यसरी हुँदैछ कांग्रेस र एमालेबीच २० मन्त्रालय बाँडफाँटको ‘मोडालिटी’

काठमाडौं । आइतवार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय बाँडफाँटको मोडालिटी टुंग्याएका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि लगभग टुंगिसकेको बताइएको छ ।

प्रधानमन्त्री नियुक्तिपछि केपी शर्मा ओलीले भोलि साँझ सपथग्रहण गरेसँगै मन्त्रीहरुको पनि सपथग्रहण गर्ने गृहकार्य छ । केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति भएको छ । शेरबहादुर देउवा र ओली बसेर मन्त्रालय बाँडफाँट तथा आ- आफ्ना पार्टीका मन्त्रीको नाम समेत तय गरिसकेका छन् ।

मन्त्रालयका सामर्थ्य र प्रभावका आधारमा दुई दुई वटाको बास्केट बनाएर त्यसबाट एक एक छान्ने मोडालिटी बनाइएको छ । उदाहरणका लागि गृह मन्त्रालय कांग्रेसले पाए अर्थ मन्त्रालय एमालेको भागमा पर्नेछ । २० वटा मन्त्रालयलाई प्रभाव,सामर्थ्थ र स्रोत साधनका आधारमा दुई दुई वटामा विभाजित गरेर एक एक बाँड्ने तयारी छ ।

कांग्रेस स्रोतका अनुसार गृह र अर्थ,परराष्ट्र र सन्चार,उर्जा र भौतिक पुर्वाधार,सहरी विकास र पर्यटनलाई एक श्रेणीमा राखिएको छ । त्यसो  गर्दा परराष्ट्र पाउनेले सन्चार छाड्नेछ भने ऊर्जा पाउनले भौतिक पूर्वाधार छाड्नेछ । सहरी विकास एउटाले पाउँदा अर्कोले ऊर्जा पाउनेछ ।

त्यस्तै स्वाथ्य र शिक्षा,उद्योग र कृषि,सामान्य प्रशासन र कानून, वन र भूमिसुधार,महिला बालिका र युवा खेलकुद, श्रम र रक्षामध्ये एक एक मन्त्रालय बाँड्ने मोडालिटीमा छलफल भइरहेको छ । यद्यपी केही मन्त्रालयको वर्गिकरण एक अर्कोमा फेरिने वार्तामा सहभागी नेताहरुले बताएका छन् ।

मन्त्रालय बाँडफाँट टुंगिएपछि सम्बन्धित पार्टीहरुले आ- आफ्ना मन्त्री टुंगो लगाउने र सकेसम्म प्रधानमन्त्रीसँगै मन्त्रिपरिषदलाई समेत पुर्णता दिएर सरकारलाई एकैपटक ‘फूल गियर’मा कुदाउने रणनीति रहेको ती नेताले बताए ।

Comments

2 responses to “यसरी हुँदैछ कांग्रेस र एमालेबीच २० मन्त्रालय बाँडफाँटको ‘मोडालिटी’”

  1. राज Avatar

    बिगतका ३ दशक,हालको नेपाल,चल्ति १८ महिनामा दर्जनौं पटक सरकार गठन फेरबदल र मन्त्री-मण्डल बिस्तार ले नपुगेर अरु के प्रतिकृया मागि रहेका छौ,गाली हो ⁉️

  2. rajan saugat Avatar
    rajan saugat

    मन्त्रालय बाडफाड गर्ने निउमा काम गर्न नसक्ने भित्तामा फोटो मात्र टास्ने ब्याक्तिलाइ मन्त्रालय जिम्मा नदिनुस, देशमा धेरै काम गर्न बाकि छ, जनताका कामहरु चुस्त तरिकाले गर्नुस, सत्तामा गएका पार्टिहरु एकले अर्कोलाइ दोशारोपण गरेर समय नबिताउनु होस, काम गरेर देखाउन सक्दा धेरै राम्रो मौका जुरेको छ, हल्ला, झगडा गरेर हैन काम गरेर देखाउनु होस , २०८४ आउदैछ तपाइहरुले त्यो पनि याद गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *