायाँबायाँ डेढ-डेढ मिटर सडक खनेर सिमेन्टको ब्लक लगाइएको छ । एकदुई दिनमै फुटपाथ तयार हुने अवस्थामा छ । त्यही छेउमा २२ नम्बर वडा क्षेत्रभित्र पर्ने नयाँ सडकमा भने स्थानीय पाल टाँगेर बसेका छन् ।

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले गत बुधबार फुटपाथ विस्तारको काम सुरु गरेको थियो । सडकको दायाँबायाँ डोजरले खनिसकेपछि २२ नम्बरस्थित नयाँ सडकमा काम गर्ने महानगरको योजना थियो, तर जति २४ नम्बरमा फुटपाथ बढाउन सजिलो थियो, त्यति २२ नम्बर वडामा सजिलो हुन सकेन । शुक्रबार बिहानदेखि नयाँ सडकको सडकपेटी खन्ने तयारी गरिरहँदा स्थानीय जुर्मुराए । स्थानीय फुटपाथ विस्तारको विरोधमा उत्रिएपछि काम अघि बढ्न सकेन ।

त्यसयता तीन दिनको अन्तरालमा स्थानीय आक्रोशितमात्र छैन, अब कुनै पनि हालतमा फुटपाथ विस्तार गर्न नदिने पक्षमा पुगेका छन् । चाहे मुठभेड नै किन नहोस्, स्थानीय धर्मपथस्थित नेपाल बैंक जाने बाटोमा पाल हालेर बसेका छन् । उनीहरु स्थानीय र जनप्रतिनिधिको सहमतिविना कुनै काम अघि नबढ्ने अड्डी कसेर बसेका छन् ।

वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले सडकमै कुर्सी राखेर वडाको काम गरिरहेका छन् । स्थानीयले धर्ना दिइरहेका छन् । धर्नास्थलको माहोल यस्तो बनेको छ कि त्यहाँ पुगेका जोकोहीले मेयर बालेन शाहको सपोर्टमा केही कुरा गरे कुटाइ खानुपर्ने अवस्था छ । स्थानीय बालेनको नाम पनि सुन्न चाहँदैनन् । उनीहरुले बालेनविरुद्ध आक्रोश पोखिरहेका छन् ।

शुक्रबारदेखि नै प्रहरी र नगर प्रहरी ठूलो मात्रामा परिचालित छन् । आन्दोलित स्थानीयसँग महानगरको तर्फबाट कुनै पनि प्रतिनिधि छलफलमा नआएको दाबी छ । शुक्रबार नगर प्रहरी प्रमुख राजु पाण्डेले स्थानीयसँग छलफलको प्रयास गरे पनि सफल हुन नसकेपछि महानगरबाट कुनै पनि पदाधिकारी देखा नपरेको स्थानीय सतिश महर्जन बताउँछन् ।

आक्रोशित स्थानीयले शुक्रबार मेयर शाहको पुतलासमेत जलाएका थिए । उनीहरुले हिजो पनि दिनभर धर्ना दिएका थिए । उनीहरुको धर्नामा सुरुदेखि नै २२ नम्बर वडाका अध्यक्ष महर्जनले साथ दिइरहेका छन् । उनी पनि फुटपाथ निर्माणको विपक्षमा छन् ।

उनले जबसम्म फुटपाथ विस्तारको काम रोकिँदैन, तबसम्म सडकबाटै वडाको काम गर्ने बताएका छन् । यो विवाद २२ नम्बरमा मात्र नभई २३ नम्बरमा पनि पुगेको छ । २३ नम्बर वडाले पनि फुटपाथ विस्तार गर्न नदिने भएको छ । स्थानीयले सुरुदेखि नै फुटपाथ विस्तार गर्नुहुँदैन भनेर विरोध गर्दै आएका थिए ।

गत मंसिर ८ मा काठमाडौं महानगरले नयाँसडक, धर्मपथ र गंगापथको पेटीको चौडाइ बढाउने र सडकको चौडाइ घटाउने योजना तयार गरी टेन्डर आह्वान गरेको थियो । एक वर्षभित्र सक्नेगरी सीके जेभी कम्पनीले निर्माणका लागि तीन करोड १९ लाख २० हजारमा टेन्डर पाएको थियो ।

सोहीअनुसार गत जेठ ११ गते न्यूरोडमा सडक काट्ने काम भएको थियो । सडक काट्ने काम सुरु गरेलगत्तै स्थानीयले पसल बन्द गराएर फुटपाथको विरोध गरे । स्थानीयको अवरोधकै बीच काम सुरु गरेको कम्पनीको पीच कटर सडक डिभिजन काठमाडौंले जफत ग¥यो । अनुमति नलिई सडक काटेको भन्दै डिभिजनले हस्तक्षेप गरेको थियो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडमा पार्किङ खाली गराएपश्चात त्यहाँको सडक साँघुरो बनाएर सडक पेटी बढाउन खोजेको छ । त्यसैका लागि जेठ १२ दिउँसो करिब १२ बजे डिभिजनको जिम्मामा रहेको न्यूरोड क्षेत्रमा महानगर कर्मचारीले धमाधम सडक काटेका थिए । विनाअनुमति सडक काटिएको भन्दै सडक डिभिजन काठमाडौं कार्यालयले उपकरण नियन्त्रणमा लिई उक्त कार्यमा रोक लगाएको थियो ।

महानगरले आफ्नै बजेटबाट न्यूरोडमा सौन्दर्यकरण गरी फुटपाथ बढाउन लागेको बताएको छ । अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक रहेको न्यूरोड क्षेत्रमा दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ रहेको छ । सो फुटपाथ साढे एक मिटर बढाउन लागिएको छ । ११ मिटर फराकिलो कालोपत्रे सडक सात मिटरमा खुम्च्याउने महानगरको तयारी छ । दुवैतिर डेढ मिटर थप गरी ३.९ मिटरको फुटपाथ बनाउने र आधाआधा मिटर ड्रेनेजका लागि छुट्याइने गरी महानगरले डीपीआर तयार गरेको थियो ।

उक्त योजना पुनः कार्यान्वयन हुन लागेको जानकारी पाएपछि वडा नम्बर २२ का अध्यक्ष महर्जनसहित स्थानीय र व्यवसायीहरुले तत्कालीन भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पत्रमार्फत ध्यानाकर्षण गराएका थिए ।

त्यस क्षेत्रमा गुड्ने सवारीसाधनको तुलनामा सडकको चौडाइ कम भएको हुँदा अहिले नै ट्राफिक जामको समस्या भएको उल्लेख गर्दै सडकको चौडाइ अझ कम गर्दा ट्राफिक जामले भयावह रुप लिने र पछि यसैलाई बहाना बनाइ समग्र नयाँ सडक क्षेत्रमा सवारीसाधनको प्रवेश नै निषेध गर्ने मनसाय राखिएको भन्दै वडाध्यक्ष महर्जनले मन्त्री महासेठलाई पत्र पठाएका थिए ।

सवारीसाधनको प्रवेश संकुचन वा निषेध भएमा यस क्षेत्रमा आवतजावत गर्न नै कठिनाइ हुने तथा स्थानीय जनताको दैनिक जीवन अत्यन्त कष्टकर हुने तर्क वडाध्यक्ष महर्जनको छ । साथै यहाँ रहेको ऐतिहासिक र ठूलो बजारको व्यापार व्यवसाय पनि सुक्न जाने भन्दै उनी व्यापारीको पक्षमा उभिएका छन् ।

वडाध्यक्षले मन्त्रीलाई पत्र लेखेपछि सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकालाई जेठ ३ मा पत्र लेखेको थियो । न्यूरोडमा सडक पेटी फराकिलो पारी सडक चौडाइ घटाउन लागेको सम्बन्धमा गत असोज ४ गतेको पत्रबाट जानकारी आएको जनाउँदै सडक विभागको मापदण्ड विश्लेषण गरेरमात्र सहमति दिन सकिने पत्रमा उल्लेख थियो ।

तर डिभिजन कार्यालयको पत्रको बेवास्ता गर्दै महानगरले न्यूरोडमा एकतर्फी रुपले काम अगाडि बढाएको थियो । डिभिजन कार्यालयले त्यसको केही दिनपछि महानगरले भत्काएको सडक कालोपत्रे गरेपछि विवाद केही साम्य भएको थियो, तर महानगर यतिमै रोकिएन । सडक डिभिजन कार्यालयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हाल्यो । उच्च अदालतले गत आइतबार न्यूरोडको सडक विस्तारको काम नरोक्न अन्तरिम आदेश जारी गर्‍यो ।

उक्त आदेशसँगै महानगरलाई फुटपाथ विस्तार गर्ने बाटो खुलेको थियो । उच्च अदालतले सडक डिभिजन कार्यालयले रोकेको बाटोमा मात्रै फुटपाथ विस्तार गर्न बाटो खोलिदिएको २२ र २३ नम्बरमा फुटपाथ विस्तार गर्न कुनै निर्णय नगरेकाले उक्त सडक चलाउन नपाउने स्थानीयको भनाइ छ ।

किन आक्रोशित छन् स्थानीय ?

फुटपाथ विस्तार गर्ने निर्णय गर्दा स्थानीय र जनप्रतिनिधिसँग छलफल नगरी एकलौटी गरेको आरोप स्थानीयको छ ।

सुरुमा पार्किङ हटाएर फुटपाथ विस्तार गर्न लागेको महानगरले विस्तारै नो भेइकल जोन गर्ने पो हो कि भन्ने डर स्थानीयमा छ । नो भेइकल जोन गरे व्यापारिक हबको व्यापार घट्ने र त्यसको असर व्यापारीलाई मात्र नभई घरधनीलाई पनि पर्नसक्ने भएकाले स्थानीय संशकित भएका हुन् ।

उनीहरु फुटपाथभन्दा सडक ठूलो र फराकिलो हुनुपर्ने पक्षमा छन् । फेरि पनि बाटो विस्तारको नाममा जग्गा माग्ने हो कि भन्ने चिन्ता पनि स्थानीयमा देखिएको छ । गोरेटो बाटो हिँडेका गाउँका मान्छेलाई किन फराकिलो बाटो चाहियो भन्दै उनीहरु आक्रोशित छन् ।

मेयर शाहले आफूले जे भन्यो त्यही हुनुपर्छ भनेर जबरजस्ती लागू गर्न खोज्दा न्यूरोडमा यो स्थिति आएको बताउँछन् स्थानीय सतिश महर्जन ।

‘बालेन शाहले बाटो सानो बनाउन खोजे त्यो प्राक्टिकल छैन । वडाध्यक्ष र स्थानीयसँग समन्वय नै नगरी एकतर्फी ढंगले एकैचोटी डोजर ल्याएर काम गर्न थाल्यो । यस्तोमा त स्थानीयसँग सल्लाह लिएर काम गर्नुपर्छ नि किन कसो हो भनेर, अनि पो बल्ल एउटा निष्कर्षमा पुग्छ’, महर्जनले भने ।

कुनै सल्लाहविना आएर आफुखुसी काम गर्दा यो अवस्था आएको बताउँछन् अर्का स्थानीय सुरेश मानन्धर ।

‘अब स्थानीयले सहमतिमै गए पनि फुटपाथ बढाउनै नदिने भइसक्यो । न्यूरोडमा दुईतर्फीबाट १३ फुट घट्छ । त्यसपछि रोड कत्रो हुन्छ ? उनको भिजन के रहेछ भने अहिले फुटपाथ बढाएर पछि नो भेइकल जोन बनाउने कार्ययोजना रहेछ,’ उनले भने ।

स्थानीयलाई फुटपाथ विस्तार गर्दा बाटो सानो हुने र पछि नो भेइकल जोन बनाइदिने हो कि भन्ने चिन्ताले सताएको उनी बताउँछन् ।

‘त्यो कुरा यहाँको स्थानीयले मान्दै मानेनन् । पछि धेरै समस्या हुन्छ । यो ठाउँ त व्यापारिक हब हो । हबमा यस्तो भयो भने व्यापारी र स्थानीय विस्थापित हुन्छन् । बिजनेस हबमा भनेको मुख्य कुरा भनेको पार्किङ हो । पार्किङ हटाइदियो । कतिलाई असर प¥यो । त्यसमाथि नो भेइकल भन्यो भने त सबै गइगयो नि’, मानन्धरले भने ।

फुटपाथ विस्तार गरेको न्यूरोडमा ट्राफिकको समस्या देखापरिरहेको उनीहरुको भनाइ छ । सकेसम्म प्रतिकारमा उत्रने उनीहरु बताउँछन् । आइलागे जाइलाग्ने मानन्धर बताउँछन् ।

यो समस्याको जड नै बजार र यो ठाउँलाई अध्ययन नगरी ल्याएको योजना भविष्यमा राम्रो हुन्न भन्ने स्थानीयको भनाइ हो । स्थानीय महानगरसँग सल्लाह र बहस गर्न चाहन्छन्, तर महानगर बहस गर्न इच्छुक छैन ।

शान्तिपूर्ण ढंगले महानगरबाट कुनै प्रतिक्रिया नआएको स्थानीय श्यामलाल बताउँछन् । ‘यो कामले बजार र ऐतिहासिकतालाई राम्रो गरिराखेको छैन भन्ने हाम्रो कुरा हो । गलत ढंगबाट काम गर्ने प्रयास भइराखेको छ । हाम्रो चित्त बुझाउनुपर्नेमा उल्टै दुःख दिइरहेको छ’, उनले भने ।

उनका अनुसार सहमति र सहकार्य हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।

हामी छलफल गर्दैछौं : महानगर

काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले महानगरले छलफल प्रयास गरिरहेको बताए ।

उनले भने, ‘अहिले आन्तरिक रुपमा छलफल भइरहेको छ । २४ नम्बरमा काम सम्पन्न गर्नेतिर लाग्छौं । त्यसपछि विवादित क्षेत्रको काम कसरी अगाडि बढाउने भनेर छलफल गर्छौं ।’

Comments

One response to “न्यूरोड विवादको अन्तर्यः किन फुटपाथ विस्तारको विरोधमा छन् स्थानीयवासी ?”

  1. गोविन्द थापा Avatar
    गोविन्द थापा

    व्यापार गर्ने मूल सडकमा मोटरको अवत जावत धेरै हुन्छ, किन फुटपाथ बढाउन परयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *