पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति भएकोमा कम्युनिष्टहरु सबै सहमत रहेको बताए ।

मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै महासचिव विप्लवले अहिले सन्तानका रुपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको बताए ।

उनले सामन्तवादको विरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरुविरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गरेका बताए ।

‘मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो । त्यो कम्युनिष्ट पार्टीका सन्तानका रुपमा आज नेपालमा लाखौंलाख श्रमिक जनता खडा छन्, यो पुष्पलालको विशेष योगदान हो । पुष्पलालले दुइटा प्रवृत्तिको विरुद्धमा निरन्तर संघर्ष गर्नुभएको छ । त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ । खासगरी सामन्तवादको विरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरुविरुद्धको संघर्ष । यो दुइटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ’, उनले भने, ‘वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झण्डा उठाउनुभएको छ र लड्नुभएको छ । पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौं । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ ।’

महासचिव चन्दले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी रहेको बताए ।

Comments

One response to “पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग”

  1. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    सन् 1924 मा जन्मेका पुष्पलालले सन् 1883 मा निधन भएका कार्लमार्क्सलाई कहाँ कहिले भेटेछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *