गायक अरुण थापाको २५औं स्मृति दिवसमा वरिष्ठ गायक विष्ट सम्मानित

भक्तपुर । गायक अरुण थापाको २५औं स्मृति दिवसको अवसरमा वरिष्ठ गायक ओमविक्रम विष्ट सम्मानित भएका छन् । भक्तपुर सांगीतिक समाजले गायक अरुण थापाको २५ औं स्मृति दिवस सांगीतिक कार्यक्रमसहित विष्टलाई सम्मान गरेको हो ।

गायक विष्टले नेपाली पप संगीतमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै अरुण थापा स्मृति सम्मान २०८१ प्रदान गरिएको समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए ।

मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले वरिष्ठ गायक विष्टलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको कार्यक्रममा गायकगायिकाहरुले स्व. थापाको स्वरमा स्वरांकन गरिएको ‘करोडौं मुटुहरु’ बोलको गीतलाई समूह गायन प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा कुमारी लिम्बूले ‘तिमी राम राम’, श्रीजल मधिकर्मीले ‘म रोए पनि तिमी हाँसिदिनु’, विजय कायस्थले ‘चोट के हो, व्यथा के हो’, शम्भु राजभण्डारीले ‘आँखाको निद’, हरिसुन्दर लाखे श्रेष्ठले ‘लाग्न थाल्यो जीवनमा’, श्रीहरि दाहालले ‘दोष कसलाइई’, श्रेय अगस्तीले ‘अरुसँग नखोज’ र लक्ष्मण पलिखेलले ‘ऋतुहरुमा तिमी’ बोलको गीत प्रस्तुत गरेका थिए ।

मथुरा प्रधानले ‘मेरो गीत सबै’, आश्रय रञ्जितले ‘साँझको जुन सँगै’, रुचि घिमिरेले ‘दुई दिनको’, रविन थापाले ‘जति माया लाए पनि’, अर्पण विश्वकर्माले ‘यो मनको के भर हुन्छ’, प्रनिल पलिखेलले ‘भुलेका कथा तीतामीठा’ र मुकुन्द भट्टराईले ‘बरु भुलेछु’ बोलको गीत प्रस्तुत गर्दै स्वर्गीय गायक थापाप्रति श्रद्वाञ्जली दिएका थिए ।

त्यस्तै कार्यक्रममा पप गायक ओमविक्रम विष्ष्टको सम्मानमा कुबेर राईले ‘मौनतामा अल्झिरहेको’, सकुल अच्छामीले ‘को हो त्यो जसले मलाई’, राजेश शाहीले ‘मेरो याद अझै आउँछ भने’, विनोदराज ढुङ्गेलले ‘तारा मारङ बजारकी कान्छी’ र प्रवीण शाहीले ‘आवाज देउ मलाई’ बोलको गीत प्रस्तुत गरेका थिए ।

समाजले कार्यक्रममा बाल गायक अर्पण विश्वकर्मालाई ‘सम्झना खरेल प्रतिभा पुरस्कार’ प्रदान गरेको थियो । गायक विश्वकर्माले ‘नेशनल गट ट्यालेन्ट हण्ट’ मा उत्कृष्ट प्रस्तुति दिएकाले प्रोत्साहनस्वरुप नगद ५ हजारसहित उक्त पुरस्कार वरिष्ठ रचनाकार भूषण खरेलले प्रदान गरेका थिए ।

त्यस्तै समाजका संस्थापक अध्यक्ष प्रवीण शाहीलाई कदरपत्र प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *