कैलाश सिरोहिया पक्राउ प्रकरण : गृहमन्त्रीको कदम साहसिक कि पूर्वाग्रही ?

काठमाडौं । देशको सबैभन्दा ठूलो सञ्चारगृह मानिने कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया फौजदारी आरोपमा आज आफ्नो कार्यकक्षबाटै पक्राउ परे । दोहोरो नागरिकताको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेपश्चात जनमानसमा विभाजित प्रतिक्रियाहरु उत्पन्न भइरहेका छन् ।

सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा जनमानसको ठूलो हिस्सामा खुशी छाएको देखिन्छ । तर, सञ्चार जगतका अगूवाहरु र पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले यसको निन्दा गरेका छन् । सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेर पनि भत्र्सना गरिएको छ ।

अर्कोतर्फ प्रतिपक्ष दल नेपाली कांग्रेस सिरोहियाको बचाउमा उभिएको छ । कांग्रेसका केही प्रभावशाली सांसदहरु आज कान्तिपुर कार्यालयमै पुगेर सिरोहियालाई सान्त्वना दिएका थिए । सिरोहियामाथि प्रक्राउ पूर्जी जारी हुनासाथ संसदमा कांग्रेस सांसदले उनको पक्षमा आवाज उठाएका थिए । कांग्रेसको यस्तो कार्यले यो प्रकरणको राजनीतिकरण हुनसक्ने देखिन्छ ।

अर्कोतर्फ आफूविरुद्ध कान्तिपुरले धारावाहिक समाचार लेखिरहेको हुँदा सिरोहियामाथि गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध साँधेको आशंका र टिप्पणीहरु पनि भइराखेका छन् । यद्यपि, लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श नगरिकन यो कदम चाले होलान् भन्न सकिन्न ।

सिरोहिया स्वयम्ले आफ्नो पक्राउलाई कान्तिपुरविरुद्ध गठबन्धन र प्रधानमन्त्रीले गरेको प्रहारका रुपमा व्याख्या गरेका छन् । उनको सबैभन्दा बढी आक्रोश गृहमन्त्रीमाथि नै छ ।

उनले पक्राउ पर्नुअघि आक्रोशित भावमा भिडिओ सन्देश जारी गरेका थिए । भिडिओमा उनले यस्तो भनेका छन्ः

एउटा कुनै मान्छेको नागरिकता सम्बन्धी उजुरी, जुन दर्ता हुनु अगाडि नै मिडियामा आएको थियो, त्यसको विषयमा मसित कुनै सोधखोज गरिएको छैन । ममाथि कुनै उजुरी छ र मेरोविरुद्ध कुनै अनुसन्धान हुन्छ भने म त्यसको लागि तयार छु भनेको थिएँ । तर आजसम्म केही नगरी पक्राउ पूर्जी जारी गरिएको छ ।

मैले नागरकिता ऐन २०२० अनुसार २०३६ सालमा वंशजको आधारमा नागरिकता पाएको हो । मेरो नागरिकताको नेपाली कागज गलेकाले २०५७ सालमा प्रतिलिपि निकालेँ । मैले कहिले पनि दुईवटा नागरिकता लिएको छैन । र मेरो दुईवटा नम्बर पनि छैन । भनिँदै आएको छ कि, दुईवटा नागरिकता एउटै नम्बरको पर्यो । त्यो सेवाग्राहीको काम होइन नम्बर भिडाएर हेर्ने । प्रशासन कार्यालयले जे दिन्छ लिएर हिँड्ने हो । मैले भर्खर थाहा पाएँ, संसदका महासचिवको तीनवटा नागरिकता थियो । सच्याउन पाइन्छ । त्यस्तो केही थियो भने मलाई सोधखोज गरिनुपर्थ्यो । ममाथि पक्राउ पूर्जी जारी गर्नुको मतलब पूर्वाग्रहका रुपमा यो काम गरिएको छ ।

यो सबै सम्पूर्ण कुराको पछाडिको कारण कान्तिपुर हो । कहाँ हुनुहुन्थ्यो तपाईंहरु ६२/६३ को जनआन्दोलनमा ? कहाँ हुनुहुन्थ्यो लोकतन्त्र खतरामा परेको बेलामा ? कान्तिपुरले सँधै लोकतन्त्रका लागि लडेको होइन ? पहिला थुन अनि सोध, कुन कानून हो यो ? यो सबै प्रतिशोध हो । माननीय गृहमन्त्रीको सहकारी हेराफेरीको विषयमा प्रकाशित समाचारको प्रतिशोध हो । गृहमन्त्रीले राजनीतिक ब्ल्याकमेलिङ गर्न खोज्नुभएको छ ।

म एकजना गहृमन्त्रीको मात्रै प्रतिशोध मान्दिनँ । यो पूर्णरुपमा गठबन्धन र प्रधानमन्त्रीले कान्तिपुरमाथि गरेको प्रहार हो । यसलाई फेस गर्न तयार छु ।

के हो विवाद ?

सिरोहियाविरुद्ध गत वैशाख १६ गते नागरिकतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । सिरोहिया र धनुषाकै शिवजी साहु तेलीको नागरिकता नम्बर एउटै भएको, सिरोहियाले दुईवटा नागरिकता लिएको र विभिन्न ठाउँमा फरक-फरक नागरिकता नम्बर उल्लेख गरेको भन्दै जाहेरी परेको हो ।

जाहेरी दर्ता भएको भोलिपल्ट सिरोहियाले विज्ञप्ति जारी गर्दै खण्डन गरेका थिए । विज्ञप्तिमा उनले २०३४ सालमा नागरिकता लिएको र नेपाली कागज पुरानो भएकाले २०५७ मा प्रतिलिपी निकालेको उल्लेख गरेका छन् । २०१९ सालमा जन्मिएका सिरोहियाले उमेर नपुग्दै २०३४ सालमै कसरी नागरिकता लिए भन्ने प्रश्न उठ्यो । त्यसबेला नागरिकता लिने उमेर हद १८ वर्ष थियो ।

२०३४ सालमा आफुले नागरिकता लिएको र त्यसको दुई वर्षपछि नागरिकता लिएका व्यक्तिको नम्बर मिल्नुमा आफ्नो कुनै दोष नरहेको सिरोहियाको दाबी थियो । यस्तै विभिन्न कम्पनीहरुमा फरक–फरक नागरिकता नम्बर उल्लेख भएकोमा उनले प्राविधिक गडबडी बताएका थिए ।

तर सिरोहिया आफैंले केही दिनपछि सामाजिक सञ्जालमा आफ्नो नागरिकताको प्रतिलिपि राखे । त्यसमा उनको नागरिकता जारी मिति २०३६ साल भदौ २५ गते देखिन्छ ।

यसअघि ३४ सालमा नागरिकता लिएको बताएका उनले ०३६ सालमा लिएको नागरिकताको फोटो राखेपछि शंसय बढेको थियो । शिवजी साहु तेलीको नागरिकता जारी मिति २०३६ भदौ २० गते रहेको छ । यसअनुसार तेलीले नागरिकता पाएको ५ दिन पछि सिरोहियाले त्यही नम्बरबाट नागरिकता लिएको पाइयो ।

सिरोहियाले पाएको वंशजको नागरिकताका विषयमा पनि प्रश्न उठेको छ । उनको पिता घाँसीराम सिरोहिया अंगीकृत नागरिक थिए । तत्कालीन कानूनअनुसार सिरोहियाले वंशजको नागरिकता लिन उनको क्राइटएरिया नपुग्ने प्रहरीको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुमति माग्दा ६ वटा आधार प्रस्तुत गरेकाे छ । हेुर्नुस् जिप्रका धनुषाकाे पत्र: 

 

फौजदारी विषयमा ‘प्रेस स्वतन्त्रता’ को दुहाई

नागरिकताको विवाद सिरोहियाको व्यक्तिगत विषय हो । तर, उनले यसलाई कान्तिपुर दैनिक मात्र नभएर समग्र सञ्चार जगतसँग जोड्न खोजेका छन् । सञ्चार क्षेत्रका केही हस्तीले प्रेस स्वतन्त्रताको दुहाई पनि दिइरहेका छन् ।

नागरिकता सम्बन्धमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्नु उसको दायित्व नै थियो । जिल्ला अदालतबाट अनुमति लिएर प्रक्रियाअनुसार नै पक्राउ गरिएको छ । यसलाई प्रेस स्वतन्त्रताको हननको रुपमा व्याख्या गर्नु उचित होइन । पत्रकार महासंघको उच्च नेतृत्व आज कान्तिपुरको कार्यालयमा उपस्थित भएर सिरोहियाप्रति ऐक्यवद्धता जनाउनु प्रश्नयोग्य छ ।

गृहमन्त्री लामिछानेले सिरोहियामाथि व्यक्तिगत प्रतिशोधको भावना राखेका हुन् भने त्यो पनि ठीक होइन । सिरोहियामाथि पक्राउ गर्ने ‘टाइमिङ’ ले यस्तो शंका गर्ने आधार दिएको छ ।

कान्तिपुरको एकोहोरो खेदाइका बीच सिरोहिया पक्राउ पर्नुले बाघ कराउनु र बाख्रा हराउनुझैं भएको छ । यद्यपि, यदि सिरोहिया निर्दोष छन् भने लामिछानेले चाहेर मात्रै केही हुनेवाला छैन । छिनोफानो अदालतबाटै हुने हो ।

 

Comments

5 responses to “कैलाश सिरोहिया पक्राउ प्रकरण : गृहमन्त्रीको कदम साहसिक कि पूर्वाग्रही ?”

  1. ksp pyl Avatar
    ksp pyl

    साहसिक पनि होईन र पूर्वाग्रही पनि होईन । यो त स्वभाविक हो । दुईवटा नागरिकता राख्नेको छानबिन गर्दा यत्रो कोलाहल किन ? के मिडियाको मान्छे भन्दैमा अपराध गरे पनि छुट पाउनुपर्ने हो ? मिडियाकाले बलत्कार गरे पनि, चोरे पनि, मान्छे मारे पनि छुट पाउनुपर्ने ? यस्ता दलाली कुरा अब चल्दैन देशमा । सलाम छ रवि सर । कानूनको नजरमा कोही सानो ठूलो छैन भन्ने नमूना प्रदर्शन।

  2. bikash giri Avatar

    नागरिकता सम्बन्धमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्नु उसको स्वभाविक दायित्व नै हो । जिल्ला अदालतबाट अनुमति लिएर कानूनको प्रक्रियाअनुसार नै पक्राउ गरिएको छ । यसलाई प्रेस स्वतन्त्रताको हननको रुपमा व्याख्या गर्नु उचित होइन । पत्रकार महासंघको उच्च नेतृत्व आज कान्तिपुरको कार्यालयमा उपस्थित भएर सिरोहियाप्रति ऐक्यवद्धता जनाउनु प्रश्नयोग्य छ ।

  3. Samir Avatar
    Samir

    नागरिकता किर्तेमा पक्राउ परेको कैलाशले प्रेस स्वतन्त्रताको दुहाई दिनु र कालो काङ्ग्रेसले उनको बचाउ गर्नु! हेर लज्जा!

  4. Raju khatri Avatar
    Raju khatri

    निष्पक्ष समाचार बल्ल पढ्न पाईयो धन्यवाद

  5. Manoj Avatar
    Manoj

    Purai kp oli ko gandha aaune headline…
    Phaujadari ho vanne proof chha timi sita? Investigation n hudai phaujadari?
    Timro office ma kunai din police or army ko boot bajarida thaha paune chhau

    Dalle haru

Leave a Reply

Your email address will not be published. Required fields are marked *