‘लण्डन टु पेरिस’मा डेब्यू गरेका खड्का भन्छन्- कतै याे सिनेमा पनि नबन्ला कि भन्ने डर थियाे

काठमाडौं । अभिनेता निश्चल खड्का जेठ २५ गतेबाट रिलिज हुने सिनेमा ‘लण्डन टु पेरिस’बाट अभिनयमा डेब्यू गर्दैछन् । सिनेमाका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो सिनेमामा जोडिएका हुन् । तर यो सिनेमामा जोडिनु अघिको निश्चलको कथा आफ्नै छ ।

निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै सिनेमाका लागि अडिसन दिएका थिए ।

‘मैले दुई वटा सिनेमामा अडिसन पछि साइन नै गरेको थिएँ । तर के कारणले हो ती सिनेमा बनेनन् । एकदिन क्याफेमा कफि पिउँदै जीवनलाई कसरी अगाडि बढाउने भनेर सोचिरहँदा कवीरले सिनेमाको लागि अडिसन भइरहेकोले अडिसन दिन फोन गर्यो’, निश्चलले भने, ‘दुई वटा सिनेमामा साइन गरेर पनि नबनिरहँदा कतै यो सिनेमा पनि नबन्ने पो हो कि भन्ने डर थियो । तर डर केवल डरमै सीमित भयो । किनकी सिनेमाको काम सुरु भएपछि त्यो डर हरायो ।’

सिनेमामा निश्चलले ‘अपिल’ चरित्र निर्वाह गरेका छन् ।

‘यो सिनेमाको स्क्रिप्ट पढ्दा म धेरै खुशी भएँ । देशबाहिरको कथावस्तु थियो । लण्डनदेखि पेरिसम्म पुगेको प्रेमकथा थियो । अपिल भन्ने २८ वर्षे केटाको प्रेमकथाको यात्रा हो । अपिलको इमोसनमा कति उतारचढाव आउँछ भन्ने सिनेमामा देखाएको छु’, उनी भन्छन्, ‘अपिल आफ्नो माया पाउनका लागि कुन हदसम्म जान्छ भन्ने देखाएको छु । उसले प्रेम पाउनकै लागि लण्डनदेखि पेरिसम्मको यात्रा गर्छ । आफ्नो सपना पुरा गर्न कतिसम्म लाग्नुपर्छ भन्ने मेरो पात्रले देखाएको छ ।’

निश्चलका अनुसार सिनेमाको चरित्र र उनको वास्तविक चरित्र धेरै भिन्न छ । सिनेमामा गौरव(कविर खड्का)ले उनलाई सल्लाह दिन्छन् र त्यही सल्लाहअनुसार उनी काम गर्छन् ।

‘सिनेमामा म अरुको सल्लाह लिए पनि वास्तविकतामा म आफैं निर्णय लिन्छु । स्क्रिप्ट पढ्दा पनि यस्तो खालको केटा रहेछ भन्ने भएको थियो । म कलाकार हो । कलाकार बहुरुपी नै हुन्छ । तर त्यो चरित्रमा अभिनय गर्दा भने मजा नै आयो’, उनी भन्छन् ।

सिनेमामा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । ‘साम्राज्ञी व्यक्तिगत र व्यावसायिक रुपमा एकदमै सहयोगी लाग्यो । मभन्दा उहाँ धेरै सिनियर भएकाले मैले धेरै कुरा उहाँबाट सिकें । हाम्रो उमेर एउटै भए पनि व्यावसायिकता हेर्दा उहाँ सिनियर । अभिनयका कति कुरा उहाँबाट सल्लाह लिएँ’, निश्चल भन्छन् ।

घनश्याम लामिछाने निर्देशित सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *