युरिया मलको विकल्पमा प्रयोग गर्न सकिन्छ ढैंचा, डोटीमा बीउकाे उत्पादन परीक्षण

डोटी । डोटी जिल्लामा रासायनिक मल (युरिया)को विकल्पमा हरियो मल प्रयोग गर्न ढैंचाको बीउ उत्पादनको परीक्षण गरिएको छ ।

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले कृषि अनुसन्धान निर्देशनालय भागेतडा डोटीसँगको समन्वयमा ढैंचाको बीउ उत्पादन परीक्षण गरिएको बताए ।

उनका अनुसार युरियाको अभाव हुँदा पनि धानबालीमा नाइट्रोजनको स्रोत बढाउन ढैंचाको प्रयोग गर्न सकिन्छ ।

‘कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलो पटक हरियो मल (ढैंचा)को प्रयोगको प्रविधि प्रदर्शन गरेको छ’, अवस्थीले भने, ‘ढैंचाको बीउ उत्पादनको प्रयास पनि भइरहेको छ ।’

हालसम्म ढैंचाको अवस्था राम्रो रहेको अवस्थीले जानकारी दिए । हरियो मलको रुपमा प्रयोग गरिने विभिन्न विरुवाहरुको तुलनामा ढैंचामा हरियो पदार्थको परिमाण धेरै हुने र यसमा धान बालीको लागि असल पोषक तत्व हुने उनको भनाइ छ ।

‘यसमा माटोको अवस्थामा सुधार ल्याउने गुण हुन्छन्’, अवस्थीले थपे, ‘ढैंचाको विरुवा खेतमा पल्टाउने बेलामा एक पटक सिंचाइ र्गन सकिएको खण्डमा धानको उत्पादन बढ्छ ।’

ढैंचा एककोशे बाली भएकाले यसले जरामा नाइट्रोजनयुक्त तत्व सञ्चय गर्ने उनले बताए । उनका अनुसार जरामा सञ्चय गरेको नाइट्रोजनयुक्त तत्व अर्को बालीका लागि ज्यादै लाभदायक हुन्छ ।

नेपालमा गरिएको अनुसन्धानअनुसार हरियो मलको रुपमा ढैंचालाई धानखेतीमा प्रयोग गर्दा २० देखि २५ प्रतिशतसम्म धानको उत्पादन बढेको पाइएको अवस्थीले बताए ।

‘ढैंचालाई मलको रुपमा प्रयोग गर्दा फूल फुल्नुभन्दा पहिल्यै माटोमा पल्टाइसक्नु पर्छ’, उनले भने, ‘धानबालीमा प्रयोग गर्दा रोपाइँ गर्नुभन्दा एक हप्ता अगावै ढैंचाको कलिलो विरुवालाई माटोमा पल्टाउनु पर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *