डा. शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

काठमाडौं। गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक भएको छ। गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा पूर्व कानुन तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

सुवेदीको ‘घाम जस्तो चम्किलो हुँदैन’ बोलको गीत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका रुपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे। उनले भने, ‘घाम जस्तो चम्किलो हुँदैन भन्ने गीत जन-जनको मुखमा झुन्डिएको थियो। गीत-संगीतमा उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’

प्रतिष्ठानकी अध्यक्ष थापामगरले डा सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्न क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद् रहेको बताइन्। उनले भनिन्,’कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो। संस्थागत रुपमा हामी लागिरहेका छौं । सर्जकका रुपमा डा शिवहरुको भूमिका छ।’

गीतलाई लिएर गीतकार आनन्द अधिकारीले भने,’शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ। यो गीतमा मैले गहिरो साहित्य, विम्ब र स्पष्ट दर्शन भेटेको छु।’ त्यसैगरी अर्का समिक्षक राजकुमार बगरले पनि डा. सुवेदीका गीतमा सधैं फरकपन भेटिने उल्लेख गरे। त्यस्तै, समिक्षक बैकुण्ठ महतले गीतकार डा. सुवेदी गण्डक क्षेत्रको मौलिक भाषा र शैलीलाई गीतसंगीतमा कायम राख्न सफल भएको बताए।

कार्यक्रममा गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो। सार्वजनिक गरिएको गीतमा कुलेन्द्र बिक र शान्तिश्री परियारको स्वर रहेको छ। मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *