खेलकुदमन्त्रीलाई धनराजको कटाक्ष- कडा बोल्दा खल्तीबाट राजीनामा पत्र निस्कने पो हो कि ! (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले खेलकुद मन्त्रालयको बजेटमा कडा टिप्पणी गर्दा मन्त्रीको राजीनामा आउने पो हो कि ! भन्दै कटाक्ष गरेका छन् । मन्त्री विराजभक्त श्रेष्ठले शनिबार एक कार्यक्रममा आफूले हस्ताक्षर गर्न बाँकी राखेर राजीनामा पत्र खल्तीमा बोहेर हिँडेको अभिव्यक्ति दिएका थिए ।

गुरुङले प्रतिनिधिसभा बैठकमा भने, ‘युवा तथा खेलकुद मन्त्रालयको बजेटको विषयमा साह्रै धेरै टिप्पणी पनि गर्न चाहन्नँ । हाम्रो युवा तथा खेलकुद मन्त्रीले खल्तीमा फेरि राजीनामा पत्र नै बोकेर हिँड्नुभएको छ । त्यसैले धेरै कडा पनि बोल्नु भएन यहाँबाट, यहाँ कडा बोल्दा उहाँको खल्तीबाट फुत्रुक्क राजीनामा पत्र निस्क्यो भने अलिक गाह्रो होला !’

उनले राजीनामा पत्रलाई ८४ को चुनावसम्म बाँधेर बलियोसँग राख्न सुझाए ।

उनले थपे, ‘तैपनि उहाँको खल्तीबाट राजीनामा पत्र निस्किहाल्यो भनेपनि कतिलाई लाग्नसक्छ प्रधानमन्त्रीलाई अफ्ठ्यारो पर्नसक्छ कि, पर्दैन ? कतिलाई लाग्नसक्छ उहाँकै मन्त्री पद जाने हो कि ! जाँदैन त्यो पनि । तर, उहाँको खल्तीबाट राजीनामा पत्र निस्किहाल्यो भने कतै पानीले भिज्छ कि भन्ने मलाई चिन्ता हो । त्यसैले सुरक्षित नै राख्नुस् । बरु प्लाष्टिकको टेपले बाँधेर ०८४ को चुनावसम्म बाँधेर राख्नुस् भन्ने मेरो आग्रह छ । त्यसैले कडा टिप्पणी गर्दिनँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *